मैले केहि वर्ष अगाडी देखि नै पाष्टरहरूलाई जग्गा दलाल र मान्छे विदेश पठाउने एजेन्टको काम गर्नु राम्रो हुँदैन भनेर भन्दै आएको छु ।
केहि वर्ष अगाडी काठमाडौं बुढानिलकण्ठमा पाष्टरिय सेवाकाय गर्दै आएका एकजना पास्टर चर्च नै बन्द गरेर भारत भागेका थिए । त्यस जग्गा दलाली पाष्टरको कारण उनको परिवारले आफ्नो घर समेत् छोड्नु परेको थियो ।
अस्तिको दिनमा आएको समाचारअनुसार भक्तपुरस्थित पास्टरिय सेवाकाई गर्दै आएका प्रताप भट्टले पनि चर्चको नाउँमा विदेश पठाई दिन्छु भनेर लाखौं ठगि गरेको कुरा बाहिर आएको छ । उनि अहिले जेलमा छन् । उनलाई म राम्रोसँग चिन्छु ।
यस्तै काम गर्ने केहि दर्जनभन्दा बढी पास्टरहरूलाई म राम्रोसँग चिन्दछु । पैसाको मुख ताकेर आफ्नो जिम्मेवारीप्रति संवेदनशील नहुनाले, यस्ताहरूको कारण बेला बेलामा इसाई समुदायको बदनाम हुने गरेको छ ।
अहिले हाम्रो इसाई नेतृत्वमा पनि गैह्रकानुनि रुपमा जग्गा दलाली तथा विदेशमा मान्छे सप्लाइ गर्ने पाष्टरहरू टन्नै छन् । उनीहरूले इसाई संघसंस्था तथा संगठनहरू खोलेर लागि परेका छन् । राम्रा छवी भएका, छविलालहरू इसाई संगठनहरूमा मुस्किलले भेटिएलान् ।
घोठालो भएपछी कस्ता काममा लाग्दा म र मेरो मण्डलीको परिचयमा खोट नपर्ला भन्ने कुरालाई गम्भीरतापूर्वक नलिएर पैसाकै पछी यिनीहरूको उद्देश्य लुकेकले गर्दा, आज यिनीहरूको फटाह कामको नतिजामा हामी पनि मुछिनु परेको छ । यो हाम्रो समुदायको लागि लज्जित पार्ने पक्ष हो ।
मैले उनीहरूको व्यावसायमाथि प्रहार गर्न खोजेको होईन । तर उनीहरूले पाएको अभिषेकको आदर र त्यसप्रति उनीहरूमा डर रहँदैन भने, यिनीहरूले नाटक गरेका हुन् ।
मसँग धेरै प्रमाणहरू छन् ।कसले कसरि नाजायज रूपमा सम्पत्ति जोड्दै छ । इसाई परिवारभित्रको सुन्दरतामा ककसको कारण कुरुपता आएको छ । यिनीहरूले हामीलाई अरूको अगाडी आलोचित हुने कलाकार बनाएको छ ।जबसम्म यस्ता ढोंगी, नक्कली सेवकहरूमा सुधार आउँदैन, तबसम्म हामीलाई बलियो हुने शक्ति मिल्दैन ।
अहिले हामी इसाईहरूको बिरुद्धमा उभिने कुटनीतिक धारहरूले कुन पाष्टर र कुन NGO लाई कसरि घाँटीमा पक्रिन खोज्दै छन् भन्ने कुरा प्रष्ट देखिसकेको छ । यदि यिनीहरू आफै सुध्रिदैन भने यिनीहरूको बचाउमा कुनै ख्रीष्टियानहरू उठ्ने छैनन् । यो अदेखा तितो सत्य हो । भलै पैसावालहरूलाई यो दन्त्यकथा लाग्ला । तर जनयुद्ध हाँकेका प्रचण्डदेखि झलनाथ खनाल र वर्तमान प्रधानमन्त्री शुशील कोइरालाले समेत् झापड खाएको देश हो यो । ज्ञानेन्द्रले श्रीपेच त्याग्न बाध्य भएको देश हो यो ।शक्तिसम्पन्न चिरन्जीवी वाग्ले, जेपी गुप्ता अनि खुमबहादुर खड्काहरूले भ्रष्टाचार आरोपमा जेलको हावा चाखेको देश हो यो ।
पैसाको खेति गर्ने नक्कली इसाईहरूको कुरुपता मैले खिचेर राखेको छु । न्यायकर्ता बनेर होइन, सानोतिनो लेख लेख्ने हैसियतले । हामीले नै हाम्रो मानिसहरूको बिरुद्ध पोल खोल्नुपर्ने दिन नआओस् ।
तपाईको प्रतिकृया सहित, कपि नगरी यो स्ट्याटस एक सेयर गरिदिए आभारी हुनेथिएँ ।
--
उद्धारको दिन छ आज नै मित्र समयलाई नपर्ख,
अनिश्चित चोलाको भरोसा के छ अहिले नै ढल्नसक्छ ।
श्रवन बोम्जन
#shrawanbomjan
