बैसाख
१२ को महाभूकम्प र त्यसपछि नेपाली मण्डलीले गरेका उद्धार तथा राहत वितरणका
सवालमा ब्याप्तिष्ट चर्चका पास्टर तथा सामाजिक कार्यकर्ता दिपकराज
(जोनाथन) राईसँग श्रवन बोम्जनले गर्नुभएको कुराकानी:
१. जयमसिह पास्टर ज्यू, नेपाली क्रिश्चियन्स डट कममा यहाँलाईस्वागत छ ।
यहाँलाई पनि धेरै धन्यवाद !
२. आजकाल के मा ब्यस्त हुनुहुन्छ ?
ब्यस्त
छु त किन भनौं होला र । आफ्नो सेवाकाइ संचालन गर्नुका साथै अहिले हाम्रो
संस्थाले राहत तथा सहयोगको कामहरू गरिराखेको कारण सकेको र जानेको जति काममा
सहभागी हुँदैछु । ३. बैसाख १२ को भूकम्पमा तपाईं कहाँ, के गर्दै हुनुहुन्थ्यो ?
म सधैं आराधना सेवामा जाने गरेको मण्डलीमा प्रभुको दासबाट बचन सुनिरहेको थिएँ ।
४. नेपाल ब्याप्टिष्ट काउन्सिलको बारेमा छोटो परिचय दिनुहोस् न ।
नेपाल
बप्तिस मण्डली परिषद सन् १९९२ मा स्थापना भएको बप्तिस मण्डलीहरुको छाता
संस्था हो । यो परिषद अन्तर्गत १६८ वटा मण्डलीहरु र २५० भन्दा बढि झुण्ड
संगतिहरु छन् । यसअन्तर्गत ४ वटा क्षेत्रिय संघहरु र ६ वटा सेवाकाई
विभागहरु छन् । जसमा बाइबल कलेज र एम.सि.डि.एस. परियोजना पनि पर्दछ ।
एम.सि.डि.एसले देशका विभिन्न ११ जिल्लामा सामुदायिक विकास कार्यक्रमहरु
गरिसकेको छ ।
५. नेपाल ब्याप्टिष्ट काउन्सिलमा तपाईंको भूमिका के छ ?
नेपाल बप्तिस मण्डली परिषदको सामाजिक विभाग एम.सि.डि.एस. भन्ने संस्थामा म निर्देशकको रुपमा कार्यरत छु ।
६. तपाईंहरूले ठुलो परिमाणमा राहत वितरण गर्नुभएको सुन्नमा आएको छ, के यो सत्य हो ?
यसलाई
ठुलो भनिहाल्नुपर्छ जस्तो मलाई लाग्दैन । जति हाम्रो क्षमताले सकेका थियौ
त्यतिनै हामीले वितरण गरेका हौं । सहयोगी हातहरु हामीहरुसँग काम गरिहनुभएको
छ उहाँहरुलाई धन्यबाद दिन चाहान्छु ।
६. राहत वितरणको काम कहिले देखि सुरु गर्नुभयो? कुन कुन ठाउँमा पुग्नुभयो ?
भुकम्प
गएको दोस्रो दिनदेखि नै हामीले वितरणको लागि काम सुरु गरेका हौं ।
कार्यालय व्यवस्थापन र प्रशासकिय कामको व्यस्तताको कारण म खासै बाहिरको
जिल्लाहरुमा जान पाइन । तर हाम्रो साना साना आवश्यक सहयोगहरु ललितपुर,
काठमाडौं, धादिङ, गोरखा, मकवानपुर, लमजुङ, दोलखा, र सिन्धुपाल्चोकसम्म पुगे
र मण्डलीहरुको अनुरोधमा अन्य जिल्लाहरुमा पनि पुगेका छन् ।
७. काठमाडौं र बाहिरि जिल्लाका पिडितहरूको अवस्थामा कुनै अन्तर देख्नुभयो ?
दुर्गम
स्थानहरुमा राहतका सामग्रीहरु पुग्न नसकेकै अवस्था छ । म ललितपुरको
दक्षिणी गाविसहरुमा जाँदा गाउलेहरुले आलोपालो गरेर आफ्ना घरहरु निर्माण
गरिरहेका थिए । पुनर्स्थापनाका लागि उनीहरुको त्यो जोस देखेर मलाई उल्टै
साहस मिलेर आयो । पहिलाकै अवस्थामा फर्किन उनीहरु जुर्मुराएका थिए ।
उनीहरुका यस स्थानिय जोस, ज्ञान र सीपलाई नै हामीले थप सहयोग गरेर
पुनर्निर्माण गर्न सक्छौं ।
८. तपाईंहरूको नजरमा सबैभन्दा दयनिय अवस्थामा रहेका केहि ठाउँहरू कुन कुन हुन् ?
दयनिय अवस्थाहरुलाई तुलना गर्न मलाई असजिलो लाग्छ । सबैका आवश्यकता उस्तै छन् ।
९. कति परिमाणमा राहत वितरण गर्नुभयो ? दाल, चामल, चिउरा, त्रिपाल, केहि विवरण छ ?
हामी
सरकार, सहयोगीहरु, मण्डली र परमेश्वरप्रति जवाफदेहि हुनु परेको कारण
हामीले वितरण गरेका सामग्रीहरु तथा खर्चिएका सबै रकमको अभिलेख राखिएको छ ।
संख्यामा यति उति बाँडेका छौ भनेर प्रचार गर्नु मलाई त्यति जरुरी लाग्दैन,
साथै हामीले सामाजिक संजालहरुमा पनि लेखेका छैनौं । हामीलाई सयौं
स्वयंसेवकहरुले राहत वितरणमा सहायता गर्नुभयो तर सबै जनालाई तस्बिरहरु
हालेर यहाँ र उहाँ राहत वितरण गरियो भनेर पोस्ट नगर्न पनि सुझाव दिएका
थियौं । यसको अर्थ मैले अरु कसै प्रति पुर्वाग्रही विचार राखेको होईन,
अरुहरूले गर्नुभएको प्रचारप्रसारले पनि राम्रै काम गरेको छ । उहाँहरुले
गर्नुभयो हामीले पनि यो असल काम गर्नुपर्छ भनि मानिसहरु सहयोग गर्न प्रेरित
भएको पनि मैले पाएको छु ।
१०. राहत वितरणको निम्ति कति जति रकम खर्चनुभयो ?
सामग्री वितरणमा एक करोड रकम कट्छ तर हामीले अन्य साझेदारी संस्थाहरुसँग मिलेर पनि धेरै सामग्रीहरु प्राप्त गरेर वितरण गरेका छौ ।
११. यति ठुलो रकमको ब्यबस्थापन कसरी गर्नुभयो ?
हामीलाई
यी सहयोगहरु मण्डलीहरु र इसाई संस्थाहरुबाटनै जुटेका हुन् । यसका अलावा
हामीले सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पनि सहयोग पायौं । यी सबैको
व्यवस्थापन् हाम्रो समुहले जिम्मेवारी बाँडफाँड गरेर गरिरहेका छ ।
१२. राहत वितरणमा नेपाल ब्याप्टिष्ट काउन्सिल अन्तर्गतका बाहेक अरू चर्चहरूको भूमिका कस्तोपाउनुभयो ?
नेपाली
मण्डलीहरुलाई आफ्नो पर्खाल बाहिर आएर येशूको ति निको पार्ने हातहरु
क्षतिग्रस्त स्थानहरुसम्म पुर्याउने र सहयोग तथा सान्त्वना दिने यो उत्तम
अवसर हो । समुदायको रुपान्तरणमा मण्डलीको उत्तम भूमिका हुन्छ । सकेको जति
सामाजिक जिम्मेवारि र प्रभुको महान आज्ञा पुरा गर्न लागि परेकै देखेको छु ।
१३. भूकम्प पिडितलाई राहत बाड्न जाँदा बाइबल पनि बाँडियो, धर्मपरिवर्तन गर्नेहरूलाई पक्कि घरबनाइदिने अफर पनि आयो भन्ने सुनिन्छ नि ?
खै;
मैले त्यस आरोपको ठोस आधार भेटेको छैन । मानिसमा छनौट गर्ने शक्ति र
अधिकार छ । बाइबल र पर्चा लिनु नलिनु उनीहरुको अधिकार हो र बोक्ने र
नबोक्ने पनि मानिसको आफ्नै अधिकारको कुरा हो । सबै धर्मलाई समान हक र
अधिकार राज्यले नदिएको अवस्थामा यो आरोप प्रत्यरोप चलि नै रहन्छ । सामाजिक
संजाल र पत्रपत्रिकाहरुमा इसाईहरुलाई मात्र हैन प्रणामीहरुलाई पनि प्रणामी
नभए घर निर्माण सहयोगमा सहायता नगर्ने भनि आरोप लगाए भनेर लेखिएको थियो ।
१४. यदि कसैले बाइबल बाँडेकै रहेछ भने, यो परिस्थितिमा त्यो ठिकै गरेको हो कि गलत ?
लिने
दिने उनीहरुको स्वेच्छाको कुरा हो । आवश्यकतामा परेका मानिसहरु र
विरामीहरुलाई येशूले पहिला निको पार्नुभएको हामीले बाइबलमा देखेका छौं । यो
उदाहरण बुझ्नेको लागि काफि हुन्छ । सेवा तथा सहयोगको काम गर्दा हाम्रो
साँचो हृदयबाट गर्नुपर्दछ त्यहाँ स्वार्थ हुनुहुँदैन ।
१६. दु:खको यो समयमा नेपाली इसाई मण्डली तथा संघसंस्थाहरूले गरेको कामहरूको नेपाल सरकारलेउचित मूल्यांकन गर्छ जस्तो लाग्छ ?
उचित
मूल्यांकन गर्ने समय पनि आउनुपर्दछ । हाम्रो देश र सरकारको निम्ति हाम्रो
प्रार्थना निरन्तर रहनेछ । सरकारी विभागहरुले इसाई संघसंस्थाहरुलाई राहत
तथा विकासका कार्यहरु संचालन गर्नमा सहायता गरेको पनि छ । मुख्य कुरा त
हाम्रो मुल्यांकन हुनुपर्दछ भनेर हामीले काम गरको होईन न त धर्मपरिवर्तन
गर्न नै । इसाईहरुको धर्मग्रन्थमा छिमेकीलाई आफैलाई जस्तै प्रेम गर भनि
दिईएको आज्ञा प्रति आज्ञाकारी हुन यि सबै कामहरु गरिएका हुन ।
१७. बैसाख १२ गतेको विनाशकारी भूकम्पपछिको नेपालको अवस्थालाई कसरि विश्लेषण गर्नुभएको छ?
सबै
सकियो तहस नहस भयो भनेर आत्तिरहनु पर्दैन । हामी नयाँ बलियो संरचना सहित
खडा हुनेछौं । प्रकोप तथा विपत्तिमा कसरी बाँच्ने भनेर अबको पुस्ताले
होसियारी अपनाउनेछ । नयाँ ज्ञान, सिप र सतर्कताको सुरुवात हुनेछ ।
१८. अब आउने दिनको योजना के छ ?
नेपाल
बप्तिस मण्डली परिषदको सामाजिक विभाग एम.सि.डि.एस. अन्र्तगतको योजना भने
दिर्घकालिन रुपमा सामूदायिक निर्माणको कार्यक्रम संचालन गर्ने रहेको छ ।
२१. यहाँहरूलाई जानकारी नै होला, अहिले नेपालमा सयौंको संख्यामा चर्च भवनहरू पनि भत्किएकाछन्, तिनका पुनर्निर्माणमा यहाँहरूको के योजना छ ?
नेपाल
बप्तिस मण्डली परिषद अन्तर्गतका पनि आठ ओटा मण्डलीहरु भत्किएका छन् । अन्य
मित्र मण्डलीहरुको भवन भत्कदा हामीले पाल मात्रै भए पनि दिएर आराधना संगति
गर्नको लागि सहायता गरेका छौं । मण्डलीहरुलाई सहायता फरक फरक तरिकाले गर्न
सकिन्छ तर अब मण्डलीहरु आफैले आफ्नो मण्डली भवन निर्माण गर्न लागि पर्नेछन
। स्थानीय स्रोत साधन प्रयोग गरि प्रकोप निरोधी कसरी बनाउन सकिन्छ त्यसलाई
भने ध्यान दिन जरुरी छ ।
२२. सरकारले भत्किएका चर्च भवनहरूलाई पुनर्निर्माणमा सघाउँछ जस्तो लाग्छ कि लाग्दैन ?
यस कार्यमा चासो पटक्कै देखिन्न । प्रार्थना गरौ ता कि हाम्रो सरकारले सबै धर्मलाई समान व्यवहार गरोस् ।
२३. सरकारले सहयोग नगरेको अवस्थामा सबै चर्चहरू पुनर्निर्माण हुन सक्दछन् ?
निर्माण
पक्का हुनेछ । यो समय इमान्दार भएर पुनर्निर्माणमा लाग्ने समय हो नी ।
हामीले चाहे र तत्पर रहे हाम्रो परमेश्वर आश्चर्यकाम गर्ने परमेश्वर
हुनुहुन्छ ।
२४. अन्त्यमा: सिङ्गो नेपाली इसाईहरूलाई भूकम्पमा परेकाहरूको निम्ति जुट्न केहि भन्नुहुन्छ कि ?
यस
विपतको समयमा मानिसहरुलाई सहयोग गर्न मण्डलीहरु निकै लागि परे त्यो जोस,
तत्परता र प्रार्थनाले निरन्तरता पाओस् । अझ कसरी सिमित स्रोतहरुलाई उत्तम
प्रयोग गर्न सकिन्छ त्यसको विश्लेषण गरेर हामी सबै पुनर्निमाणमा लागौं ।
