आज धेरैजना यस्ता इसाईहरू छन् जसले अरू मानिसहरूलाई आफ्नो घरमा आउन दिंदैनन । तर परमेश्वरले तिनीहरूलाई घर दिनुभयो । परमेश्वरले उनीहरूलाई धेरै कुरा दिनुभयो; तापनि तिनीहरू कन्जुस छन् ।
ख्रीष्टका अनुयायीहरू हो; तपाईंको घर तपाईंको मात्र होइन । तपाईंको घर त्यो ठाउँ हो; जहाँ परमेश्वरले मानिसहरूलाई ल्याउनुहुनेछ र उनीहरूको जीवन परिवर्तन गर्नुहुनेछ । तर तपाईं कन्जुस्याईं गर्दै हुनुहुन्छ । परमेश्वरले तपाईंलाई दिनुभएको कुरालाई लिएर अरूहरूसँग आनन्द मनाउन चाहनुहुन्न; यो कस्तो कन्जुस्याइँ हो ? के तपाईंसँग भएको कुराहरूप्रति घमण्ड गर्ने अधिकार तपाईंलाई छ ? आजको बिहान तपाईंलाई कसले निन्द्राबाट बिउझाउनुभयो ? सो विचार गर्नुहोस् ।
तपाईंसँग भएको कार वा बाइक सिर्फ तपाईंको लागि मात्र होइन । तर हरेक शनिवार अरूहरूलाई पनि त्यसमा चढाएर मण्डली ल्याएको परमेश्वर चाहनुहुन्छ । त्यस साधनबाट समस्यामा परेकाहरूलाई सहायता पुर्याएको परमेश्वर चाहानुहुन्छ l कतै तपाईं पिडितहरूबाट तर्केर भाग्नु त भएको छैन ? परमेश्वरले भन्दै हुनुहुन्छ मैले तिमीलाई दिएको कुराहरूबाट अरूलाई सहयोग पुर्याउ । आफ्नो कारमा आफुमात्र नचढ्नुहोस् । तपाईंको कारमा तपाईं मात्र चढेर संगती आएको परमेश्वर चहानुहुन्न । कसै न कसैलाई लिएर आउनुहोस् । यसैको निम्ति परमेश्वरले तपाईंलाई दिनुभएको हो । के अहिलेको वर्तमान परिस्थितिमा रोडमा गाडी नपाएर अलमलिरहेकाहरूलाई तपाईंले सहायता गर्नुभएको छ ?
तपाईंसँग भएको पैसा तपाईंको होइन । यदि तपाईंले आफ्नो जीवन येशू ख्रीष्टलाई दिनुभएको छ भने; तपाईंसँग भएको सबैकुरा उहाँको हुनेछ । तपाईं आफ्नो सबै पैसा बैंकमा थुपारेर आनान्द लिइरहनुभएको छ । के परमेश्वरले तपाईं र मेरो निम्ति उठाउनुभएको कष्टहरू तपाईं देख्नुहुन्न ? थुप्रै मानिसहरू कष्टमा छन् । तिनीहरूलाई हेरेर आनन्द मनाउने इसाईहरू ख्रीष्टलाई पछ्याउने मानिस हुन सक्दैनन् । तपाईं कसरि धमिराले नष्ट गर्ने धनहरू थुपारेर अर्को भाईको दु:खमा खुसी हुन सक्नुहुन्छ ? तपाईंले संसारमा के लिएर आउनुभएको थियो र ? केहि थिएन । केहि लान पनि सक्नुहुन्न l केको निम्ति कन्जुस्याइँ गर्दै हुनुहुन्छ ? तपाईंसँग त्यस्तो के कुरा छ र जसका कारण घमण्ड गर्नुहुन्छ ?
याद गर्नुहोस् तपाईंलाई हरेक बिहान बिउझाउने परमेश्वर नै हुनुहुन्छ ।
तपाईंसँग थुप्रै पैसा छ र पनि भोकमा परेका भाईहरूलाई दिनुहुन्न भने; तपाईंसँग घर छ र पनि आफ्नो भाईहरूलाई सुत्न दिनुहुन्न भने आफूलाई इसाई नभन्नुहोस् ।
लोभीहरूले परमेश्वरसँग कहिल्यै पनि सहकार्य गर्न सक्दैनन् । यहाँ धेरै मानिस भोकभोकै छन् । भोक खानुमा होइन, परमेश्वरलाई नजान्नुमा छ । परमेश्वरको वचनप्रति मानिसहरू भोकै छन् । जब मानिसहरू शरिरको निम्ति खाँदछन्, उनीहरूलाई फेरी भोक लाग्दछ । तर जब मानिसहरूले परमेश्वरको वचन खान थाल्छन् तब उनीहरूमा एउटा नयाँ जीवन उदय हुनेछ । त्यो जीवनले उनीहरूको पुरानो जीवनलाई जित्नेछ र त्यसले उनीहरूको जीवनमा सुधार ल्याउनेछ ।
अब कसले मानिसहरू सामू परमेश्वरको वचन पुर्याउने ? तपाईंले ? त्यसोभए कन्जुस्याइँ गर्न छोडिदिनुहोस् । परमेश्वरले तपाईंलाई दिनुभएको आशिष बाँडेर आनन्द मनाउन सिक्नुहोस् । तपाईं जान सक्नुहुन्न ? तपाईंसँग समय छैन ? त्यो समस्या होइन । तपाईंले अरूहरूलाई उठाउन सक्नुहुन्छ । कन्जुस्याइँ गर्न छोडिदिनुहोस् । परमेश्वरले पठाउनुभएको मानिसहरूसँग सहकार्य गर्नुहोस्।
#shrawanbomjan
श्रवन बोम्जन