सत्यता बुझेका हामी, यो यूगमा ख्रीष्टलाई झुन्ड्याउने प्रतिनिधि कसरी बनिरहेका छौं ?



परमेश्वरलाई प्रेम गर्ने र आफ्नो जीवनप्रति सन्तुष्ट हुने मान्छे प्रधानमन्त्री वा अन्य कुनै उच्च पदमा पुग्न सकिनँ भनेर कहिल्यै दु:खी हुँदैन । तर परमेश्वरको अनुग्रहमा रमाउँछ l
जसले अनुग्रहको उचित बिश्लेषण गर्न जान्दैन, उसले जीवनको कठिन परिस्थितिहरूमा आफैलाई बोझ ठान्छ । तिनिहरू आत्मिक खुराकप्रति सन्तुष्ट हुँदैनन् । टन्न अघाए पछि जनावरसमेत् सन्तुष्ट हुन्छन्, तर भौतिक बोझमा अल्झिएका मानिसहरू जति मिठो स्वादमा अघाए पनि सन्तुष्ट हुँदैनन् ।
किनकि उनीहरू अदेखा स्वभावका अतिथि बन्न चाहदैनन् । प्रेमको मुनाफा बटुल्ने लगानी गर्दैनन् । भीडहरूले उनीहरूको पेट भरिन्छ । आसन र स्वगतले उनीहरूको प्यास मेटिन्छ । देखावटी जीवन शैलीमा उनीहरूको सपना जन्मिन्छ । तापनि त्यहाँ परमेश्वरको भावको आदर हुँदैन । उहाँको बुद्धिको खोजि हुँदैन । किनकि कसरी खानुपर्छ भन्ने कुरा उनीहरूमा निर्भर गर्दछ । जसरी उनीहरूले खाइरहेका छन्, त्यसरी उनीहरू कहिल्यै सन्तुष्ट हुन सक्दैनन् ।
स्वाद महत्त्वपूर्ण कुरा हो, तर त्यसलाई निल्नुपर्ने चालचलन पनि महत्त्वपूर्ण हुन्छ । उनका चालचलनले आत्मालाई सन्तुष्ट बनाउने भोजनको स्वादलाई नकार्ने गर्दछ । किनकि उनी आत्मा विरोधी तत्वमा लागेर शारीरिक भोजनालयहरूमा आफ्नो जिब्रो चखाउन रुचाउँछन् । यसो गर्दा मानिसहरूले उनको अगाडि थुप्रै प्रकारहरू देख्नेछन् , तर कसले उनको असन्तुष्ट आत्मालाई जान्दछ ?
भीडहरूमा उसले यही घोषणा गर्छ । म परमेश्वरलाई प्रेम गर्छु । मैले पाएको जीवनको निम्ति म खुसी छु । विडम्बना यो मान्छे एउटा पदको लागि दु:खी जीवन जिउँदै छ । नामको लागि अरूको कृतिहरू गलामा झुन्ड्याउँदै हिडेको छ । शब्दहरू चोर्छन् , रचनाहरू चोर्छन् , फरक भाषाहरूको अनुवाद तत्वका शिकारी बनेर जिउँछन् l
अरूलाई अनुग्रहको छानो देखाउँदै आफू ज्याला खोज्दै हिंडेका छन् । कति राम्रो अभिनय गर्न आउँछ उनलाई; जसको कला हेर्नलाई मानिसहरूले जीवन जहाजबाट आफ्नो खुट्टा पानीतिर बढाउँदै छन् । कस्तो धोका ? उनको कलात्मक झुठो अभिव्यक्ति बुझ्न नसक्नेलाई यो कत्रो धोका ? खाँदै छ । अझै अघाएको छैन । ख्रीष्टको अनुग्रहमा रमाएको छैन ।
यिनीहरूले हरेक सोझा मानिसहरूको अगाडि नक्कली संसार खडा गरेका छन् l नक्कली प्रभू ल्याएका छन् l इतिहासका सत्यताहरूलाई कथामा परिणत गरेर आफ्नै नियम, कानुन र गतिबिधि बनाएका छन् l सन्तुष्टि बिना नै अघाउने आधुनिक भोजनको खोजीमा छन् l
येशूले मानिसहरूलाई नडराओ भन्नुभयो l आफ्नो वशमा राख्नको लागि यिनीहरू मानिसहरूलाई तर्साउँछन् l मण्डलीहरूलाई चिट्ठा भवन बनाएका छन् l चर्को स्वरमा भन्छन् आओ चिट्ठा भर; तिमीले कमाएको १०% को दरले भर, २०% को दरले भर l नत्रता तिमीले कमाएको पैसा अस्पातालमा दिनुपर्ला, तिम्रो छोराछोरी विरामी होला l यात्रामा तिमी दुर्घटनामा पर्न सक्छौं l आओ यो विपत्तिबाट बाँच्नको लागि मण्डलीमा चिठ्ठा भर l डरको आत्माले घेर्ने वित्तिकै मानिसहरू चिठ्ठा किन्न जान्छन् l उदारचित्त बिना नै मानिसहरूले डरको कारण कन्जुस मुठ्ठी खोलेर अस्पतालबाट छुटकारा खोज्छन् l दुर्घटनाबाट छुटकारा खोज्छन् l यसरी गरिबहरूलाई भ्रममा राखेर लुट्छन l तर पनि तिनीहरू सन्तुष्ट छैनन् l अघाएको छैन l
धर्मको संघारमा उभिएर मानिसहरूलाई भोजन ठानिरहेका छन् l तर तिनलाई त जीवनको उपदेश दिइएको थियो l प्रेमको हतियार दिइएको थियो l तर उसले ख्रीष्टको आस्थालाई एउटा धर्मको सोरूम बनायो l किनकि जहाँ धर्मको अभिप्रायहरू जोडिन्छन्, त्यहाँ कमाउने निश्चित छ l धन्य येशूमा शरण पर्नेहरू तिमीहरू धर्मको जालोमा बाँच्नुपर्दैन l अनुग्रहलाई बुझ l
त्यस्ताहरूको अनुशरण कति गर्छौं ? जोहरू अमेरिकाको भिसा लागेन भनेर दु:खी छन् l भिसा लाग्यो भनेर खुसी छन् l मन्त्री बन्न पाइएन भनेर दु:खी छन् l परमेश्वरलाई प्रेम गर्ने र आफ्नो जीवनप्रति सन्तुष्ट हुने मान्छे प्रधानमन्त्री वा अन्य कुनै उच्च पदमा पुग्न सकिनँ भनेर कहिल्यै दु:खी नहुनुपर्ने हो । कति सजिलै आफूले पाएको उद्दारलाई बेच्न तयार छौं हामी ? भन्ने बेलामा अरूलाई देखाएर त्यो झुठो शिक्षा, त्यो गलत सम्प्रादाय भनेर गला फाटेर चिच्याउँछौं l हामी आफैलाई फरिसी र सदुकीको स्थानमा उभ्याएर, येशूले तिमी आज नै मसँग स्वर्गमा हुनेछौं भनेका चोरलाई सम्झौं l तिमीले क्षमा पायौ भनिएकी बेश्यालाई सम्झौं, अनि त्यतिखेरको ढोंगी धर्मगुरूहरूलाई आफूसँग दाजौं l निश्चय नै हामीले आफ्नो बाहिरी भाग टल्काएर, भित्रपट्टि चाहिँ फोहोरको लेदो जमाएको हौंला l
थुप्रै मानिसहरू मेरो पक्षमा छन् भनेर घमण्ड नगरौं, हामीसँग ख्रीष्ट छैन भने अन्त्यमा हामी एक्लो नै हुनेछौं l येशूको समयमा पनि ढोंगी धर्मगुरूहरूको पछाडि लाखौँ मानिसहरू थिए l सबै मिलेर ख्रीष्टलाई झुन्ड्याएका थिए l यो सत्यता बुझेका हामी, यो यूगमा ख्रीष्टलाई झुन्ड्याउने प्रतिनिधि कसरी बनिरहेका छौं ?
श्रवन बोम्जन