मोटरसाइकलले सुनाएको सुसमाचारको नालीबेली

श्रवन बोम्जन
पछिल्लो समय सुसमाचारलाई मानिसहरूले विभिन्न प्रक्रियामा ढालेर नयाँ ढंगबाट सुनाउने काम गरिरहेका छन् l यहि क्रममा भर्खरैमात्र काठमाडौंलगायत अन्य केहि सहरहरूमा “होप फर काठमाडौं” तथा अन्य नामहरूबाट सुसमाचारीय कार्यक्रमहरू सम्पन्न भएका छन् l अहिलेसम्मकै नयाँ नीति अपनाएर सुसमाचारलाई मानिसहरूसम्म पुर्याउने कोशिस गरिए तापनि यसले सफलता पाउन भने सकेको छैन l कतिपय अवस्थामा सुसमाचारलाई पैसामा मात्रै सिमित गरिएको छ l सुसमाचारीय कार्यक्रममा मानिसहरूको ठुलो उपस्थिति देखाउनको निम्ति प्रेयर टावर चलाई रहेका गोविन्द बुढाथोकीको प्रमुख पहलमा गैह्र-इसाईहरूलाई बाईक र विभिन्न ग्याजेट्सहरू देखाएर, चिठ्ठा बाँड्दै निशुल्क कन्सर्ट हेर्न आउनु भनेर झुक्याइएको थियो l तापनि उपस्थित भएकाहरूमा ९५% भन्दा बढी इसाईहरू नै थिए l
यस कार्यक्रममा उपस्थित मानिसहरूलाई सुसमाचारिय पुस्तिका “येशू ख्रीष्टको कथा” बाँड्नको लागि म र मेरा केहि साथीहरूले योजना बनायौं l आयोजकले दावी गरेअनुसार त्यस कार्यक्रममा ४० हजार मानिसहरूको उपस्थिति हुनुपर्ने थियो तर मुस्किलले चार हजार भन्दा बढी मानिसहरू थिएनन् l ति मानिसहरूमा पनि ९५% भन्दा बढी इसाईहरू नै थिए l यस कार्यक्रमको निम्ति हामीले एउटा इसाई संस्थासँग अनुरोध गरेर झन्डै एक लाख बराबरको ८ हजार प्रति सुसमचारिय पुस्तिका (येशू ख्रीष्टको कथा ) लिएर गएका थियौं l
दिनको २:३० पछी प्रार्थना नगरिकनै ४ वटा अख्रीष्टियन गीत गएर कार्यक्रमलाई सुरू गरियो l त्यहाँ लाखौं पैसा खर्च गरिएको थियो l यो ख्रीष्टियनको कार्यक्रम भनेर धेरै मानिसहरूलाई थाहासम्म पनि थिएन, कारण आयोजकले झुठो सन्देश प्रचार गरेर अइसाईहरूको उपस्थिति ठुलो देखाएर सुसमाचार सुनाउन चाहन्थ्यो l उपस्थितहरूलाई लोभ्याउनको निम्ति बाईक, टिभी, मोबाईलजस्ता विभिन्न आकर्षक पुरस्कारहरू राखिएको थियो l
दु:खको कुरा त के भयो भने जब हामीले लगेको पुस्तिका केहि भाईबहिनीहरूलाई अनुरोध गरेर मानिसहरूलाई बाँड्न थाल्यौं त्यस कार्यक्रमका हर्ताकर्ता गोबिन्द बुढाथोकी र उनका स्वयमसेवकहरूले हामीलाई बाँड्न दिएनन् l स्वयमसेवकहरू मध्येका एकले हाम्रा दूईजना बहिनीहरूलाई फेरि बाँडेको देखें भने पक्रिन्छु भनेर धम्कि दिएपछि, म अलिकति झोक्किएको रुप लिएर गोबिन्द बुढाथोकीकोमा पुगें र अलिकति चर्को स्वरमै “अघिल्लो दिन नै आयोजकसँग पुस्तिका बाँड्ने अनुमति लिंदासमेत हामीले बाँड्न किन नपाउने ?” भनेर सोधें l तर उहाँले मलाई तिमी को हौ ? कुन संस्थाको हौ ? तिमीलाई पुस्तिका बाँड्ने अधिकार कसले दियो भनेर जवाफ फर्काउनुभयो l प्रेयर टावर नामको प्रार्थना अभियान चलाएर बसेका अगुवाको त्यसप्रकारको अभिव्यक्तिले मलाई अचम्भित पार्यो l
9वास्तबमा बल्ल थाहा भयो कि पैसामा धर्मपरिवर्तन गराउन चाहनेको कमी यहाँ रहेनछ l हामीले त हाम्रो काम देखेर उहाँहरू खुसी हुनुहुन्छ होला भन्ने आशा गरेका थियौं l दु:खको कुरा उहाँहरूले तिमी आफै कार्यक्रम गरेर पुस्तिका बाँड; यो हाम्रो कार्यक्रम हो भन्नुभयो l तेरो प्रभु र मेरो प्रभूको कुरा उठ्यो l तिमीहरूको र हामीहरूको भन्ने कुरा उठ्यो l उहाँले सायद मलाई सानो देखेर होला; मज्जाले झपार्ने कोशिस गर्नुभयो l उहाँको कुरालाई हामीले एउटा कुनामा राखी गेटबाहिर गएर सक्दो पुस्तिका बाँड्यौ l थुप्रै पुस्तिकाहरू बाँकी थियो; हामीले चिनेका पाष्टर तथा विश्वासीहरूलाई मण्डलीको निम्ति भनेर पठायौं l
गाउँघरमा भूकम्पले भत्काएका सयौं मण्डली भवनहरू उठ्न सकेका छैनन्, यता करोडौं खर्चेर सुसमाचारको जुवा खेलाइएको छ l हो; कतिले सुसमाचार सुने पनि होलान्, यो कुरालाई म स्वीकार गर्छु l तर आयोजक मण्डलले सुसमाचारलाई रोक्ने काम पनि गर्यो, त्यसमा भने दु:ख छ l अन्जु पन्त र राजेश पायल राईको फोटो देखाएर ख्रीष्टियन कार्यक्रमलाई अरू नै महोत्सव भनेर मानिसहरूलाई झुक्याउने काम गरियो l इसाई दाजुभाइ बिचको सहकार्यलाई तेरो र मेरो भनियो l आयोजकको चाहना मानिसहरूको आँखा “येशू ख्रीष्टको कथा” मा होइन, तर पुरस्कारको मोटरसाइकलमा परोस् भन्ने रह्यो l
येशूले मानिसहरूलाई बन्चरो लिएर माछा मार्न जाउ भन्नुभएन, तर जाल नै हान्न लगाउनुभयो l परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, हामीलाई ‘हो’ लाई हो र ‘होइन’ लाई होइन भन्न सिकाइएको छ l सेकुलर कन्सर्टको झैं प्रचार गरेर मानिसहरूलाई प्रभुको बारेमा बताउनलाई परमेश्वरको बचन त्यति सस्तो कुरा होइन l नियम कानुन जस्तो सुकै बने तापनि परमेश्वरको बचन प्रचार गर्नलाई निडर हजारौं सेवकहरू रहेको यो देशमा यसप्रकारको झुक्याउने प्रबृत्ति अपनाउनु आवश्यक थिएन l
आयोजकले बाँड्नका निम्ति ल्याएको “आशाको सन्देश” नामक सुसमाचारीय पुस्तिकालाई कार्यक्रमका स्वयंसेवकहरूले चुनावको बेलामा गाडीबाट पार्टी कार्यकर्ताहरूले पर्चा फ्याँकेसरी भीडतर्फ फ्याँकेको देखेर निकै दु:ख लाग्यो l
चुनौतीका साथ् म आयोजकलाई भन्न चाहन्छु कि कसैको सानो ज्यान र कलिलो अनुहारका कारण नहेपियोस् l इसाई आस्थालाई नै बदनाम गराउने खालका झुठो प्रचार नगरियोस् l
मैले प्रतिशोधको भावना पालेको छैन तर पालो सबैको आउँछ l मान्छेहरू र तिनका स्वभाव चिन्न पाएकोमा खुसी लागेको छ l यदि कसैले पैसाको निम्ति इसाई आस्थालाई प्रयोग गर्छ भने, आफ्नो कार्यक्रम सफल बनाउन झुठो अभिव्यक्ति दिनसक्छ भने इसाई समुदायबाट नै त्यस्ता प्रवित्तिको भण्डाफोर सुरु नहोला भन्न सकिन्न l मलाई लाग्छ यो मेरो कमाई नै हो; यसर्थमा कि एउटा क्रिश्चियन कार्यक्रममा प्रभु येशूको जीवनकथा बाँड्दा दुर्व्यवहार भोग्नुपर्यो l
हामीहरूलाई जुन प्रकारको व्यवहार गरियो त्यसको लागि कार्यक्रम आयोजकलाई धेरै धेरै धन्यवाद l तपाईंहरूको मोटरसाइकल अभियान चलिरहोस्, अर्कोपटक गाडीमा पुगोस् वा हेलिकप्टरमा, तर कृपया प्रभु येशूको सुसमाचारलाई जुवाको दाउ नबनाउनुहोस्, परमेश्वरको बचनलाई छेक्ने चेष्टा नगर्नुहोस् l तपाईं डोनरको नुनको सोझो गरिराख्नुस्, हामी ख्रीष्ट येशूको खुनको सोझो गरेर कहिल्यै थाक्ने छैनौं l धन्यवाद!
श्रवन बोम्जन
#shrawanbomjan