
ख्रीष्टमसको वृतान्त हेर्दा
प्राय: सबै धर्म र आस्थामा विश्वास गर्नेहरूको चाड पर्वहरू हुन्छन् l हिन्दू, मुस्लिम र बुद्धिष्टहरूका पनि थुप्रै विशेष चाड पर्वहरू छन् l यस्तै; आफूलाई इसाई भनेर चिनाउने मानिसहरूले पनि प्राय: ख्रीष्टमस र ईस्टरलाई मनाउने गर्दछन् l तर एल-शद्दाई मण्डली र अन्य केहि नयाँ सम्प्रादयका विश्वासीहरूले ख्रीष्टमस र ईस्टर मनाउँदैनन् । यसमा पनि क्याथोलिक समुदायले भने ख्रीष्टमस र ईस्टर बाहेकका अरू थुप्रै दिनहरूलाई पवित्र चाडको रूपमा मान्दछ l
डिसेम्बर २५ को इतिहास अध्ययन गर्ने हो भने "सन् २७४ को डिसेम्बर २५ को दिनलाई सुर्य जन्मेको दिन मनाउनु पर्छ भनि रोमी सम्राट औरेलियनले घोषणा नै गरेका थिए l" डिसेम्बर २५ लाई ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनेर सबैभन्दा पहिला आवाज उठाउने सन् ३२० का पोप जुलियस थिए l
सन् ३२५ मा पनि रोमी सम्राट कन्स्टन्टाइनले डिसेम्बर २५ लाई ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनी सुरुवात गरेका थिए । उसलाई रोमी सम्राटहरूका पहिलो ख्रीष्टियन भएको मानिन्छ । यसरी नै सन् ३५४ को डिसेम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रीष्टको जन्म दिन मनाउनुपर्ने व्यवस्था सुरु गरेका थिए । यसरी मितिहरूको गोलमाललाई सच्याउँदै ख्रीष्टमस पर्वलाई स्थापित गरिएको इतिहास छ l
ख्रीष्टमस नमान्ने थुप्रै इसाईहरू पनि छन्; उनीहरू ख्रीष्टले हाम्रो निम्ति दु:खको चरम सिमा पार गरेका कारण उहाँको पृथ्वीको आगमनलाई दु:खको दिन सम्झेर यो दिनलाई उत्सव मनाउन हुँदैन भन्छन् l उनीहरू उपवास प्रार्थनामा समय बिताउँछन् l एकथरी इसाईहरू भने ख्रीष्टमस खुसीको दिन रहेकोले उत्सव मनाउनु पर्ने कुरामा जोड दिन्छन् l मिठो मिठो खाएर, उपहार साटासाट गर्छन् l
डिसेम्बर २५ लाई ख्रीष्टमस चाडमा स्थापित गर्नुभन्दा अगाडि यो दिनमा सूर्यको पूजा गरिन्थ्यो l पछी आएर यो दिन ख्रीष्टमसमा परिणत गरियो l यही कुरालाई लिएर पनि कतिपय इसाईहरूले ख्रीष्टमस साँचो इसाई चाड़ होइन तर ती दिनहरू इसाई भेषमा मनाइने पुरानो समयका अन्यजाति देउताहरूलाई पुज्ने चाड़हरू हुन् भन्छन् l कतिले यो नै इसाई चाडहरू रहेको दावी पनि गरेका छन् l यसरी ख्रीष्टमसलाई लिएर मतभेद रहे तापनि यसलाई नमान्ने भन्दा मान्नेहरूको संख्या निक्कै बढी देखिन्छ l
आजकल कुनै धर्ममा पनि विश्वास नराख्ने र अन्य धर्महरूका अनुयायीहरूले पनि ख्रीष्टमस भव्य रूपमा मनाउने गरेका छन् l ख्रीष्टमसलाई ख्रीष्टको सुसमाचारको श्रोत बनाउनुको सट्टामा नशालु पदार्थ पिएर अनैतिक मोजमज्जा गर्नेहरू धेरै छन् l मण्डलीका धेरै युवायुवतीहरू पनि यो कुराबाट अछुत छैनन् l यसैकारणले हुनसक्छ ख्रीष्टमस देखि नयाँ वर्षसम्ममा सबैभन्दा बढी दुर्घटना हुने गरेको पनि विश्व तथ्यांकले बताउने गरेको छ l
मैले लेखेको यि कुराहरू पढीरहँदा कतिजनालाई यो "श्रवन" ख्रीष्टमस मान्ने इसाई हो कि नमान्ने हो भन्ने मनमा लाग्न सक्छ l म कसैलाई मान्नुहुन्छ - मान्नुस् , मान्नहुदैन - नमान्नुस् भन्ने पक्षमा छैन l मैले परमेश्वरसँगको संगतिमा आफ्नै खालको बुझाई भेटाएको छु; यसलाई नै म ख्रीष्टमसको पक्ष र विपक्षमा उठाउँछु l सायद तपाईंले पनि यस्तै निर्णय गर्न सक्नुहुन्छ l
बाइबलमा येशू जन्मेको मिति छैन भनेर ख्रीष्टमस मनाउनेलाई नमनाउनेले आलोचना गर्नु बेकार छ l किनकि उहाँ जन्मेको कुरा त सत्य हो l उहाँको जन्म मिति डिसेम्बर २५ नै हो हामीले तय गरिसक्यौं भनेर घमण्ड गर्नु पनि ख्रीष्टमस मनाउनेलाई बेकार छ l
ख्रीष्टमस मान्ने, नमान्ने दुवैले सक्नुहुन्छ भने यति कुरा गर्नुहोस् :
हाम्रा अग्रजहरूले सिकाउँदै आएका असल कुराहरूलाई स्वागत गरेर उनीहरूबाट हामीसम्म आईपुगेका गलत संस्कार र प्रथाहरूलाई सुधार्ने प्रयास गरौँ l जस्तै: इसाई भएर गरिने जातको विभेदको कुरालाई अन्त्य गर्नुहोस् l सक्नुहुन्छ भने आफ्नो मण्डलीलाई आफ्नो परिवार, आफन्त र नातेदारमुखी नबनाउनुहोस् l यूरोप अमेरिकाबाट डोनेसन उठाउने मण्डली होइन, समस्यामा परेकाहरूलाई सहायता गर्न सक्ने मण्डलीका सदस्य बन्नुहोस् । प्रेम बाँड्ने इसाई बन्नुहोस् l डलरको खेती र भ्रष्टाचारको खुलेर विरोध हर्नुहोस् l मण्डलीलाई उठाउन आफूले गर्न सक्ने सबैभन्दा उत्कृष्ट समय दिएर लगानी गर्नुहोस् l
सबैले मिलेर प्रार्थना गरौँ कि हाम्रै जीवनकालमा हामीले यस देशका दशौँ लाख नयाँ मानिसहरू प्रभुमा आएको देख्न पाऔं । हाम्रा मण्डलीहरू सत्यतामा खडा हुन सकुन् l
“यदी कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्” (यूहन्ना ७:३७,३८ )।
धेरैचोटी हामीले विश्वासीलाई आत्मिक ठाउँहरूमा पुर्याउने बहानामा विभिन्न तालिम, सम्मेलन र संगतिहरूमा लागेका छौं l तर दु:खको कुरा कतिचोटी हामीभित्र भएको जीवनको श्रोतले उनीहरूको आवश्यकताहरूमा सहभागी हुन सकेको छैन l हाम्रो जीवनबाट बगिरहेको तितो पानीलाई फालेर सफा पानीको भण्डारेकहाँ गइ जिउँदो पानी भरौं l
श्रवन बोम्जन
#shrawanbomjan