केहि दिन अघि मैले "बुढापाकाको सम्मानमा उठ र वृद्ध मानिसको आदर गर" शिर्षकमा आफ्नो जिबिका चलाउन तौल जोख्ने डिजिटल तराजु लिएर सडकको पेटीमा दिन बिताउने एकजना बाजेको बारेमा लेखेको थिएँ ।
धेरै जनाले त्यस लेखलाई सेयर गर्नुभएको थियो । मैले त्यस बाजेको दयनीय अवस्थाको बारेमा लेख्दै वृद्धहरूको सानो कामहरूमा सहायता पुर्याउन उनीहरूको तराजुमा चढ्नुहोस् । उनीहरूले आशा गरेको भन्दा दश, बिस रूपैयाँ बढी दिनुहोस् भनेर लेखेको थिएँ ।
मैले दयनीय अवस्थामा आफ्नो गुजारा चलाईरहेका वृद्धहरूको पक्षमा सानो बाटो खन्ने कोशिस गरेको थिएँ, तर परमेश्वरलाई धन्यवाद होस् त्यस बाटोमा हिड्न उहाँले आफ्नो एकजना छोरालाई पठाउनुभयो ; जसबाट पाएको सहयोगद्वारा यो हप्ता हामीले त्यस बाजे र अरू दुईजनालाई केहि सहयोग गरेर, प्रेमको लगानी बढाउने मौका पाएका छौं ।
हामीलाई प्राप्त सहयोग रकम लिएर म र केहि साथीहरू डिजिटल तराजु लिएर सडकमा बस्ने बाजेलाई भेट्न गयौं । हामीले उहाँलाई भेटेपछी तपाईलाई अहिले के कुराको खाँचो छ ? भनेर सोध्यौं । उहाँले राईस कुकर र जाडोमा लगाउने केहि कपडाको माग गर्नुभयो । उहाँले आफूसँगै आफ्नो जीवन साथी सुकु माया ( मगर ) क्षेत्रीलाई पनि जाडोमा लाउने स्वीटर लिईदिनुभए हुन्छ भन्नुभयो । हामीले आन्टीचाहिँ कता हुनुहुन्छ ? भनेर सोध्यौं । उहाँको श्रीमती पनि सानो डिजिटल तराजु लिएर बिशालबजारको अगाडी पट्टि बस्नु हुँदोरहेछ । उहाँहरू दुबैजनालाई एकै ठाउँमा ल्याएर हामीले उहाँहरूले भन्नुभए अनुसार नै राईस कुकर साथै बाजेलाई ज्याकेट र पाइन्ट अनि आन्टीलाई स्वीटर किनीदियौं ।
केहि सुख्खा खाजा लिएर हामीले उहाहरूसँग केहि समय सँगै बितायौं । सानो चौतारामा बसेर दु:खसुखका कुराहरू गर्यौं । फोटो खिच्यौं । निकै आनन्द महसुस गर्यौं । तिमीहरू कहाँको मान्छे हामी कहाँको, यो ईश्वरको बाटो पनि अचम्मको छ भन्दै बाजेबज्यैले हामीलाई धन्यवाद दिनुभयो । जिउँदो मानव हृदयको प्रशंसाका कुराहरू गरियो । अझै पनि प्रेम रहेछ, मानवताको भावना रहेछ भन्ने कुरा गरियो ।
बाजे बस्ने सडक पेटिको नजिकै अर्को एकजना दिदि जाडोले कामिरहेकि थिइन् । दुवै हात जोडेर मानिसहरूतिर आफ्नो हात फर्काई रहेकि थिइन् । उहाँसँग मैले कुरा गरें तर उहाँले कुरा फर्काउन नसक्नु हुँदोरहेछ । तर पनि उहाँको अवस्थालाई हामीले अनुभव गर्न सक्यौं । यसकारण हामीले उहाँलाई पनि जाडोमा लगाउने सुरुवाल र ज्याकेट किनी दियौं । मिठाई पसलमा गएर केहि खाजा किनेर दियौं । उहाँ विरामी देखिन्थ्यो । हामीले लगेको कपडा पनि लाउन सक्नुभएन । हामी आफैले ज्याकेट लगाईदियौं ।
यसरी हामीले ख्रीष्टमसको अवसरमा यो सानो उपहार बाँड्ने मौका पायौं । यो मौका र सुन्दर कामको लागि आर्थिक सहायता जुटाउनु भएको लागि ब्रदर एन्ड्रु लामालाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु ।
हामीले गरेका यी काम सानो एउटा प्रयास मात्र हो । तर तपाईले यो भन्दा धेरै ठुलो काम गर्न सक्नुहुन्छ।यही ख्रीष्टमसमा पनि हामीले आफ्नो फजुल खर्चहरू कटौती गरेर विभिन्न तरिकाले मानिसहरूको विचमा प्रेम बाँड्न सक्छौं ।
प्रेममा संसारलाई जितेर मदर टेरेसाले आफ्ना दयाका हातहरू रित्तै लिएर गइन् तर पनि उनले दिएको भन्दा धेरै लिएर जाने अवसर पाइन् । किनकि उसले यहाँ पाएका सबै कुरा परमेश्वरलाई सापटी दिएर गइन् । विश्वासयोग्य परमेश्वरले छलकपट नगरी उनसँग लिएको सापटी फर्काई दिनुहुन्छ भन्ने कुरा उनलाई थाहा थियो । आज हाम्रो लगानी चाँही कता छ ?
मलाई सधैं मदर टेरेसाको यो भनाई र गराईले तान्छ; " यदि तपाईं दयालु हुनुहुन्छ भने मानिसहरूले तपाईंलाई स्वार्थी अभिप्रायहरू लिएको आरोप लगाउनेछन् ; जे भए पनि दयालु हुनुहोस् । आज तपाईंले गर्नुहुने भलाई, अधिकांस मानिसहरूले बिर्सनेछन् ; तपाईंसँग भएको उत्कृष्ट कुरा संसारलाई दिनुहोस् र त्यो कहिल्यै पनि पर्याप्त नहोला; जे भए पनि तपाईंको उत्कृष्ट योगदान दिनुहोस् । अन्त्यमा त्यो तपाईं र परमेश्वरको बीचमा हुनेछ; वास्तवमा त्यो तपाईं र तिनीहरूको बीचमा कहिल्यै थिएन् ।" हो हामीले गरेका काम, सहयोग, योगदान, सहकार्य हामीसँग जोडिएको मानिसहरूसँग देखिएता पनि यो परमेश्वरसँग हो । किनकि परमेश्वरले अन्त्यको दिनमा हाम्रो कामको मूल्यांकन गरेर हामीलाई ईनाम दिनुहुनेछ ।" के तपाईं जीवनमा धेरै काम गर्न चाहनुहुन्छ ? दिनहुँ उठ्नुहोस् र आशिषित् हुने प्रयास गर्नुको सट्टामा अरू कसैको निम्ति आशिष हुनको लागि तपाईंको सामर्थ्यमा भएको हरेक कुरा गर्नुहोस् ।
प्रार्थनामा सम्झी दिनुहोला यो आउँदो हप्ता पनि हामी सिन्धुपाल्चोकमा रहेकी एकजना सुत्केरी दिदीलाई सहायता गर्न जाँदैछौं । हामी पुगेको ठाउँहरूमा मानिसहरूले परमेश्वरलाई देख्न सकुन् । उहाँलाई खोज्न इच्छा जागोस् ।






