नेताज्यू, मलाई पनि यो संविधान बेच्न दिनुहोस् l

नेताज्यू, मलाई पनि यो संविधान बेच्न दिनुहोस् l

"कालो दिन पनि मनाईएन, सेतो दिन पनि मनाईएन"

कालोदिन, सेतोदिन मनाउने मान्छेहरूलाई हेरें; दुवैथरी बाईकमा नारा लगाउंदै कुदिराखेका थिए l आफू त परें सडकको पेटी हुँदो कराउंदै पत्रिका बेच्ने उत्पीडनमा परेको गरिबको छोरो l  विहान खायो बेलुका के खाउं भन्ने चिन्ता : यसकारण तिम्रो सेतो दिनको उत्सव मनाउन म आइन l अनि तिम्रो कालो दिन मनाउन पनि आइन l

हैन यो संविधानको खोस्टो कहाँ पाउँछ हँ ? सम्माननीय सभाध्यक्ष ज्यु; अलिक सस्तो गरेर होससेल प्राइसमा मिलाई दिनुपर्यो l जलाउनलाई होइन, त्यसलाई पढेर नामी नेपाली बन्नलाई पनि होइन l म एक हकर हुँ, बेच्नेछु त्यसलाई l एक युगमा एकपटक आउने संविधानलाई बेच्न पाएँ भने, महिनौंसम्म तिर्न नसकेको कोठाभाडा तिर्न सक्छु कि भन्ने लागिराखेको छ l यो ऐतिहासिक शुभ घडीलाई साक्षी राखेर अर्को बर्ष घरबेटीले नयाँ तला थप्छु भन्या छन् !

सभाध्यक्ष ज्यू ! मलाई संविधानको खोस्टा सस्तोमा मिलाई दिनुहोस् l म कराई, कराई त्यसलाई बेच्नेछु l "लौ आयो ताजा संबिधान.... प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरूमा सिट खालि l आरक्षणसिट हेरेर आफ्नो हक  सुरक्षित गर्नुहोस् l"

यो संविधानको खोस्टोलाई बेचेर, यो जिन्दगीको पाइडललाई द्रुतगतिमा कुदाउने छु l मसंगैका अधिकांस हकरहरु पलायन भइसके l तिनीहरूलाई भेट्न पत्रिका बेचेर पुगेन l सायद यो संविधानको खास्टोलाई बेच्न पाएँ भने; राम्रो कमाई हुन्थ्यो कि ? मलाई उत्पिडनमा लाद्नेहरूलाई राम्रो झापड हुन्थ्यो l

यो काम गरेर सरकारी जागिरमा जसरि संचयकोष पाइदैन । सरकारीस्तरमा पुग्न मेरो छालाको बर्ण अनि आँखा र नाकको आकारप्रकारले नै मलाई असक्षम बनाउंछ l पत्रिका बेचेबापत संस्थाहरुले केही सहयोग गर्दैनन् ।' हकर बनेरै जीवनको उत्तरार्ध टेकिरहेको छु l यसकारण सम्माननीय सभाध्यक्ष महादोय मलाई यो संविधानको खोस्टो सस्तोमा मिलाई दिनुपर्यो l

म पनि नेपाली हुँ l तपाईंहरूको जत्तिकै हक मेरोपनि बन्छ भने, मपनि एकपटक यो संविधानलाई बेचेर हकर जीवनबाट उन्मुक्त हुन चाहन्छु l तपाईंहरूको त नयाँ आउने सातपुस्तालाई ऐश आरामको सुनिश्चितता भईसक्यो l मचाहिँ तपाईहरूको नाम र तस्विर भएको पत्रिकाको हकरमात्रै कहिलेसम्म बनिराख्ने ?

म कसैलाई भन्दिन हजुर, मलाई पनि यो संविधान बेच्न दिनुहोस् l

#shrawanbomjan 
श्रवन बोम्जन