प्रेरित १५:९ उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्नु भएन, तर तिनीहरूका हृदय विश्वासद्वारा शुद्ध पार्नुभयो। आज मैले मण्डलीभित्र देखिने गरेको जातीय भेदभाव, सम्पन्न र असम्पन्न परिवारबीचमा हामीले गर्दै आएका व्यबहारका तितो सत्य, र्थात् अदेखा सच्चाई, लुकाइएको झुट र दबाइएको मानिसहरुको बारेमा केहि विचार प्रस्तुत गरेर तपाईंहरुबाट यसको बारेमा अझ धेरै कुरा सिक्ने आशा गरेको छु ।
मैले माथि “प्रेरित १५:९”लाइ सुरुमा नै जोडेर सुरुका दिनमा अन्याजतिहरुको बिचमा सुसमाचार प्रचारिने काम गर्दा चेलाहरूको बिचमा देखिएको मतभेदको कुरालाई सम्झना दिलाउन खोजेको छु । हामी प्राय: धेरैलाई थाहा छ, ति समयमा पत्रुस, पावल, बर्णवासजस्ता प्रभुका चेलाहरुले सु-समाचारलाई लिएर प्रभुको प्रकाशमा अन्यजातिहरुको बिचमा जाँदा त्यहाँ आफ्नै भाइहरुको बिचमा निकै आलोचना सुरुभयो र जातको आधारमा निकै बहस चल्यो । “प्रेरित १५:१-२१” तर यो कुराले खराब विचारप्रति साथ् दिईरहन सकेन। जब प्रभुका सेवकहरुले आफ्नो समुहका भाइहरुलाई कसरि प्रभुले, तिनीहरू (अन्यजातिहरू) र हामीहरूका बीच कुनै भेदभाव राख्नुभएन, तर तिनीहरूका हृदय विश्वासद्वारा शुद्ध पार्नुभयो भन्ने कुरालाई बुझाए तब फेरी सबै जना एकमन एकहृदयमा जोडिएर प्रभुको प्रेमको पाल तन्काउन सहभागी भए ।
आज मैले यो कुरा उठाएर इसाई र अ-इसाईहरु बिचको भेदभाव र अन्तरलाई देखाउन खोजेको जस्तो लाग्छ भने त्यो गलत हो । म आज हाम्रै घरभित्रको भेदभाव र परमपरा तितो सस्कारको बारेमा भन्न खोज्दै छु । पावल, पत्रुसको समयमा जात संगै विवाद आएको थियो । तर त्यसबखतका अति न्यून अन्यजातिहरुले मात्रै प्रभुलाई चिनेको अवस्था थियो । आजको मण्डलीको समस्या र त्यो समयको समस्या एकै जस्तो देखिए पनि, त्येतिखेरको भन्दा आजको समस्या निकै छिप्पिंदै गएको रुखको जरा जतिकै भएको छ । जसले आत्मारुपी जमिनको भागहरुमा आफ्नो जरा फैलाईरहेकाछन्, यो हाम्रो घरको सबैभन्दा ठुलो रोग हो ।
मैले यी कुराहरुलाई बुँदागत हिसावले सम्बोधन गर्ने जमर्को गरेको छु ।
१. मण्डलीभित्र जातको आधारमा गरिने भेदभावपूर्ण ब्यबहार:
हुनत साँच्चै हामीले प्रभु ख्रीष्टलाई नजिकबाट चाखेको छौं भने यो जातको कुरा हाम्रोमा आउदै नआउनु पर्ने हो । यो बिषय इसाई घरभित्रको लागि लाजको खास्टो जस्तो पनि हो । तर पनि यो बिषयलाई हामीले कतिचोटी गम्भीरताका साथ् नलिंदा यसले हामी इसाई हुनुको भिन्नतालाई कमजोर बनाइरहेको छ । मैले आज भन्न खोजेको कुराहरु सबै मण्डलीमा, विश्वासीमा, अगुवाहरूमा लागु नभएको हुनसक्छ । यदि यसो भएमा उहाँहरुको इमान्दारिताको निम्ति धन्यवाद दिन चाहन्छु । यदि मैले लेख्न लागेको कति कुराहरु तपाईंहरु कतिको मण्डली र आफैंमा भेटिएमा यसमा चाँही म प्रार्थनाको सहयोगी बन्न सक्नेछु ।
बाइबलले हामीलाई एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्ने कुरामा लाग्न जोडदिन्छ । कतिचोटी यस्तो शिक्षा र आत्मिक नियमका उपदेश दिने अगुवाहरु नै यो जातपातको भिरमा लड्ने अबस्थामा हिडिरहेको मैले देखेको छु ।
यदि तपाईंको मण्डलीमा तामाङ जातको पाष्टर हुनुहुन्छ भने उसले हरेक क्रियाकलापको निम्ति योग्यता भएको विश्वासीलाई नछानेर अर्को एकजना तामाङ छान्छ भने यो भन्दा ठुलो भेदभाव के हुनसक्छ ? एकजना पाष्टर राइ जातको हुनुहुन्छ भने, बरदान भएका र सिपले पोख्त भाइ-बहिनीलाई क्वाएर झुण्डमा सहभागी हुन नदिएर, आफ्नै छोरा-छोरी वा, नातावाद, गोतावादको आडमा मण्डलीमा शासन चलाउन खोज्छन भने यो भन्दा ठुलो भेदभाब के हुनसक्छ ?
बिश्वसिहरु हामी पनि मण्डलीमा सेवामा जाँदा कथित तल्लो जातका हरुसंग क्षेत्री,बाहुन खुल्ला हृदयले एकभएर बस्न चाहँदैन भने, तपाईंले बुझेको प्रेमको श्रोत के हो ? तामाङ, राइ, मगर, गुरुङ, आदि जातहरुले हामी त आदिवासी क्षेत्री-बाहुन त नाख चुचे छुट्टै आकारका भन्ने सोच राखेर चर्चमा आउछौं भने ख्रीष्ट येशूसंगको तपाईंको सम्बन्धको आधार के हो ?
हामी सुसमाचार सुनाउन जाँदा अन्य जातिहरुलाई इसाईहरुमा त भेदभाव हुँदैन, हामी सबैलाई एक दृष्टिले हेर्छौं, नर-नारि मात्र प्रभुले दिनुभएको मानिसको परिचय हो। हामी जातको आधारले होइन, प्रेमको आधारले सम्बन्ध निर्माण गर्छौ भन्छौ, तर हामीमा नाटकीय तवरले लुकिरहेको यो भेदभाव, आफ्नोवाद, झुटो र नाटकीय सम्बन्धको जवाफ कसले दिने ? यसको जवाफ एकदिन प्रभूलाई दिनुपर्छ भन्ने कुरा हामीले भुलेको पो हौँ कि ? नभुलौं कुनै पनि हालतमा हामी उहाँको न्यायबाट उम्कन सक्नेछैनौं । निफन्ने नाङ्ग्लो उहाँसँग छ ।
क्षेत्री-बाहुन जातका इसाईले म त अरुभन्दा ठुलो जातको भन्ने भावनालाई समानतामा मिसाउन अझै सिकेको छैन भने अब सिक्नुपर्यो; कथित तल्लो जातिका इसाईहरुले हामी त सानो जातको भन्ने कमजोर मानसिकता पालेर बस्नुभएको छ भने, ख्रीष्टमा हामी सबै बराबरी मोल तिरेर बचाइएका हौँ भन्ने कुरालाई शिरोपर गरेर, प्रेममा रहेर, यो कु-परमपरागत सोचलाई त्याग्नुपर्यो ।
हुनत यो सानो-जात ठुलो-जातको मगजधुलाई गरिएको परम्पराबाट हामी भर्खर स्वतन्त्र भएका कारणले पनि यो विचार र मानसिकताले हाम्रो ठाउँ ओगटेको छ, तर अब उसो हामी ख्रीष्टमा नयाँ गरि जन्मिएकाहरू हौँ। अनि अर्को एकदम गम्भीर बिषय भनेको मण्डलीहरुमा जातीय भेदभाव जस्ता कुरामा पाष्टरहरुले त्यति शिक्षा दिएको पाइंदैन । कि अझैं यसको आबस्यकता नदेखिएको हो ? कि आफै यो कुराबाट छुटिन नसकेको तितो साक्षी भएकोले हो ? विश्वासी, अगुवा सबैले यो कुरा बुझ्न र यसलाई आफुमा लागु गरेर ख्रीष्टमा पाएको समानतामा जिउन सिक्नु अहिलेको आबस्यकता हो । नत्र भने हामीले छिमेकीलाई प्रेम गर्न सक्दैनौ तर उनीहरुलाई भेदभाव गरेर दुख दिन मात्र सक्छौ, जुन कुराले हामी प्रभुलाई रुवाउन सफल बन्नेछौ ।
२. मण्डलीमा धनि र गरिबको आधारमा भेदभाव :
आजकाल कतिपय पाष्टर-अगुवाहरु थोरै आम्दानि गरेर जीविका चलाउने आर्थिक रुपमा कमजोर रहेको परिवारको घरमा, डेरामा, घरेलु संगति गर्न जान चाहदैनन् किन ? कतिजनाले यो कुरालाई त्यति विचार गरेको हुँदैन, तर आज मण्डलीमा फुट, बिभेद्ता, र बिश्वासबाट मानिसहरु पछी हट्नुमा पहिलो कारण यही हो ।
ख्रीष्ट येशूले बिधुवाको भेटीलाई जति मुल्यको ठान्नुभएको थियो, त्यति मुल्यको आधारमा पनि आजको भौतिक कमजोरीमा रहेको इसाईहरुलाइ आजको पाष्टर-अगुवाले बुझ्न सकेको छैन ताकी, त्यो भेटि भन्दा पनि यी आत्माहरु कति मुल्यवान छन्, जोहरू परमेश्वरको स्वरूप हुन्।
किन कमजोर परिवारको बिचमा संगति सेवाको निम्ति जान सक्दैनन् अगुवाहरु ? व्यस्तताले गर्दा हो ? पक्कै होइन उहाँ अर्को बिल्डिंग वाला परिवारमा भएको संगतीमा त परिवार नै लिएर पुग्नुहुन्छ त । किन यस्तो ? किन ? कि डेरामा बस्ने त्यो कमजोर परिवारले संगति सके पछी राम्रो कफी, बिस्केट, फलफुल, खाजा दिन सक्दैनन् भनेर हो ? कि संगतिमा जाँदा सोफामा बस्न पाइदैन भनेर हो ? “याकुब १:१” मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ”। खोई त यहाँ समानता ? कि ख्रीष्टले सुरु नगर्नुभएको भेदभावको सेवा सुरु गर्ने संस्थापक बन्न चाहनुहुन्छ तपाईंहरु ? त्यसो हो भने अर्को बाइबल लेख्नुस, होइन भने घटेर, दबेर,सहेर, सेवक बन्ने गोठालोपनको निर्माण आजैबाट सुरु गर्नुस् ।
एकछिन याकुब १:१-७ सम्म पढेर मनन गरौ ।
मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट्, महिमाका प्रभुमाथि तिमीहरूको विश्वाेस भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ। यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्” भन्छौ र, र त्यस गरीबलाई चाहिँ “तँ त्यहीं उभि” अथवा “मेरा पाउनेर बस्” भन्छौ भने, के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ र? कुविचार भएका न्यायकर्ता भएनौ र? मेरा प्रियहरू, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नुभएन र? यहि राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र? तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ । के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र ? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र? के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?”
अब सोच्नुहोस् कतै हामीले गरेको कामले, हाम्रो व्यबहारले ख्रीष्टको आदरणीय गुणमा अपवाद त भएको छैन ? मलाई लाग्छ, भएको छ मित्रहरु; साँच्चै हाम्रो बिचारले, कामले, व्यबहारले, उहाँलाइ कति चोटी रुवाइ रहेका छौँ । अझै पनि हामीसंग असल समय छ, र हामी ख्रीष्टको प्रेममा बनिन र उहाँको गुणलाई हामीमा समेट्न सक्ने खेताला बन्न सक्छौ “१ तिमोथी ५:२१ परमेश्वर र ख्रीष्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर”। अब ख्रीष्ट येशुमा बनिएको नियमहरु हामीले पालान गर्नैपर्छ । पालन गरौ ।
दशांस धेरै दिनेलाई मात्र, मान गर्ने वास्ता गर्ने होइन, दिन सक्ने नसक्ने, बलियो र कमजोर सबै पक्षलाई समेटेर मण्डलीलाई बलियो बनाउन तिर लागौ । यदि हामीले भौतिक कुराको आधारमा एउटा भाइलाई बलियो अर्को भाइलाई कमजोर बनायौं भने हाम्रो शक्ति हामी आफैमा फुट्दैन र ?
“प्रेरित १५:१-२१” सुरुका अगुवाहरुले प्रभुलाई नपाउने अ-इसाईहरु प्रति पनि कति आत्मीय व्यवहार गर्न आफ्नो बिश्वसिहरुलाई सिकाएका थिए, त्यो कुरालाई विचार गरौँ । हामी त आफ्नै मण्डली भित्र नै ख्रीष्टको प्रेमलाई स्थापित गर्न कतिचोटी असक्षम भैरहेका छौं भने कहिले छिमेकीलाई प्रेम गर्ने र ख्रीष्टको नमुना बन्ने ? कहिले ?
येशू धनि र गरिब सबैको लागि जीवन पनि हो । दमाइ-कामि-सार्की-भोटे-बाहु न-क्षेत्री-तामाङ्-राइ-मगर- लिम्बु-अन्य सबै सबै जातिहरुको निम्ति जीवनको पनि हो ।उहाँले जगतमा भएका सबैको लागि बराबरी मोल तिर्नुभएको छ । त्यसैले तँ त्यो जातको, म यो जातको, त्यो धनि म गरिब, यस्ता कुराहरु हामी इसाईहरुमा हुनुहुदैन ।
पाष्टर-सेवक भएपछी जातको आधारमा मण्डलीमा शासन गर्न दिनुहुन्न । मानिसको परिस्थिति हेरेर घर, छानेर संगति जाने गर्नुहुन्न । तपाइँ मिठो खानु र सुविधापूर्ण कुर्सीमा बस्दा मात्र सेवाकाई हुने हो भने, तपाइँ झ्याई-झ्याई गर्ने झ्याली मात्र हो। तपाईं गहिराइमा हराएका भेडालाई खोज्न आफैलाई जोखिममा पर्न दिनसक्ने गोठालो होइन । जसरि ख्रीष्ट येशुले हामीलाई खोज्न आफैलाई मृत्युमा पर्न दिनुभयो ।
श्रवन बोम्जन
