प्रेम दिवसमा तपाइँले के पाउनुभयो, मैले के पाएँ ?


संसारको विभिन्न देशहरुमा आजको दिन प्रेम दिवसलाई बिशेष रुपमा मनाइन्छ । आजको दिनमा कुनै व्यक्तिले कसैलाई प्रेमिकाको रुपमा अपनाउन चाहन्छ, वा मन परि राखेको छ भने प्रेम प्रस्ताव पनि राखिन्छ । प्रेम दिवसलाई लिएर यो संसारको चलन बनेको छ । त्यस्तै विवाहीत जोडीहरुले पनि आजको दिनमा कुनै न कुनै कुराहरु द्वारा एक अर्कालाई खुशी पार्दै अङ्गमालको साथमा, I LOVE YOU भन्ने, चुम्बन गर्ने, बाहिरतिर खाना खाने, टाढा टाढा घुम्न जाने र एक किसिमको उत्सव नै मनाउने गरेको देखिन्छ । एक अर्कामा माया देखाउनु र यसमा आनन्द मनाउनु पनि अति राम्रो कुरा हो । प्रेममा रहनु , प्रेमलाई बुझ्नु, प्रेम हुनु जहाँ पनि सुन्दर देखिन्छ । प्रेम भन्ने शब्द नै अपरिभाषित छ । यसको कुनै सिमा वा थुनेर राख्ने परिधि हुँदैन । कैदमा पनि प्रेम उड्छ । प्रेम अलौकिक सम्पर्क हो, मेरो बुझाइमा ।


तर दु:खको कुरा आज संसारभरि प्रेम दिवसको रुपमा मनाउने "प्रेम" धेरै जसोको जीवनमा शब्दहरुमा मात्र सिमित भएर, सत्यतामा अधुरो पुल जस्तै भएको छ । धेरै जना प्रेम शब्दमा कैद भएर भावनामा डुब्ने गर्छन । तर साँचो प्रेमलाई बुझेकै हुँदैन । साँचो प्रेमको सम्पर्कमा पुगेकै हुँदैन । अन्तमा आधा मात्र बन्दै गरेको पुलमा हिंडेर पुरा गन्तब्य तर्छु भन्नु जस्तै यो प्रेम अधुरोमा नै पुरा झैँ चम्किन्छ, तर त्यहाँ सत्य प्रेम नै रहेको हुँदैन । अदेखा, भावनात्मक, आभाषले प्रेमको परिभाषालाई लतारेर भाग्छ । हामीलाई थाहा नै हुँदैन । तर प्रेमको सन्दर्भ हुन्छ, जोवनको आवेश हुन्छ । तर प्रेमको आवाज सुन्ने धड्कन नै हुँदैन । एकअर्काको भाषालाई बुझ्ने आत्मा नै हुँदैन । जवानीको रङ्गमा जोशिएर प्रेमको नाटकमा उतौलो भएको हामी कतिलाई थाहाँ नै हुँदैन र पनि भन्छौं तिमी मेरो प्रेम/प्रेमिका । म तिमी बिना मरि हाल्छु, I LOVE YOU: फलानो ।

केहि वर्ष अगाडी मलाई पनि प्रेम दिवसको दिनमा केहि महिला मित्रहरुबाट प्रेमको प्रस्ताव आउने गर्थ्यो र आजकाल पनि फाट्टफुट्ट आई रहन्छ, बेला बखत – हा हा हा ... । 
मलाई एकदम अचम्म लाग्छ, कुन अदेखा प्रेम हो यो ? यसरी राखिने प्रेम प्रस्ताव पनि हृदयको सम्बन्ध संग जोडेर जन्मेको हो त ? मलाई चाहिं साँच्चै आफ्नो प्रेम प्राप्तिको लागि आत्मियताबाट बोलिएको होइन जस्तो लाग्छ, यस्ता दिवसको चल्ती शब्द । म तिमीलाई माया गर्छु, यानिकी यो प्रेम दिवसमा, प्रेम दिवसलाई सम्बोधन गर्दै रचेको कविता जस्तो मात्र हो । कविता वाचन हुन्छ, सबले ताली बजाउछ, मन पराउँछ, केहिछिन घुम्ने/खाने रमाइलो हुन्छ, भोलि बिर्सी हाल्छ । धोकेबाज भनेर अर्को कविता लेख्ने बाहना मिल्छ । सबैको यस्तो नहोला तर धेरैजसोको यस्तै हुन्छ, प्रेम दिवस । 

प्रेम दिवसलाई धेरैले भौतिक जीवनमा रहुन्जेल आफ्नो जीवन कसैलाई सुम्पन वा कोहि कसैलाई आफ्नो बनाउन, प्रेम प्रस्तावको निम्ति विशेष दिनको रुपमा लिने गरेको पाइन्छ । भलाई यो दिनमा मानिसहरुले आफ्नो/आफ्नो तरिकाले उत्सव पनि मनाउछन् तर पनि सबैले साँचो प्रेम, र आन्तरिक खुशी भने पाएका हुँदैनन् ।

म पनि प्रेमको परिभाषा बुझ्ने व्यक्ति थिइन र कहाँ आनन्द छ, साँचो प्रेम कसरि जान्ने ? यसलाई पनि छुटाउन सक्ने क्षमता ममा थिएन । म पनि प्रेमको नाउँमा अनैतिक फाउदा लुट्न पछि नपरेको मान्छे हुँ । मैले सैतानलाई आफुसँग लुकाएर धेरैचोटी पाल्ने काम गरेको छु । जतिखेर म दुब्लो, सैतान मोटो भएको थियो । 

तर, फेरि पनि यस संसारका मानिसले बनाएको यो प्रेम दिवसको उत्सवले मलाई उम्कन दिएन । मलाई पनि मोहित पारेरै छोड्यो । म पनि उनी बिना बाँच्न नसक्ने भएँ । सयौंको भिडमा मैले पनि प्रेम प्रस्ताव राखें । त्यसपछि मेरो जीवनमा एउटा अति खुशीको दिन प्रारम्भ भयो । मेरो लागी जीवन भरिकै हारलाई मेटाउने विजयीको दिनभयो, यो प्रेम दिवस । यस्तो विजयी पाएँ कि मलाई धोका, बिछोड, आँशुको सम्झना नै छैन । आफुले गरेको पाप कर्म र अधर्मले कमाएको मृत्युको पासोमा पनि डर छैन । चिहान, आगो, पातलको सजायले दिने दण्डको अलिकति पनि पिर छैन । कारण मैले भोग्नु पर्ने सबै दुर्व्यवहार र मेरो दुर्वलतालाई मेरो प्रेमिले लिनुभयो । तपाईहरूले के पाउनुभयो यो प्रेम दिवसमा ? मैले त अभूतपूर्व प्रेमी पाए ।

हो, १४ फेव्रुअरिलाई म कहिल्यै भुल्न सक्दिन । किनकि १४ फेब्रुअरी २००४ शनिबारको दिन बेलुका ५:९ मिनेट जाँदा येशू ख्रीष्टलाई मैले पनि प्रेमिकाको रुपमा पाएँ । मैले मन पराएर उहाँलाई खोजिन । उहाँको निम्ति म कहिल्यै तड्पेर हिडेको छैन । तर उहाँ त मेरो अभूतपूर्व प्रेमी हुनुहुँदोरहेछ । उहाँ कै निगाह र अनुग्रहले गर्दा मैले उहाँलाई चिन्नसके । उहाँ ममा आउनुभयो । प्रेमको शुद्धताले मलाई छोएर, उहाँको निम्ति योग्य दुलही बनाउनुभयो । उहाँकै कारण मलाई आदर भयो । म प्रयोगमा आउने भाडो भएँ ।

मैले प्रभूबाट यति धेरै प्रेम पाए कि उहाँले मेरो निम्ति सबै कुराको श्रेष्ठतामा भएर पनि कांडे मुकुटलाई शिरमा सिउरिनुभयो । मलाई दुलही बनाउनको निम्ति । मेरो विवाहको मण्डपमा म सजिएको थिए तर मेरो प्रभूलाई रक्ताम्य बनाएर क्रूशमा झुन्डाईएको थियो । उहाँको हात,पाउ र कोखबाट रगत पसिनाको धारो बग्दै थिए कारण, उहाँको पिताले मलाई उहाँको घरको दुलही बन्न योग्यको देख्नु भएन । आफ्नो पितालाई मनाउन र मलाई दुलही बनाएर आफ्नो घरमा लानको लागि उहाँले चुकाउनुभएको मुल्य यति थियो कि हजारौं प्रेम दिवसको जोडीको बलिदानले पनि यो प्रेमको शुद्धता, पवित्रता, सत्यतालाई भेट्न सक्दैन । यहि हो मेरो प्रेम दिवस ।

संसारमा रहुन्जेल सबैले कसै न कसैबाट माया र कसै न कसैको साथ चाहन्छ । तर प्रायजसो सबैको लक्ष र निशाना यो संसारमा रहुन्जेल सम्मको लगी मात्र हुन्छ, तर मैले ख्रीष्टमा पाएको प्रेममा अनन्तता देखें ।

प्रभुमा भएको प्रेमले आज मलाई भौतिक क्षेत्र हुँदै गाउँ, समाज, देशमा, मानिसहरुमा अर्को साँचो प्रेमको नजर दिनुभयो । प्रत्येक दिनलाई प्रेम दिवसको दृष्टिले हेर्न सक्ने आत्मा दिनुभयो । इश्वरीय प्रेम, म अब जान्दछु ख्रीष्ट येशुमा जिउने प्रत्येकको निम्ति प्रत्येक दिन प्रेम दिवस भन्दा कम छैन । हामीले सधै प्रेम दिवसको उत्सव मनाउनुपर्छ । 

अन्याथा, कसले हामीलाई यो प्रेम देखि टाढा राख्न वा लान सक्छ ? कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला ? के सङ्कष्टले, वा क्लेशले, वा सतावटले, वा अनिकालले, वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले ? जस्तो लेखिएको छ: 'तपाईंका निम्ति हामी दिनभरि मारिँदछौं; हामी काटिने भेडाहरूझैं गनिँदछौं।' तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा पनि बढी छौं। किनकि मलाई पूरा निश्चयता भएको छ ‍न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ (रोमी ८:३५-३९)। 

थुप्रै पानीको भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्दैन । कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि, त्यो त बिल्कुलै तिरस्कार गरिने थियो - श्रेष्ठगीत ८:७) । किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्न एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस् । तर त्यसले अनन्त जीवन पाओस् - (युहन्ना ३:१६ )।

श्रवन बोम्जन ।