ख्रीष्टियन हुँदैमा मृत्यु सुखद हुँदैन ।

ख्रीष्टलाई जीवनमा स्वीकार गरेपछी मृत्यु पनि सुखदायी नै हुन्छ भनेर बुझ्नु गलत हो । बैशाख १२ गतेको महाभुकम्पमा परि हजारौं नेपालीहरूले अप्रिय ढंगमा आफ्नो जीवनलाई गुमाए । यहि जीवन गुमाउने क्रममा चर्च भवनहरू भत्केर सयौं इसाहरू पनि प्रभुमा सुते । ठुलो मात्रामा भएको जनधनको क्षतिले देश अझै शोकमा नै छ ।

भुकम्पमा मर्नेहरू त मरे तर बाँचेकाहरूले चियापसलहुँदो कुरा गरेको सुन्न पाइन्छ कि देशमा ख्रीष्टियनहरू भएकाले भुकम्प आयो रे, कसैले सर्प मारेर आयो रे, श्वरले श्राप दिएर आयो रे, यस्तै अनेक कुराहरू गरेर मानिसहरूले प्राकृतिक विपत्तिको कारणलाई पनि तमासा बनाईरहेका छन्

अइसाईहरूको निम्ति यो तर्कमा उठ्नु स्वभाविकै होला तर हामी भने यस्ता मनगडन्ते कुराहरूलाई अचेतनशिल विवेकको पराकाष्ठा मात्र ठानौं ।

आफ्नो परिवार गुमाएका कतिपय इसाईहरूमा नै परमेश्वरप्रति, यदि तपाईं हामीसँग हुनुहुन्थ्यो भने किन यस्तो हुन दिनुभयो भन्ने प्रश्न चिन्ह उठेको छ । हुन पनि हो, सयौं चर्चका संरचनाहरू नष्ट भयो, गिर्जाघर भित्रनै सयौंले भौतिक जीवनलाई बिट मारे । परमेश्वरको सेवामा बस्नेहरूले अकल्पनीय मृत्युमा परेर यो जगतलाई त्याग्दा हामी बिचलित हुनु स्वभाविक नै हो । तर हामी ईश्वरनिन्दा र बिश्वासको लहरा काट्न लागि पर्नु हाम्रो निम्ति मुर्खता ठहरिन्छ भन्ने कुरालाई बुझेर परमेश्वरको इच्छामा प्रश्न नगरी, प्रार्थनामा घुँडा टेक्नु लाभदायक हुनेछ ।

केही दिन अगाडि भुकम्पमापरि आफ्नी श्रीमती  २ वर्षकि छोरी र भाईलाई गुमाएका एकजना प्रभुको जनलाई भेट्न जाँदा उहाँले भन्नुभएको थियो: यो ठुलो विपत्तिमा मैले मेरो परिवार गुमाउनुपर्यो र आलो घाउमा नुन छर्केर मलाई मानसिक यातना दिन आज आफन्तहरू मेरो आस्थाबिरुद्ध उठेका छन् । उनीहरूलाई दिने चित्तबुझ्दो जवाफ मसँग केही बाँकी छैन । तेरा परमेश्वरले तेरो श्रीमती, छोरी र भाईलाई बचाउन सकेन । तैंले कुलदेवता छोडेर नै यस्तो भाको हो भनेर मलाई सान्त्वनाको साटो झन् मानसिक द्वन्द्वमा लडाइरहेको छ ।

उहाँको यो कुराहरू सुनेर मलाई पनि  धेरै  दु:ख लाग्यो । हामीले केही समय उहालाई सम्झायौं । तर पनि उहाँको ठाँउमा म, तपाईं जो कोहि भएतापनि सम्हालिन कति गाह्रो पर्थ्यो होला, कल्पना बाहिरको कुरा हो । तर सम्हालिनु त पर्छ नै । अब यो टुक्रेको जीवनको धारलाई प्रयोग गरेर अरूहरूको निम्ति उत्साह, आशिषको कारण बन्नुपर्छ भनेर प्रार्थनासहित त्यो दाजुबाट हामी छुट्टियौं ।

मलाई सुरूसुरूमा अय्युवको पुस्तक पढ्दा किन यो पुस्तकलाई बाइबलमा गाभेको होला भन्ने लाग्थ्यो । आज आएर यो महाभुकम्पले केही बुझ्ने अवशर दिएको छ ।

अय्युव एक असल, परमेश्वरको डरभयमा जिउने व्यक्ति थि । तर उसको जीवनमा परमेश्वरले ठूलो विपत्ति आउन दिनुभयो । जसको कारण उसले आफ्नो छोराछोरी, र सबै सम्पत्ति गुमाउनुपर्यो । अय्युवको जीवनमा आएको विपत्तिलाई हेर्छौं भने हाम्रो साधारण, सानो बुझाइमा यो बुझ्नै नसकिने एउटा महाविपत्ति थियो । तर अय्युवले सबै परिस्थितिहरू झेलेर पनि आफ्नो विश्वास जोगाईराखे । धेरैजना उसका मित्रहरूले तिम्रो परमेश्वरलाई सराप्नु भनेर उक्साएका थिए तर अय्युवले कहिल्यै परमेश्वरलाई निन्दा गरेनन् । अन्त्यमा अय्युव पहिला भन्दा बढी अशिषित मानिस भए । किनकि उसले सबै परिस्थितिहरूमा परमेश्वरलाई धन्यवाद दिए ।  आय्युब पनि तपाईं र मजस्तै साधारण मानिस थिए । अय्युबको जीवनमा  परमेश्वरले त्यो बिपत्तिहरू आउन नदिन सक्नुहुन्थ्यो, र पनि परमेश्वरले अय्युबलाई त्यो कष्टभित्र भएर जान दिनुभयो ।

आज भूकम्पमा परेर आफ्नो प्रियहरू गुमाएकाहरूले पनि अय्युवको जीवनलाई हेरेर परमेश्वरमा आफ्नो सम्बन्ध अझ मजबुत बनाउनुहुन  म अनुरोध गर्दछु । अय्युवको पुस्तक बाइबलमा हुनुले आज यो वर्तमान चुनौतीलाई लिएर परमेश्वरमा जिउन सिकाउँछ । यस्ता घटनाहरू हाम्रो जीवनमा आउने रहेछन यसैले अय्युव जस्ता प्रभुको जनलाई बाइबलमा समेटेर हाम्रो जीवनको प्रेरणाको निम्ति परमेश्वरको उदेश्य, प्रेम दर्शाएको रहेछ ।

यदि यो घडीमा पनि आफ्नो विश्वासलाई बचाईराख्न सक्छ भने यो महाभूकम्पमा परेर आफ्नो परिवार गुमाउने इसाईहरू दोस्रो अय्युबहरू हुन् । हो, अय्युबलाई जस्तै तपाईंलाई पनि मानिसहरूले आएर भन्नेछन्: तेरो परमेश्वरलाई सराप्, तेरो जीवनमा परमेश्वरको उपस्थिति छैन, यो इसाई धर्म छोडीदे, यस्ता अनेक कुराहरू लिएर मानिसहरूले तपाईंलाई शैतानको हातमा पुर्याउन अन्तरात्माको युद्धमा  पुर्याउनेछ । तर प्रियहरू साहास गर्नुहोस् । उठ्नुहोस् । यो प्राकृतिक प्रकोपले कुनै धर्मविशेष व्यक्तिलाई छानेको होइन नत धर्मी र पापीलाई नै छान्यो

के येशु ख्रीष्ट भन्दा अगाडी पश्चाताप गर भनेर कराउंदै आउने यूहन्नासँग परमेश्वर हुनुहुन्नथ्यो र ? यूहन्ना जो ख्रीष्ट येशूको सहयात्री भएर आएका थिए, के उसको शिर छेदन गरेर मृत्यू हुँदा परमेश्वर खुशी हुनुहुन्थ्यो होला ? यूहन्ना पापी भएकैले त्यसरी मर्नुपरेको होत ? होइन ।

के ISIS  द्वारा मारिएका इसाईहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्न र ? होइन प्रियहरू, परमेश्वरले प्रेम गर्नुहुन्छ । उहाँको महान योजना हामी बुझ्दैनौं  । उहाँको कानुन र योजना हाम्रो बुझाई, ज्ञानभन्दा धेरै फरक छ । परमेश्वरको योजनामाथि हामी कोहि भाग्न सक्दैनौं । 

प्रियहरू, आफ्नो टुटेको हृदयलाई बलियो गर्नुहोस् ।  तपाईंको वरीपरी हेर्नुहोस् धेरै यस्ता मानिसहरू छन् जसले आफ्नो परिवार गुमाए र फेरी आफ्नो परिवारलाई भेट्ने आशा उनीहरूसँग छैन । तर तपाईसँग त्यो आशा छ । निश्चय नै हामी हाम्रा प्रियहरूलाई भेट्नेछौं ।

तपाईंको जीवन अब यहाँ रोकिन र निराशामा बाँच्नको लागि होइन तर अब आशिषको कारण बन्न चल्नुपर्छ । त्यो स्वर्गीय आनन्दको स्पर्शलाई जीवनमा अनुभव गरेर उठ्नुहोस् ।

हामी इसाई हुँदैमा हाम्रो मृत्यु सुखद् हुँदैन ।

तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्‌, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।


तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। मत्ती २४:६-८


श्रवन बोम्जन 
#shrawanbomjan