मेरो कथा

चार छोरीकी आमा भएकोले मेरी आमालाइ बुवाले जहिले पनि रक्सि पिएर घर आएर पिट्ने, त कहिले आमाको लुगाहरु सबै बाहिर फ्याँकेर ‘तँ निस्की जा’ भनेर चुल्ठोमा समात्दै गाउँलेको अगाडी घिसारेर बारीदेखि तल लगेर छोड्नु हुन्थ्यो । गाउँलेहरु मेरा आमा-बुवाको रमिता हेर्न जम्मा हुन्थे । सबैको सामुन्ने नै बुवाले आमालाई रक्सीको नशामा धेरै पिट्नुहुन्थ्यो । म घरकी ठुली छोरी भएकीले आमालाई बचाउन अगाडी सर्थे, तब मलाइ पनि बुवाले ‘तँ पहिलो सन्तान नै अलक्षिना जन्मेकोले गर्दा आजसम्म मेरो पिण्ड थाम्ने छोरो नभएको हो’ भन्दै ठुलठुलो स्वरमा कराउँदै भुत्लाउनु हुन्थ्यो । तर पनि म आमाको खातिर पिटिन तयार हुन्थें किनकि आमाको आँखाबाट बगेको आँसुले र उहाँले सहनुपर्ने हरेक दिनको गाली, अपशब्द र पिटाइले आमालाई भन्दा बढी मलाइ पिरोल्थ्यो, किनकि म छोरी भएर जन्मेकोमा मेरो आमालाई यो व्यवहार गरिन्थ्यो र म यसमा आफूलाई दोषी ठान्थें |

आमाले छोरोको आशमा लगातार चार छोरीहरु जन्माई सकेकोले शारीरिक रुपमा एकदम कमजोर हुनुहुन्थ्यो। एकदिन आमा कडा बिरामीले थला पर्नुभयो, उहाँको अवस्था झन्झन् नाजुक हुँदै थियो | मैले डराईडराई बुवालाई भनें-‘बुवा ! आमालाई अस्पताल लानुहोस् न, आमा उठ्न र हिँड्न नसक्ने अबस्थामा हुनुहुन्छ’ तर बुवाले उल्टै ‘त्यो बोक्सी ! मरेकै जाती, म त्यसलाई अस्पताल लान्न, तैंले नै हेर् तेरो आमालाई’ भनेर एक हजार रुपैया आँगनमा फ्याँकेर जानुभयो । उहाँको यो निर्दयी व्यवहारले गर्दा म एकदम रोएँ । म आमालाई पक्रेर रुँदै थिएँ, उहाँले बिस्तारै आँखा खोल्दै मलाई भन्नुभयो-‘छोरी ! मेरो कारणले त किन यसरी बिलाप गर्छेस ? मलाई बाँच्न मन छैन । म मरे नै तिमीहरुलाई सुख हुन्छ, मलाइ यतिकै मर्न दे |’.मैले आमाको मुखमा औंला राख्दै भनें-‘आमा ! त्यसो नभन्नुस् । तपाइँलाइ केही हुन्न, म बाचुन्जेल कठिनाइ र दु:ख सहेर भएपनि तपाइको ख्याल राख्नेछु |’

अनि तीन बहिनीलाई पनि सँगै लिएर मैले आमालाई सकी-नसकी डोर्याउदै नजिकैको अस्पतालमा लगें | त्यहाँ लगेर जचाउँदा थाहा भयो लगातार बच्चा जन्माएकोले उहाँको पाठेघरमा समस्या भएको रहेछ । अनि डाक्टरले त्यसदिनको उपचारपछि चाहेर पनि अब कहिल्यै आमाबाट बच्चा नहुने कुरा बताउनुभयो किनकि उहाँको पाठेघर बिग्रिसकेको रहेछ । त्यसपछि डाक्टरले केही औषधि दिनुभयो र बिस्तारै उहाँको स्वास्थ्यमा सुधार हुँदै आयो ।    

मेरा तीन बहिनीहरु क्रमश: ८,६ र ४ वर्षका थिए । म चाहिं १४ बर्षकी थिएँ । त्यतिखेर म नजिकैको सरकारी स्कुलमा ७ कक्षामा पढ्थें । म सधैं स्कुल सक्ने बित्तिकै घरमा आमालाई काम सघाउन साथीहरुसँग नखेली आउँथें ।

आमा बिरामीबाट सन्चो भएर हिँड्न सक्ने अनि यताउति काम पनि गर्नसक्ने भइसक्नुभएको थियो । अनि फेरि छोरोको बहानामा बुवाले रक्सि खाएर आमासँग झगडा गर्न थाल्नुभयो । यसपाली मैले बुवालाई भनें-‘बुवा ! अब आमालाई कराएर, कुटेर केही हुनेवाला छैन, सुन्नुस् अब त आमाले चाहेर पनि अर्को सन्तान जन्माउन सक्नुहुन्न, डाक्टरले भनेको अब आमाबाट सन्तानको आशा नगरे हुन्छ |’ मेरो कुरा सुनेर बुवा ‘कस्ती अलक्षिना स्वास्नी पाएछु’ भन्दै कराउँदै बाहिर लाग्नुभयो । 

सधैंझैँ अशान्तिमा मेरो परिवार गुज्रिरहेको थियो । यसरी नै दिनहरु बित्दै जाने क्रममा एकदिनको कुरा हो, म स्कुल सकेर घरतिर आउँदै थिएँ, घरनजिकै आइपुग्दा मैले घरबाट ठुलठुलो आवाजमा कराईरहेको, चिच्याईरहेको अवाज सुनें । मेरो घरमा मानिसहरुको भीड लागेको थियो । अचानक मेरो मनमा ठुलो डर छायो, ‘होइन आज मेरो घरमा के अप्रिय घटना घट्यो ?’ भन्ने मनमा लाग्यो । म वेगले दगुर्दै नजिक आएर त्यहाँ भएको भीडलाई उछिन्दै आँगनमा अनि त्यहाँको दृश्य देखेर छाँगाबाट खसेझैँ भएँ | त्यहाँ मेरी आमा लम्पसार परेर भुइँमा सुतिरहेकी हुनुहुन्थ्यो र वरिपरी मेरा बहिनीहरु रुँदै थिए । मेरो भक्कानो फुटेर आयो, म आमाको छेउमा बसें र रुँदै ‘आमा ! के भो तपाईलाई ?’ भनेर सोधें तर उहाँ बोल्नुभएन, म रुँदै-कराउँदै ‘आमा ! बोल्नुस् न आमा, मेरो कुरा सुन्नुस् न, होइन तपाईलाई के भयो ?’ भनेर कराई नै रहें अनि उहाँलाई धकेल्दै ‘आमा ! उठ्नुस् न, बोल्नुस् न’ भनें तर उहाँले मलाइ चिन्न छोडी सक्नुभएको रहेछ, उहाँ बोल्नु भएन । उहाँको छातीमा पल्टेर म बाहिनीहरुसँगै जोडजोडले रुन थालें | म आफूलाई सम्हाल्नु कि बहिनीहरुलाई सम्हाल्नु ? भएँ, म भित्रदेखि नै टुटिसकेकी थिएँ, मेरा आशा, भरोसा अनि जिउने आधार भनेको नै आमा हुनुहुन्थ्यो जसले हरेक कमजोरीमा पनि मलाइ ढाडस दिनुहुन्थ्यो तर त्यही आमा नरहँदा मेरो हृदय छियाछिया भयो । मलाई गाउँकै छिमेकीहरुले ‘नरोऊ छोरी, नरोऊ’ भन्दै सम्झाउँदै थिए | केही समयपछि गाउँलेहरुले हरियो बाँस काटेर ल्याए अनि सेतो कात्रोले आमालाई बेरे । म बहिनीहरुलाई काखमा च्यापेर रोइरहेकी थिएँ ।  धेरै बेरपछि मलाई बुवाको उपस्थिति हामीसँग नरहेको थाहा भयो । आमाले हामीलाई छोडेर जानुभयो, आमादेखि दोस्रोमा बुवाको माया र सान्तवना पाउनुपर्ने त्यो दुखद घडीमा बुवाको साथ नपाउँदा ‘कस्तो दुष्ट बुवाको सन्तान भएर जन्मिएछ’ जस्तो भयो | गाउँलेहरु आमाको लाश सम्हाल्दै ‘यिनेरको बाउ त कस्तो रहेछ ?, आफ्नै बुडी मर्दा पनि नआउने’ भनेर कुरा काटिरहेको थिए । लाशलाई आँगनमै राखेर गाउँलेहरुले केही समय बुवालाई कुरे तर धेरैबेरसम्म पनि नआएपछि लाशलाई उठाइयो | बुवाको अनुपस्थितिमा मैले नै आमालाई छोरोसरह दागबत्ती दिएँ |

आमाको मृत्युको केही दिनमा थाहाँ भयो कि आमाको मृत्यु हुने दिनमा बुवाले घरमा कान्छी आमा अर्थात, मेरो आमामाथि सौता लिएर आउनुभएको रहेछ र यही बिषयमा आमा र बुवाको झगडा भएको र बुवाले ‘अब यो घरमा म कहिल्यै पनि आउँदिनँ, म यही कान्छीसँग मेरो नयाँ जिन्दगी सुरु गर्छु’ भनेर गएका रहेछन् । मेरो बुवाको त्यस्तो क्रुर निर्णय र उहाँले चालेको घृणित कदमका कारण आमाको मनमा ठूलो चोट पुग्न गई हृदयघातका कारण उहाँको मृत्यु भएको रहेछ । जब यो कुरा थाहा भयो, मलाई यति पीडा बढ्यो कि म आफूलाई कुनै तरिकाले सम्हाल्न नसक्ने भएँ, ममा बाँच्ने रहर पनि हटेर गयो तर पनि मलाई जिउनु थियो, आफ्नो निम्ति नभएपनि बहिनीहरुको निम्ति आफूलाई जीवित राख्नु थियो । त्यसैले चाहेर पनि म आफूलाई समाप्त गर्न सक्दिनथें |

बुवाले आमालाई बिहे गरेर नयाँ ठाउँमा बसाइं सरेकाले मलाई आफ्नो हजुरबुवा-आमा वा मामाघरबारे केही थाहा थिएन | बुवा र आमा दुवैपट्टिका कुनै पनि आफन्तलाई हामी चिन्दैन थियौ । केवल रहीआएको गाउँलेहरु नै हाम्रो नजरमा आफन्त थिए । अब आमाले छोडेर जानुभयो, जिउँदो बुवाको साथ रहेन, घरमा रहेको रासन-पानी सकिदै गयो अनि अब घरमा भोकमरी सुरु भयो | केही दिनसम्म त गाउँलेहरुले फलानाको कोही छैन भनेर कसैले चामल, कसैले दाल दिएर हामीलाई खानको निम्ति भोजन जुटाई दिए तर बिस्तारै यो कार्य बन्द हुँदै गयो । मेरो पढाई पनि बन्द भयो ।

हामी चार बहिनी छोरी भएकैले आमाले अकालमा प्राण त्याग्नुपर्यो र हामी आफै पनि छोरी भएकैले अबला हुनुपर्यो । आखिर छोरोमा त्यस्तो के छ र ? कस्तो संस्कार वा नियति हो यो जसले हामीलाई छोरी  भएकैले टुहुरो बनायो ? मैले कुनामा राखेर पुज्ने पत्थरको देउतालाई फ्याँकिदिएँ । यदि ईश्वर भएको भए किन मेरो पीडा र मैले सहनु परेको ज्यादतीलाई हेरेर बसेको ? किन एउटा बुवालाई छोरीहरुप्रति पनि कोमल हृदय दिन सकेन यो भगवानले ? किन छोरा-छोरीबीचको भेदभाव हटाउने ज्योति दिन सकेन मेरो भगवानले ? आखिर किन ? के मेरो र बहिनीहरुको छोरी भएर जन्मिनु एउटा पाप हो जसकारण आज हामीले यो संकट भोग्नुपरेको ? म एक्लै अँध्यारो कोठामा बसी यसरी ईश्वरलाई धिक्कार्दै रोएँ, रोइरहें ।

एक बिहानै मैले खाना पकाउन खोजें तर खानको लागि केही प्याज र आलु अनि तीन गिलास जति चामल मात्र बचेको थियो । जे थियो त्यही पकाएर चार बहिनीले बाँडेर खायौ । बिहानलाई त खाइयो तर बेलुकिकोलागि चुला मात्र थियो । जीवन धान्नको लागि के गर्ने कसो गर्ने मसँग कुनै ज्ञान थिएन । मेरो हृदय आफैमा भरोसा गर्न नसक्ने गरी कमजोर भएको थियो । मैले चारैतिर आफ्नो मनलाई डुलाएँ तर हामी बिचलित दु:खीहरुप्रति काहीं आशा देखिनँ । काहीं कतै कुनै बाटो नदेखेपछि, रुनुसिवाय केही गर्ने आँट पनि आएन । बेलुकी खानको लागि केही नभएपछि बोरामा भएको केही मकैको पिठोलाई टक-टकाएर नुन पानीमा उमालेर चार बहिनीले रातलाई जसो-तसो पार गर्यौ । तर बिहान खानको लागि केही थिएन, भोकले बहिनीहरु छट्पटाउँदै थिए | मैले तब त्यो गाउँ छोडेर जिन्दगी जिउने उपाय खोज्न जाने निर्णय लिएँ, नभए चार बहिनी एकै चिहान हुने निर्णय लिएँ | त्यसैले तीन बहिनीलाई आफू पछि ल्याउँदै, रहीआएको गाउँलाई र आफू खेली-हुर्केको घरलाई छोडेर मृत्युको व्यथा  च्याप्दै हामी अपरिचत ठाउँहरुमा हराउँदै हिँड्न थाल्यौं | म दु:ख-हारलाई स्वीकार गर्ने योद्धाझैं जिन्दगीको अन्त्यको जीतको आशा बोकेर हिंडें २०६० साल माघ महिनाको १५ गते |

पाँच घण्टाजति हिंडेपछि हामी धरान बजार आइपुग्यौं, हामी बिहानैदेखिको भोकले लखतरान परेका थियौं । बहिनीहरु भोकले रुँदै थिए, म उनीहरुलाई सम्झाउँदै थिएँ, अचानक पछाडिबाट एउटा मान्छेको अवाज आयो | .मैले फर्केर हेरें, त्यो मान्छे भर्खर पूजा गरेर आएकोजस्तो देखिन्थ्यो, हातमा सिन्दुरे रङ्ग अनि निधारमा टीका लगाएको थियो । उहाँले मलाई ‘किन रोएको ? घर कहाँ हो ?’ भनेर सोध्नुभयो, मैले मेरो सबै वास्तविकता रुँदै भनें | अनि उहाँले ‘मसँग हिंड, म तिमीहरुलाई केही खानेकुरा किनिदिन्छु’ भन्नुभयो, हामी गयौ | केही खानेकुरा खाएपछि उहाँले फेरि ‘मेरो घरमा हिंड, म तिमीहरुको निम्ति केही बन्दोबस्त मिलाईदिने कोसिस गर्छु’ भन्नुभयो ।

म त खास जिन्दगीको सुवासना भुली मर्न भनेर हिंडेकी थिएँ तर फेरि मृत्युको अगाडि जिन्दगी खडा भयो | हामी उहाँको घरमा रह्यौ, उहाँले एक हप्ताजसो हामीलाई त्यहाँ राम्रोसँग खान, बस्न दिए र राखे । केही समयपछि उहाँले मलाई ‘यहाँका सम्पन्न व्यक्तिको घरमा तिम्रो बहिनीहरुलाई राखीदिन्छु, उनीहरुले तिम्रो बहिनीलाई पढाईदिन्छन्, राम्रो हेरविचार गर्छन्, अनि तिमी चाहिं हामीसँगै बस, तिमीलाई पनि हामी पढाइदिन्छौ’ भन्नुभयो । एकातिर खुशीको कुरा भयो, अर्कोतिर दु:खको कुरा भयो | सहाराविहिनले सहारा पाउने कुरा असल भएपनि म आफ्ना ती साना बहिनीहरुबाट छुट्टिएर रहनु एकदम दु:खको कुरा थियो । आमा-बुवाको माया त पाउन सकिएन, अब बहिनीहरुको साथ पनि अब पाइनेछैन भन्ने कुराले मलाई पिरोल्न थाल्यो । तर पनि बहिनीहरुको भविष्यको निम्ति मैले त्यो प्रस्तावलाई स्वीकार गरें ।

२०६० साल माघ २५ गतेको दिन मेरा तीन बहिनीहरुलाई लिन केही व्यक्ति आए | मैले बहिनीहरुलाई कोठामा लगेर अँगालो हालें र मनको भारीसँगै आँसु खसाल्दै मेरो माया बहिनीहरुप्रति पोखाएँ | बहिनीहरु सानै भएकाले उनीहरुलाई आफू अब सधैको लागि मदेखि छुट्टिने भए भन्ने कुरा थाहा थिएन । म रोएको देखी जेठीले मात्र म रुनुको कारण सोधी, मैले उनीहरु अब मदेखि सधैंको निम्ति टाढिने भन्ने कुरा त भनिनँ तर यति भनें--’तिमीहरुलाई अंकल-आन्टीले स्कुलमा पढाउन लान लाग्नुभएको छ, पढेर ठुलो मान्छे बन्नुपर्छ, राम्रो पढ्नू, म तिमीहरुलाई बेलाबेलामा भेट्न आउनेछु ल ।‘त्यस दिन दिउँसो चार बजेतिर बहिनीहरुलाइ लगियो, छुट्टिने आभाष पाएर होला बहिनीहरु मलाई हेर्दै रुन थाले, मैले पनि आँसु थाम्न सकिनँ, उनीहरु गएको दृश्य आँखाबाट ओझेल हुन्जेल मैले भिजेको परेलीले एकटक हेरिरहें |

मचाहिं त्यही साविककै अंकलको घरमा नै म रहँदै आएँ | उहाँले मलाई उहाँको सानो छोराको हेरविचार गर्न र घरेलु काममा उहाँको श्रीमतीलाई सघाउन भन्नुभएको थियो । अनि नयाँ भर्नामा स्कुल लगाइदिन्छु पनि भन्नुभएको थियो । बिस्तारै समय बित्दै जाँदा म त्यहाँ रहेको पनि झन्डै ३ महिना बित्न लाग्यो, सबै कुरा राम्रै थियो । अब त म १५ बर्षको खुड्किलामा हिँड्न थालिसकेकी थिएँ |

एकदिनको बिहानै अंकलले मलाई ‘म तिमीलाई स्कुल भर्ना गर्न लान्छु, तयार होऊ’ भन्नुभयो । अनि म निकै खुशी भएँ र बिहानै घरको काम चाँडो-चाँडो सकेर म अंकलसँग स्कुल जानको लागि तयार भएँ |  उहाँले मलाई बाइकमा राखेर लानुभयो, म मनमनै ‘अब स्कुल पढेपछि मेरो पनि साथीहरु हुन्छन्, रमाइलो हुन्छ, राम्रो पढ्छु’ भन्दै सपना बुन्दै थिएँ, तर बाइकमा हिड़ेको १ घण्टा भइसक्दा पनि स्कुल आइपुगेन र मैले ‘अंकल, स्कुल नजिकै छ भन्नुहुन्थ्यो, अनि त किन अझै हामी पुगेछैनौ ?’ भनेर सोधें | अनि उहाँले ‘मेरो गाउँको घरमा अलिकति काम छ, पहिला हामी त्यहाँ जाऔं अनि फर्केर आउँदा स्कूल पसौला’ भन्नुभयो ।

झन्डै ३ घण्टा जसो लामो यात्रापछि उदयपुर जिल्लामा पर्ने एउटा गाउँमा हामी पुग्यौ | त्यो गाउँ मेरो गाउँजस्तै थियो, माथि पाखाबाट तल सप्तकोशी बगिरहेको देखिन्थ्यो | गाउँदेखि अलि पर जंगल भएको पाखामा पुगेपछि अंकलले बाइक रोक्नुभयो | म छक्क परें तर नबोलिकन तल झरें | अंकलले हेल्मेट बाइकमा झुन्ड्याउनुभयो अनि ‘तिमी यहीं बस है’ भनेर अलि पर झाडीमा गएर पछिल्तिर फर्की उभिनुभयो | मैले आशय बुझें, मैले वरिपरी नजर दौडाएँ, हरिया पाखा, वन अनि तल खोला देखेर मलाई रमाइलो लाग्यो | मन्द-मन्द बतास चल्दै थियो, पारि डाँडामा किसानहरु खेतमा काम गरेको देखिन्थ्यो, मैले त्यो दृश्यलाई टाढाबाट आमाले खेतमा काम गरेझैं सम्झें | म आफ्नो दुवै हातलाई घुँडामाथि राखेर खुम्चेर त्यतैतर्फ टोलाउँदै बसेकी थिएँ | अकस्मात् ममाथि बाघ झम्टेझैं अंकल झम्टिए | मेरो छेउबाट उभिएर दुवै बलिष्ठ हातले मेरो टाउकोलाई बेस्सरी धक्का दिएकाले म उत्तानो परी लडें, मैले केही सोंच्न नभ्याउँदै झ्वाम्म ममाथि अंकल घोप्टिएर मेरा दुवै हातलाई चलमलाउनै नसक्ने गरी च्याप्दै आफ्नो मुन्टो मेरो संवेदनशील अंगमा गाड्न थाले | मैले ममाथि आइपरेको त्यो विपत झट्टै बुझिहालें, ‘अंकल !...छोड्नू...गुहार गुहार !’ भन्दै चिच्याउन थालें | मैले त्यतिन्जेलसम्म ‘ईश्वर/भगवान’ भन्ने नाउँ बिर्सिसकेकी थिएँ तर मेरी आमाले बारम्बार दुःख पर्दा पुकारिरहने नाउँ ‘हे परमास्सरी !’ भन्न थालेकी थिएँ किनकि मलाई ‘परमास्सरी’ भन्ने अर्कै ठूला ईश्वर होलान् भन्ने मेरो अचेतन मनले मानेको थियो | त्यतिबेला म रुँदै चिच्याउँदै ‘हे परमास्सरी ! लौन बचाऊ’ भनी कराउन थालें, त्यत्ति नै बेला परबाट ‘ए ! ए ! पाजी...थुक्क मोरा !’ भन्दै एक हुल आइमाई र गोठालाहरु लाठो समाउँदै आए | तिनीहरुको सोर सुन्नासाथ अंकल झट्टै उठेर भागिहाले अनि गोठालाहरुले लखेट्न थाले | म रुँदै थिएँ, दुईटा गोठाल्नी आइमाईले मलाई ‘नरोऊ, नरौऊ’ भन्दै सम्झाउन थाले, उनीहरु केके भन्दै थिए कुन्नि, मैले ध्यान दिन सकिनँ, अंकललाई मैले देउतै ठानेकी थिएँ तर उहाँबाट यो घृणित कार्य भएपछि मेरो सहमको बाँध टुट्यो, अब म कता जानू ? बरु मर्नु नै बेस ठानें र त्यसबेला मैले बहिनीहरुको लागि बाँच्नुपर्ने बाध्यताबाट मुक्ति पाइसकेथें, म झट्टै उठेर दौडिएँ, ती गोठाल्नी आइमाईले ‘ए नानु ! कता जाने ?’ भन्दै थिइन्, म दौडी-दौडी उकालो चढें अनि केही समयपछि ठीक मैले खोजेकै ठाउँमा म आइपुगें अर्थात् पल्टिने भिरको टुप्पैनेर | तल सप्तकोशी सुसाइरहेको थियो | मैले बहिनीहरुलाई झट्ट सम्झें अनि आँखा चिम्ली मनमनै ‘हे परमास्सरी, मेरा बाहिनीहरुलाई जहाँ भए नि सुरक्षा देऊ’ भनी आँखा चिम्लीकनै भीरबाट हाम्फालें |
                                    ***
     भीरबाट हाम्फालेपछि मेरो आँखा सधैंभरिको लागि चिम्लिनु पर्थ्यो तर म कस्तो उदेकको भाग्य लिएर आएकी रहेछु, एक अन्जान वातावरणमा मेरा ती चिम्लिएका आँखा खुले | मैले बिस्तारै वरिपरी नियाल्दा म सुतेको खाटनेर तीनजना व्यक्ति थिए- १) अधबैंसे पुरुष २) अधवैंसे महिला अनि ३) एक मभन्दा अलि ठूलो किशोर | मेरो होश खुलेपछि म बिस्तारै उठ्न खोजें तर सकिनँ, म उठ्न खोजेपछि ती अधवैंसे महिला मेरो नजिकै आई ‘नउठ नानी, यस्तै सुतिराख’ भनिन् अनि म पसारेकै रहें |त्यही अवस्थामा मलाई ती दुई वयस्क व्यक्तिले ‘कहाँ हो घर ? के हो ? कसो हो ?’ भनी सोधे | म त मर्न चाहेको मान्छे, ‘म त ‘मर्छु’ भनी फेरि पनि आफैं उठ्न खोजें तर सकिनँ, मलाई दुवैले सम्झाउन थाले |

‘दुई दिनको जिन्दगीमा एकदिन मर्नु त छँदैछ, यसरी जानी-जानी मर्न खोज्नुहुन्न नानी, यस्तो कल्कलाउँदो उमेरमा किन हरेस खको नानी ?’मैले झट्टै उनीहरुलाई जवाफ दिन सकिनँ, ‘नाइँ, मलाई किन बचाको ?’ भनी चिच्याउनदै रोएँ | त्यसबेला जीवनमै पहिलोपल्ट अनौठो कुरा सुनें |‘तिमीलाई बचाउने हामी होइन, परमेश्वर हुन् नानी, बचाउनुको कारण पनि उहाँलाई नै थाहा छ |’‘परमेश्वर ! यो त्यही शब्द थियो जो मेरी आमाले बेला-बेलामा ‘हे पर्मास्सरी !’ भनेर पुकार्थिन् | मैले पनि कतिपटक त परमास्सरी भनेको कुन देउता होला ? भनेर सोंचें तर त्यतिबेला मैले बुझ्न सकिनँ | पछि बिस्तारै बुझ्दै जाँदा मैले ‘परमस्सरी=परमेश्वर’ भन्ने बुझें | यो पनि बुझें कि मैले भोगेका जीवनका यी तमाम दु:ख कष्टहरुमा सधैं मेरो साथमा को थियो भन्ने |मलाई तल खोलामा डुबेको देखेर बचाउने त्यो किशोर रहेछ अनि ती महिला-पुरुष उसका आमाबाबु | ऊ खोलामा माछा मार्दै थियो रे, परबाट मलाई बग्दै-बग्दो आएको देखेर बचाउने कोशिस गर्यो रे | म तीरमा अचेत अवस्थामा हुँदै पानी छदाएपछि उसले मलाई कृतिम श्वास दिएछ जसकारण मेरो श्वास फर्क्यो तर म पुन: बेहोश भइछु अनि उसले मलाई घर ल्यायो | धेरैबेर राम्ररी सम्झाएपछि बल्ल मैले रुँदै आफ्नो यथार्थ बताउन सकें | किनकिन त्यतिबेलै मलाई मेरो गुमेका अभिभावक फर्केर आएजस्तै लाग्यो | ती अंकल र आन्टीले मलाई आफ्नै छोरीलाईझैं घरमा राखे | मैले किशोरावस्थादेखि नै प्रभुलाई चिन्दै बढ्न थालें | त्यहाँ बसेको एक वर्षपछि म काठमाण्डौंमा ख्रीष्टियान स्कूलमा नि:शुल्क पढ्न बस्न पुर्याइएँ | त्यहाँ मैले पढ्न-बस्न र आफूजस्तै अनाथहरुसँग घुलमिल हुने मौका पाएँ जसले गर्दा मलाई ममात्र एक्ली रहेनछु भन्ने कुराको बोध दिलायो |स्कूलमा म राम्ररी पढ्न थालें | बेलाबेलामा मलाई मेरा साना बहिनीहरुको बारेमा मनमा कुरा खेलिरहन्थ्यो, कहाँ होलान् ? कुन अवस्थामा होलान् ? दुःख पाए कि ? कतै अलपत्र परे कि ? तर मजस्ती दुखीलाई चुन्नुहुने परमेश्वरले मेरा बहिनीहरुलाई पनि चुनून्, उनीहरु जहाँ भएपनि सकुशल होउन् र तपाईको इच्छा भए मेरा हराएका बहिनीहरुसित मेरो मिलन होस् भनी म सधैं प्रार्थना गर्थें | मलाई थाहा थिएन कि परमेश्वरले त्यति छिटै मेरो प्रार्थना सुन्नुहुनेछ | अचम्मै, पत्यार लाग्न पनि गाह्रो हुने किसिमले उहाँले मेरा प्यारा बहिनीहरुसित भेट गराइदिनुभयो |

स्कूलमा आएपछि सुरुसुरुमा म साथीभाइसित घुलमिल हुन सकिनँ, पछि-पछि सबैसित चिनजान हुँदै गयो | धेरैजसो टुहुरा थिए भने मझैं टुक्रिएको परिवारका पनि धेरै थिए | समान कथा र व्यथा बोकेका साथी पाउँदा मलाई स्कूल साह्रै रमाइलो लाग्यो | स्कूलमा खाजा खाने समयमा एउटी बहिनीलाई म टाढैबाट टोलाएर हेरिबस्थें किनकि ऊ मेरी बिछोडिएकी माहिली बहिनीजस्ती थिई | सुरुमा त केही समय बोल्न सकिएन तर पछि थोरै-थोरै गरी बोलचाल हुँदै गयो | एकदिन  मैले उसलाई भनें ‘मलाई तिमी मेरी बहिनीजस्तै लाग्छ |’ अनि उसले पनि भनी ‘मलाई पनि किनकिन तपाई मेरी दिदीजस्तै लाग्छ |’ सबैको जीवन कथा सुन्ने लालसाका कारण मैले उसलाई पनि उसको पृष्ठभूमी बताउन भनें | उसले हुबहु मेरैजस्तो कथा भनी | म हतप्रभ भएँ | सबै सुनेपछि उसकी प्यारी दिदीको नाम सोधें, उसले भावुक हुँदै भनी –‘झुमा ! मेरी प्यारी दिदी झूमा अहिले कहाँ होलिन् ?...’ ‘झुमा’ नाम सुन्नेबित्तिकै मेरो अन्तर्मनमा तरंग आयो, एकैपल्ट आश्चर्य र आँसुले म भरिएँ, झट्टै मेरो ओठबाट हर्षाश्रुका अर्को नाम उच्चारण भयो—‘कमली ! कमली नानु ! मेरी कमली, म दिदी झुमा !’ मैले उसको नाम काढेपछि ऊ एकछिन अवाक भई अनि हामी दुई दिदी-बहिनी खुशीको आँसु झार्दै पुन: मिलनको अंगालोमा बाँधियौं | त्यतिन्जेल हाम्रो नाम फेरिसकिएको थियो | मेरो नाम साराह अनि उसको रेबिका भएको थियो |

 अनि कुराकानीको क्रममा संहिली र कान्छी बहिनीबारे पनि थाहा हुन आयो | कान्छी पनि हामीजस्तै अर्को ख्रिष्टियन स्कूलमा पढ़दी रहिछ र बेलाबखत माइलीसित भेट हुँदोरहेछ | त्यो सुनेपछि म पनि खुशीले गद्गद् हुँदै आउँदो शनिबार उनीहरुलाई भेट्न जाने आतुर भएँ साथै हामी चारैजना बहिनीलाई परमेश्वरले यसरी आश्रय दिनुभएकोमा म धेरै-धेरै धन्यवादी भएँ | मैलेजस्तो दुःख मेरा प्यारा बहिनीहरुले भोग्नु नपरेकोमा खुशीले ‘हल्लेलुयाह’ भन्दै हर्षका आँसु खसाली परमेश्वरलाई प्रशंसा चढाएँ | 

अरुणा छन्त्याल & श्रवन बोम्जन