( तामाङ्ग इसाई साथीहरूले ल्होछार मान्न मिल्छ कि मिल्दैन भनेर सोधेको प्रश्नको; लेख:)
तामाङ्ग इसाईहरूले ल्होछारलाई ( नयाँ वर्ष ) चटक्क छोड्नु गलत जस्तो लाग्यो । बुद्ध धर्म र कम्युनिष्ट आस्थाबाट इसाई आस्थामा आएका झन्डै १५ करोड चाइनिजहरूले संसारभरबाट चाइनिज नयाँ वर्षलाई एउटा उत्सबको रुपमा मनाउने गर्दछन् । चाइनिज र तामाङ्गहरूको नयाँ वर्ष एकैसमय पर्न आएपनि तामाङ्ग इसाईहरू भने हामीले नयाँ वर्ष अर्थात् ” ल्होछार’ मनाउनु हुदैन, यो बुद्धिष्टहरूको मात्र हो भन्ने बुझाई पालेर बसेको देखिन्छ ।
बुद्धिष्टहरूले बुद्धलाई पुजा गरेर ल्होछार मनाउछ भनेर इसाईहरूले ल्होछारलाई हेर्ने दृष्टिकोणमा अचम्मित हुनुपर्ने कुरा छैन । किनकी नेपाली नयाँ वर्षमा पनि हिन्दुहरूले र अन्य धर्ममा आस्था राख्नेहरूले आआफ्नै आस्थागत रहेर नयाँ वर्षलाई स्वगत गर्ने गर्दछ । यहाँसम्म कि इसाईहरूले पनि परमेश्वरलाई धन्यवाद दिएर, रात्री सेवा राखेर, आशिषहरू बाँडेर नयाँ वर्षलाई स्वागत गर्दछ । अंग्रेजी नयाँ वर्षमा पनि संसारभरी रहेका मानिसहरूले यस्तै गरेको पाइन्छ ।
संसारको जुनसुकै देशमा जानुहोस् जुनसुकै आस्थामा विश्वास गर्नेहरूले पनि आफ्नो पहिचान दिने पहिरन र नयाँ वर्षलाई आफ्नो आस्थागत विधिमा ढालेका छन् । यसो गर्दा तपाईले पाप गर्नुहुने छैन ।
इसाई भए लगत्तै धेरै मानिसहरूले आफ्नो पहिचान,पहिरन र सकारात्मक संस्कारलाई समेत त्याग्ने गरेको देखिन्छ । यो असल छनोट होइन । परमेश्वरले नै हामीलाई अनेक पहिचानमा राख्नुभएको छ । हो; हुनलाई हाम्रो पहिचान पुरुष र महिला हो, तर यो अस्थाई बसाईमा हामीलाई परमेश्वरले अनेक बगैचा भएर एकैखालको सुवासना छर्न बोलाउनुभएको छ ।
यदि यसको विपरित उभिने हो भने, हामी इसाई भइसक्यौं किन नामको पछाडी अनेक थरहरू राखेर हिड्ने ? मेरो आस्था इसाई हो, तर मेरो भाषा, भेषभूषाले नै मेरो भौतिक पहिचान दिन्छ । किन भौतिक पहिचान चाहियो भन्नुहोला; तर पृथ्वीका मानिसहरूको भाषालाई एकअर्काले नबुझ्नेगरी खलबलाउने परमेश्वर नै हुनुहुन्छ । किनकि उहाँले यहिँ चाहानुभायो ।
यदि कुनै तामाङ्ग इसाईले ल्होछार अर्थात् तामाङ्ग नयाँ वर्षलाई उत्सवको रुपमा मनाउन चाहान्छन् भने; उसलाई मनाउने छुट छ ।
कतिजनाले ल्होछार नयाँ वर्ष मान्छेले बनाएको हो, यसले परमेश्वरलाई महिमा दिदैन भन्छन् भने के नेपाली र अंग्रेज़ी नयाँ वर्ष चाहिँ बाइबलबाट आएको हो र ? यो पनि मान्छेले नै तय गरेको होइन र ? नत्रता संसारको उत्पत्ती भएको मिति हामीले मानेको नयाँ वर्ष भन्दा धेरै अघि हो ।
सकारात्मकरुपमा परमेश्वरको महिमा हुनेगरी जो कसैले पनि आफ्नो पहिचानलाई प्रस्तुत गर्न सक्छ । आफ्नो राष्ट्रियतालाई झल्काउने उत्सव, अन्य: विशेष दिनहरू, जुन मानिसले बनाएका हुन् , तर यी कुराहरू बाइबलमा नभएता पनि परमेश्वरको वचनमा नबाझ्नेगरि नेपाली पहिचानको निम्ति र मानवजातिलाई सुशासन र सकारात्मकतर्फको दृष्टि देखाउनको निम्ति अर्थात् समाजको हित, एकता र एकरूपताको लागि मनाउने गरिएको छ । थुप्रै अन्य संस्कार परमपराहरू पनि छन् जसलाई हामी मान्दैनौं । किनकि हामी अन्धकारको बिरुद्धमा छौं । हाम्रो परमेश्वर अन्धकारको बिरुद्धमा हुनुहुन्छ ।
म तामाङ्ग इसाई भएकोले गर्दा ल्होछार मेरो नयाँ वर्ष हो; भन्ने मैले बुझेको छु ।
कसैले ल्होछारमा झाक्री नचाउँछ भने त्यो उसको इच्छामा निर्भर पर्छ । तर म इसाई आस्थामा विश्वास गर्ने भएकोले गर्दा म मेरो आस्थालाई असर नपर्ने आदरणीय तरिकाबाट ल्होछार उत्सव मनाउछु भनेर कसैले भन्छ भने उसलाई यो गर्ने छुट छ ।
तामाङ्ग इसाईहरू उल्लेखनीय रुपमा बढिरहेको छ । यहिँ क्रममा तामाङ्ग पहिचानको अस्तिप्त्व मेटिदै जान्छ भने यो खालको विश्वासले हामीलाई साँच्चिकै विदेशी संस्कारको दाश बनाउनेछ । यो नभुल्नुहोस् हामी इसाई आस्थामा विश्वास गर्छौं तर हाम्रो भौतिक क्षणको पहिचान तामाङ्ग भाषा, पहिरन र यसमै आधारित सकारत्मक संस्कृतिमा हुनेछ । आफ्नो आस्थागत भएर स्वीकार्न सकिने पहिचानलाई हामीले बचाउनु पर्छ ।
हामीले सत्यतालाई अंगाल्दै आउँदा थुप्रै हाम्रा पहिचान झल्काउने सकारात्मक कुराहरूलाई पनि वेवास्ता गरेका छौं । यसकै कारण पनि हामीलाई संस्कार बेचेको धब्बा लागेको छ । हामीले इसाई आस्थामा जिउदै आफ्नो पहिचान झल्काउने संस्कारलाई परमेश्वरको आदार हुने तरिकाले सँगै लानुपर्छ ।
येशुख्रीष्ट पनि संसारमा यहुदी भएर आउनुभयो । उहाँ संसारमा रहुन्जेल उहाँले कतिपय यहुदी परमपरालाई स्वगत गरेको बाइबलमा देख्न सकिन्छ । चेलाहरूले पनि आफ्नो जातिको निम्ति, कतिपय उचित परमपरालाई स्विकार गरेर परमेश्वरको राज्याको पाल तन्काउने गरेको कुरा बाइबालमा उल्लेख गरिएको छ ।
म तामाङ भएकोले गर्दा, मेरो व्यक्तिगत तर्फबाट संसारभर छरिएर रहनुभएका तमाङ ख्रीष्टियनहरुलाई भन्नचाहन्छु, ल्होछार हाम्रो पहिचान र चिनारी बोकेको नयाँ वर्ष हो । यसलाई अभ्यासमा ल्याउँदा बाइबल र परमेश्वरको खिलाफ हुँदैन। हामीले संगति गरेर, परमेश्वरलाई धन्यवाद दिएर, आफ्नो भाषामा, भेषभूषामा रमाउँदै परमेश्वरको महिमा गर्न सक्छौं । यदि यसो गर्दा परमेश्वरलाई महिमा हुँदैन, हामी संसारिक भइन्छ भनेर तपाइको पाष्टर र मण्डलीले सिकाउँछ भने, उहाँसँग यसको नकारात्मक कारण सोध्नुहोस् । सिक्नुहोस् ।
कुपरम्परा र अन्य इश्वरलाई पुजा गरेर उत्सव मनाउनु भनेर मैले तपाइहरूलाई भनेको छुइन्, तर मलाई चिनाउने भौतिक पहिचान, चिनारीलाई लिएर, मेरो भेषभूषा र भाषाबाट सबै जातिका परमेश्वरलाई महिमा दिन सकिन्छ भन्ने मेरो विचारलाई राखेको मात्र हुँ ।
कृपया मेरो लेखलाई लिएर दशै,तिहार,होलि र तिज जस्ता कुरालाई यसमा नजोड्नुहोस् । भगवान जोगाउने चाड र पहिचान उठाउने उत्सव अलग हुन ।
तामाङ्ग नयाँ वर्षको शुभकामना !
#shrawanbomjan
श्रवन बोम्जन