सहायताको नाउँमा अरूलाई दास बनाउने प्रयास नगर्नुस् !

यो कुरालाई हामी सबैले स्वीकार गर्नै पर्छ कि एक्लै भन्दा अरूहरूको सहायताद्वारा धेरै टाढा पुग्न सकिन्छ । आजसम्म कोहिपनी एक्लै भएर सफल गन्तव्यमा पुगेका छैनन् । हामीहरूको जीवनमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरैजनाको साथ, सहयोग रहेको छ । यो कुरा हामीले भुल्नु हुँदैन ।

हामी जे गर्न समर्थ छौँ, त्यहीँ हामी गरौं भन्ने परमेश्वर चाहानुहुन्छ । धेरैले आआफ्नो ठाउँबाट आफुले गर्न सक्ने कामहरू गरेका छन् । र परमेश्वरलाई खुशी बनाउन लागी परेका छन् । यी असल कुराहरू हुन् ।

हो; आजकाल धेरै मानिसहरूसँग सेवकाइको निम्ति फिल्डमा जना समय छैन । तरपनी उनिहरूभित्रका कतिपय मानिसहरू यस्ता छन् जो ख्रीष्टको राज्यको निम्ति लगानी गर्न चाहान्छन् । आफू वेस्त भएपनि आफुले दिनसक्ने केही दिएर, गरेर अरूहरूलाई सेवकाईको दौरानमा सहायता, उत्साह पुर्याउछन् । र सेवकाइमा हिडेकाहरूसँग सहभागी हुन्छन् । यो धेरै असल कुरा हो । यसरी मिलेर नै हामी टाढाटाढा संगै पुग्न सक्छौं । यस्ता सहकार्यमा परमेश्वर अतिनै खुशी हुनुहुन्छ । यसरी मिलेर तपाईं र मैले यी दिनहरूमा धेरै कामहरू गर्न सक्छौं ।

मलाई पनि गएको वर्षतिर केहि दिदिहरूले हामी नभ्याउने भयौं ; विदेशमा छौं तर परमेश्वरको राज्यको पाल तन्काउने काममा सहकार्य गर्न चाहान्छौं भनेर केहि रकम दिनुभएको थियो l जसले गर्दा केहि जिल्लाहरूमा पुग्न मलाई सहायता भएको थियो l यो निस्वार्थपनको सहकार्य र हौशालाले मलाई धेरै कुरा सिक्न मद्दत गर्यो l मेरो लागि यो परमेश्वरबाटको आशिष थियो l

पछिल्लो समय सेवकाई सहकार्यमा केहि व्यक्तिहरूले दास प्रवृत्ति लागु गर्न खोजेको अनुभव मैले गरेको छु ! यसकारण विनालाजस्पद म भन्न सक्छु सबैको सहायाता, सहकार्य उदारचित्तको नहुँदो रहेछ । केही सिमित व्यक्तिहरू यस्तापनि भेटे कि उनिहरू सहायता दिएर कसैलाई दास बनाउन चाहान्छन् । यसले प्रष्ट पार्छ कि आजकाल धेरैजनाको इसाई जीवनको गहिराई पुरिएको छ । जीवनको पानी थुपार्ने गहिराइमा दासतापनको प्रभुत्वले बाँस गरेको छ ।

सहायताको नाउँमा यस्तो डिलिङ्ग हुन्छ; हामीलाई दिइएको सहायाताको कारण परमेश्वरको भन्दा दाताको बढी डर मान्नुपर्छ । सहायता जुटाउनेको सम्प्रदाय, उनीहरूले तय गरेको बाटो, उसको नाउँ, उसले सिकेको सिधाान्त, उसले पक्ष्याउँने सस्कृती शैली हामीले बोक्नुपर्छ । र हरेक आत्मा उपलब्धिको श्रेयको लिष्ट उसलाई पहिला बुझाउनुपर्छ । यो परमेश्वरले चाहेको सहकार्य होइन । हामी कसैको दास भएर होइन परमेश्वरको छोराछोराछोरी भएर बाँचेको परमेश्वर चाहानुहुन्छ ।

मेरो लिष्टमा दासपन दिलाउने भन्दा, आशिष जुटाउँने साथीहरू धेरै छन्। जसले विश्वासको आधारमा मैले नसोचेको, नचिताएको कामहरू गर्ने अवसर मलाई दिनुभएको छ ।

हाम्रो सहयोगीहरूप्रती हामी सकारात्मक नहुने, आज्ञाकारी नहुने भन्ने कुरा पटक्कै हुँदैन । यदि सिक्ने कुरा हो भने, यदि कसैले हामीलाई हाम्रो भलाईको निम्ति मार्गनिर्देशनमा सहायता पुर्याउन चाहनुहुन्छ भने; हामी चुकेको ठाउँहरूबाट निकाल्न चाहानुहुन्छ भने ; यस्ता खालका हस्तक्षेपमा हामी झूक्नु पनि तयार हुनुपर्छ । तर मन मस्तिष्कले परमेश्वरको भन्दा दाताको बढी खोजी गर्ने अभ्यासमा पुर्याउने तितो अभ्यासबाट टाढा नै रहनुहोस् । हो; कुनै न कुनै काममा कसैको निर्देशन चाहिन्छ l कसैको नेतृत्वमा बसेर काम गर्नुपर्छ । तर दास बनेर होइन ।परमेश्वरको छोराछोरी भएर l सहकार्यमा आउने मानिसहरूको मित्र, दाजुभाई भएर ...।

परमेश्वरको नाम जोडेर आफ्नो मान, पेस्टिज र आदार पाउनलाई मुठ्ठी खोल्ने काम नगर्नुहोस् सहायताको नाउँमा अरूलाई दास बनाउने प्रयास नगर्नुस् । त्यो कुनै मूल्यको हुँदैन l

हुनत हाम्रो कतिपय अग्रजहरूले नै पैसाको दास बन्न र पैसा चलाएर अरूलाई दास बनाउन हामीलाई सिकाएर गएका हुन् । मैले दोषी देखाउन खोजेको होइन । अग्रजहरूले चुकाएको एउटा पाटोमा भएको धुलो टकटक्याएको हुँ । साँच्चै भन्नुपर्दा धेरै अग्रजहरूले धेरैलाई गाउँ गाउँमा दास बनाएर राखेका छन् । कतिजना जानिबुझेर पनि दासपन स्वीकार गरेर बसेका छन् । यो आर्थिक दासपन हो । यसले परमेश्वरको महिमा खोसेको छ l

बाईबलले प्रष्टसँग भनेको छ; तिम्रो दाहिने हातले दिएको देब्रे हातले थाहाँ नपाओस् ।हरेकले उदारचित्तले दिओस् । यसकारण दिनेहरूले आफ्नो महिमा खोज्नु भनेको, कसैले परमेश्वरलाई दिने महिमा खोस्नु हो ।

तपाईले गरेको सहायता, सहयोग पाउने मान्छेले यो परमेश्वरबाटको आशिष हो भन्न पाउनुपर्छ । त्यो विश्वास उसलाई दिलाउनुपर्छ । अनिमात्र त्यो सहकार्यले दिने र लिने दुवैको जीवनमा सहकार्यको मुनाफा कमाउनेछ ।त्यहाँ परमेश्वरको आशिष बहनेछ ।

हामी ख्रीष्टको रूपसमान हुनलाई चुनिएका हौँ । याद गर्नुहोस् त् येशू आफैले भन्नुभयो 'अबदेखि तिमीहरू मेरो मित्र हौँ l" एउटा मित्रले अर्को मित्रको सबै कुरा जान्दछ । येशू आफैले मित्र, भाईबहिनी मानेका उहाँका आफ्नाहरूलाई हामीले दास बनाउन मिल्छ ?

इश्वर हुनुभएर पनि हामीलाई मित्र र पुत्रको उपाधि दिन ख्रीष्ट क्रुसमा मारिनुभयो । के हामी चाँही ख्रीष्टकै नाउँमा कसैलाई अलिकति सहयोग गरेर दास मानसिकता बोकाउने ? यो राम्रो होर ?

कतै तपाईले कसैलाई सहायताको नाउँमा दास बनाउने प्रयास त् गर्नुभएको छैन ? परमेश्वरले हरेकलाई पापको दासत्वोबाट छुट्कार दिइसक्नुभएको छ । फेरी कसैलाई दास बनाउन खोज्ने हामी को हौँ ?

यो तपाईको जीवनको मार्ग औल्याउने एउटा घोषणा हो ।
तपाई के गर्दै हुनुहुन्छ सोच्नुहोस् ।

‪#‎shrawanbomjan‬
श्रवन बोम्जन