केहिदिन अघि मैले स्ट्याटसमा सिन्धुपाल्चोकमा रहेकी एकजना सुत्केरी
बहिनीलाई सहायता गर्न जाँदैछु भन्ने कुरालाई समावेश गरेको थिएँ । त्यहि सिलसिलामा हामी
सिन्धुपाल्चोक जानुभन्दा अगाडि नै हामीलाई सम्पर्क गरेर दिदि रेणु भण्डारी लामा दिदीले प्रशस्त मात्रामा ओढ्ने, ओछ्याउने र लगाउने लत्ताकपडाहरू उपलब्ध गराउनु भएको थियो
। एकजना बहिनीले हंगकंगबाट दश हजार रुपैयाँ सहयोग पठाउनुभएको
थियो । उहाँहरूद्वारा प्राप्त सहयोग लिएर हामी सिन्धुपाल्चोकतर्फ लाग्यौं । बाह्रविसे हुँदै बसेरी भन्ने
ठाउँमा हामी पुग्दा पिडित सुत्केरी बहिनीको आमा, बुवा र बहिनी हामीले लगेको सामान लिनको लागि ३ घण्टाको बाटो
हिंडेर ओरालो झरिसक्नुभएको रहेछ ।
हामीले उहाँहरूलाई भेटेर फर्किने विचार राखेको भए तापनि पिडितकि आमाले माथिसम्म पुगेर एकचोटी प्रार्थना गरिदिन अनुरोध गर्नुभयो । त्यस परिवारमा पिडित बहिनीबाहेक अरूले
प्रभूलाई विश्वास गरेका छैनन् । तापनि येशूमा विश्वास
गर्दा निको हुन्छ भन्ने कुरा विश्वास गर्दा रहेछन् । यसकारण हामी पनि उनीहरूसँगै उकालो चढ्यौं । उनीहरूलाई ३ घण्टा लाग्ने बाटो हामीलाई झन्डै ५ घण्टा नै लाग्यो
। हिंड्न नसकेका कारण हामीसँगै गएका एकजना साथीलाई हामीले
बीच बाटोमा नै विश्वासी परिवारको घरमा छोडेर गएका
थियौं । हामी माथि पुग्दा लगभग ६:१५ बजिसकेको थियो । पिडित बहिनीको घरको ढोकामा हामी पुगिसकेपछी थाहा भयो कि
त्यस परिवारको अवस्था हामीले सोचेभन्दा निकै नाजुक रहेछ । भूकम्पले घर भत्केपछि दु:खसुख एउटा सानो टहरा बनाएका रहेछन्
। १० फिट चौडाइ-लम्बाई थियो होला । ५ जना छोरीहरू, बुवाआमा र
हजुरआमा एकै ठाउँमा सुत्नुपर्ने रहेछ । हामी निकै अवेरमा
त्यहाँ पुगेकोले गर्दा त्यस घरका परिवारले हामीलाई त्यहिँ बस्न अनुरोध गर्नुभयो । तर हामी त्यहाँ बस्दा अटाउने ठाउँ थिएन । घुम्थाङ गाउँकै सबैभन्दा माथि पट्टि त्यो घर थियो ।
हामीले झन्डै ५ घण्टा लगाएर उकालो चढेको बाटो फर्किने निधो गर्यौं । त्यसैले पीडित बहिनी र उनको परिवारसँग छोटोमिठो कुराकानी गर्यौं । पीडित बहिनी “राम्री तामाङ” भर्खर १८ वर्ष
मात्र पुगेकी रहिछन् । उनको साथमा ३ महिनाको
सुन्दर छोरा थियो । राम्री बहिनीले भने अनुसार छोरा पाएपछि उनको
हातखुट्टा चल्न छोडेको रहेछ; र आँखा पनि
नदेख्ने भएको रहेछ । सुत्केरी भएलगत्तै बिरामी
भएर एकमहिनासम्म खाना सम्म खान नसकेकोले दुब्लाएर सुकेकि रहिछन् । थुप्रै ठाउँमा उपचार गर्दा पनि कुनै रोग पत्ता नलागेपछी अब यसले काम गरेर खान सक्दैन भनेर श्रीमानले पनि हेला गर्न थालेपछि
माईती आएर बसेकि रहिछन् । आफन्तले उसलाई चर्चमा जाँदा निको हुन्छ भनेर भनेकाले चर्चमा
निरन्तर जान थालेकी रहिछन् । चर्च जान थालेपछि अहिले आँखा देखेको र हातखुट्टामा पनि तागत
बढेको कुरा राम्री आफैले हामीलाई सुनाईन् ।
एकसमयमा सम्पत्तिको नाउँमा केहि गाई, भैंसी र बाख्रा भएका त्यस तामाङ परिवारले आजसम्म आफ्नो परिवारलाई स्याहार्दैमा सबै कुरा
गुमाएका रहेछन् । केहि वर्ष अगाडि राम्रीकि आमालाई पनि ठुलै रोग लागेको रहेछ । आमालाई काठमाडौंमा २ वर्ष राखेर उपचार गर्ने क्रममा सबै
गाईवस्तुहरू बेचेका र त्यही क्रममा ५ दिदीबहिनीले आफ्नो पढाईसमेत् बीचमा छोडेर बसेका रहेछन् । यसरी हरेक दिन बाँच्नकै
लागि धौधौ पर्ने परिवारको जीवनमा भूकम्पले झन् अर्को असह्य पिडा थपीदिएपछि दैनिकी जीवन अझ कठिन भएको रहेछ । अझै एउटा छोरीको यो दर्दनाक अवस्थाले
उनीहरूलाई झनै गाह्रो बनाएको कुरा थाहा पाएपछि हामीपनि एकदमै निशब्द
हुन पुग्यौं ।
हामीले बिरामी बहिनी र उनको परिवारलाई प्रार्थना गरेर
येशूको नाउँमा हिम्मत बढाउनुहोस् भन्यौं । येशू नाउँमा सबै
सम्भव छ, कृपया तपाईंहरूले आफ्नी छोरीलाई चर्च जानबाट नरोक्नुहोस् भनेर अनुरोध पनि गर्यौं । फेरि एकचोटी उपचारको निम्ति काठमाडौं आउनुभयो भने
हामीलाई सम्पर्क गर्नुहोस् हामीले सक्ने सहायता गर्नेछौं
भनेर प्रेमको वचन दियौं ।
छुट्ने बेलामा केही छोडेर आउने मन भयो तर हामीलाई
प्राप्त सहयोग रकम प्रेसर कुकर
लगायतका अन्य जिन्सी सामान किन्दैमा सकिइसकेको थियो । उहाँहरूको अवस्था देखेर मन नमानेपछि पास्टर
निमा घिसिङ दाजुले अर्कै उद्देश्यको लागि पठाउनुभएको रकमबाट छुट्याएर रू. १०,००० ( रुपैंया दश हजार मात्र ) बहिनीको हातमा थमायौं । उक्त रकम आफ्नो उपचारमा
खर्च गर्नुहोस् भनेर हामी छुट्यौं ।
रातको ८ बजेतिर हामी आधा बाटो आइपुगेका थियौं । रातको समयमा अन्जान ठाउँको जंगलको बाटो हिंड्दा पनि हामीले आनन्दित महसुस
गर्यौं । भूकम्पमा चर्चभवन भत्केर १७ जना विश्वासी
प्रभूमा निदाएको मण्डलीको अगुवाको घरमा बास बस्यौं । उक्त मण्डलीको अवस्था
बुझेर हामीले मण्डली भवन पुनर्निर्माणको लागि केहि सहायता गर्यौं (त्यसबारेको जानकारी अर्को पोष्टमा लेख्नेछु) ।
यसरी परमेश्वरले हामीलाई ख्रीष्टमसको यो अवसरमा उहाँको प्रेम बाँड्न
सुरक्षितसाथ् जान आउन सहायता
गर्नुभयो । काठमाडौं फर्केको बिहानै हामीसँग भएको बाँकी कपडा लिएर केहि
हप्ता अगाडी मैले फेसबुकमा लेखेको दृष्टिविहीन दाजुको घरमा पुगें । दाजु काममा जानुभएको रहेछ; तर उहाँकि श्रीमतीलाई भेटेर ओढ्ने, ओछ्याउने र केहि लत्ताकपडा दिन सक्यौं ।
यसरी यो ३ दिन क्रिसमसको रमझम छोडेर परमेश्वरको राज्यको मुनाफा कमाउन हिंडीयो । अन्तमा, यूकेबाट ल्याइएका अति गुणस्तरीय लत्ताकपडा जुटाईदिनुहुने दिदी रेणु भण्डारी
लामा, कुकर, थर्मस लगायतका भाँडाहरू किन्न
हंगकंगबाट सहयोग पठाउनुहुने बहिनी साथै पास्टर निमा घिसिङ दाजुलाई यो
काम गर्ने मौका दिनुभएको लागि “म र मेरो टिमको
तर्फबाट” हृदयदेखि नै धेरै
धेरै धन्यवाद भन्न चाहन्छु ।
परमेश्वरलाई तपाईंहरूले दिनुभएको ऋण, ब्याजसहित् पाउनुहुनेछ । आमेन !
श्रवन बोम्जन
#shrawanbomjan![]() |















