रामेछाप देखि नुवाकोट सम्मको यात्रा

गएको एक हप्ता अगाडी एका बिहानै निराजन भाइले मलाई कल गर्नुभयो । म निन्द्राले धुर्मुरिएको आवाजमा हेल्लो भन्दै बोले, भाइले ” दाइ एउटा खुशीको खबर छ । सेवा गर्ने मौका आको छ । त्यो काम हामी गर्ने हो भन्दै सोध्न थाल्यो ... मैले भाइलाई भने भनन के हो ? दाइ … नर्वेबाट त्यहाँको विश्वासीहरुले नेपालमा भएको अशक्त, बृद्दहरु, र एक सरो कपडा लाउन पनि नसक्नेहरुको लागि भनेर केहि पैसा पठाउन आटेको छ । त्यो पैसाले यहाँ काठमाडौँमा लत्ता-कपडा किनेर केहि जिल्लामा साच्चैं खाँचोमा परेको मानिसहरु सम्म पुग्ने कि दाइ ? ...
यति कुरा सुनिसकेपछि मैले भाइ यो त अति खुशीको कुरा हो । र हाम्रो लागि सेवा गर्ने मौका पनि हो । यो जाडोको सुरुवातमा साँच्चै खाचोमा परेकाहरुको बिचमा पुगेर एक एक सरो कपडा पुर्याएर आउन सक्यौं भने, यो भन्दा ठुलो सेवाकाई के हुन सक्छ ? हामी जाने बरु छिट्टो गरौँ र तिहार भन्दा अगाडी हाम्रो काम सकौं भनें ।
भोलिपल्ट नर्वेमा रहेका विश्वासीहरुले पैसा पठाउनुभयो । भाइ र म बिहानै कपडा किन्नको लागि बिशाल बजार तिर लाग्यौ । हामीलाई होलसेल कपडा पसलको बारेमा जानकारी थिएन । जतिसक्दो राम्रो सस्तो, सहुलियत दरमा हामी कपडा लिन चाहन्थ्यौं । धेरैलाई पुर्याउन पाओस भन्ने प्रार्थनामा हामी थियौँ ।
परमेश्वरको योजना महान थियो। हामी महाबौध्द पुग्दा इस्ज्र्यालमा हुनुभएका मेरो एकदम नजिकको दिदि, निलम आले मगरको श्रीमान, मेरो भेनाजुलाई प्रभुले भेट्टाउनुभयो, उहाँ चर्चको अगुवा पनि हुनुहुन्छ । उहाँकै सयोगमा एकजना विश्वासीको पसलमा गयौं । उहाँको पसलको साथ साथै आफ्नै गार्मेन्ट पनि रहेछ । खुशीको कुरा फेसबुकमा हामी चिनजान पनि रहेछौं । भेट्न पाउदा झन् नजिक भयौं ।
हामीले मिशनको लागि कपडा लिन आएको कुरा थाहाँ पाएपछि, त्यहाँका प्रभुको जनले झन् सहुलियत दरमा हामीलाई कपडा निकाली दिनुभयो । उहाँको आफ्नै गार्मेन्ट थियो। बाहिरका व्यापारीहरुले पनि त्यहाँबाट कपडा लगेर बेच्दा रहेछन । दुइ चोटी गरेर, २२० जोर कपडा हामीले लियौं ।
16 / oct बिहिबार बिहान ९ बजे; निराजन भाइ र म ११० जोर कपडा लिएर रामेछापको “हात्ती टार” भन्ने ठाउँमा पुग्यौं । त्यहाँ हामी सँग हातेमालो गर्न हाम्रो सहयात्रीहरु आएर हामीलाई कुरिरहनु भएको थियो । हामी गएको ठाउँबाट मन्थली ८ कि.मि. थियो । हामी केहि समय हिंडेपछी एउटा माझी गाउँमा पुग्यौं । सकुशल पुग्न सकेकोमा सबै मिलेर प्रार्थना गर्यौँ । परमेश्वरलाई धन्यवाद दियौं । हाम्रा निम्ति बदम भुटेर राख्नु भएको रहेछ । चियाको चुस्कीसँगै त्यहाँ हाम्रो परिचय दिने लिने काम भयो ।
हामी बेलका ४ बजेतिर पुगेका थियौं । खाजा खाँदै गर्दा साँच्चै यहाँ खाँचोमा परेका र बृद्द बृद्दाहरु कतिछन भनेर नाम लेख्न लगायौं । र त्यहिँ नामसूची अनुसार बेलका केहि मानिसहरुलाई कपडा वितरण गरियो । र भोलिपल्टको सूची बनाउन तिर लाग्यौँ। 
भोलिपल्ट शुक्रबार बिहानै ६ बजे । झन्डै ३ घण्टा लागएर त्यहाँको बिश्वसिहरुको सयोगमा हामीले लगेको कपडा बाडेर सकायौं । हामीले सबैलाई दिन, पुर्याउन त सकेनौं । तर साच्चै खाँचोमा परेका र ८० देखि १०१ बर्ष सम्मको बृद्द बृद्दाहरुको बिचमा हामी पुग्न सक्यौं । 
शुक्रबारनै बिहान काम सकाएर हामी १२ बजेको सुमोमा चढेर काठमाडौँ फर्क्यौ ।

शनिबार: लगनखेलको चर्चमा सेवामा बस्यौं ।
आइतबार फेरी बाँकी कपडा लिएर हामी नुवाकोट जाने योजना तय भयो । नुवाकोटमा हुनुभएको क्रिष्ट मोक्तानको सम्पर्कमा, नुवाकोटमा हामी बस्ने ठाउँ, जाने गाउँ, र ३ वटा चर्चको अगुवाहरु सँग भेटेर संगति गर्ने योजना तयारी भयो । यस पटक निराजन भाइ र म सँग सहयात्री भएर भाइ सितल तिवारी पनि हामी सँग नुवाकोट तिर जान इच्छुक हुनुभयो ।
आइतबार बिहान ७ बजेको माइक्रो बसमा हामी त्रिशुली सम्म गयौं । त्यहाँ क्रिष्ट मोक्तानको भाइले हाम्रो लागि खानाको व्यवस्था गर्नुभएको रहेछ । त्यहाँ खाना खाएर हामी २ घण्टा जति त्यतै घुमफिर गर्यौं । अब हामी नुवाकोट काहुले जाने बसको निम्ति अघि बढ्यौं । त्यहाबाट काहुले जाने बस दिनमा दुइटा मात्र जादाँ रहेछन । एउटा बिहानै गइ सकेको रहेछ । दोस्रो बसमा हामी पुग्दा बसको सिट भरिएर पनि माथि हुटमा ३० जनाभन्दा बढी यात्रुहरु चडीसकेका रहेछन । हामीले लगेको कपडा राख्ने, अटाउने ठाउँ बसमा थिएन । तर क्रिष्ट मोक्तानको आफ्नै ढुवानी सेवाको गाडी पनि रहेछ, त्यहाँको भाइले तपाईहरु बसमा जानु समान भरे क्रिष्टको गाडीमा पठाई दिन्छु गाडी अहिले टिपमा गाको छ भन्नुभयो । यसकारण त्यो कपडाहरु त्यहीं त्रिशुलीमा छोडेर हामी हुटमा चढ्यौं । अफ्ट्यारो बाटो । कच्ची रोड । प्राय ठाउँमा दुइटा गाडी एकसाथ गुड्न नमिल्ने । तर पनि हुटमा बस्नेको संख्या ४० भन्दा कम थिएन । घुम्ती र उकालोमा कति चोटी डरले सास नै फेरिन । यहाँ सम्म कि बस्ने ठाउँ हुटमा पनि नहुदाँ म चाँही बसको पछाडी राखिएको हुटमा जाने भर्यांगमा नै झुन्डेको अवस्था थियो ।
तर परमेश्वरको अनुग्रह हाम्रो निम्ति प्रशस्त थियो । उहाँको दृष्टिमा हामी झेलिएको थिएन । सकुशल हामी पुग्न सक्यौं । हामी कार्की गाँउमा बस्यौं । क्रिष्ट दाजु हामीलाई लिन आउनुभएको थियो । उहाँको घरमा हामी पुग्न साथ हामी छोटो संगति गरिहालौं भनेर क्रिष्ट दाजुले कुरा उठाई हाल्नुभयो । त्यहाँ घरमा पुगेको १० मिनेट पनि नबित्दै हामी छोटो प्रार्थना संगतिको निम्ति मण्डली तिर लाग्यौं । र त्यहाको समाज, मण्डली, बिश्वसिहरुको बारेमा जानकारी लिंदै मिठो कुराकानी, परिचय सुरुभयो...
सोमबार: बिहानै । ७ बजेतिर हामी तयारी भयौ । क्रिष्ट दाजुको गाडी चलाउने ड्राइभर दाइले गाडीमा समान ल्याएर हामीलाई कार्की गाउँबाट सातदोबाटो भन्ने ठाउँ सम्म पुर्याउनको लागि कुरिरहनुभएको रहेछ । हामी गयौं । र सातदोबाटो भन्ने ठाउँमा हामी झरेर हाम्रो समान चाँही काहुले चर्चमा पुर्याउन ड्राइभर दाइलाई अनुरोध गरेर हामी पैदल हिड्न थाल्यौँ ।
सातदोबाटोबाट झन्डै १ घण्टा बढी हिनेपछी हामी कहुले चर्चमा पुग्यौं । काहुले चर्चमा केहि भाइहरु र त्यहाँका स्थानीय पाष्टर बुवा हामीलाई भेट्न कुरिरहनु भएको रहेछ । हाम्रो लागि खाना पनि त्यतै पकाउनु भएको रहेछ ।
कहुले चर्चमा पसेर सबैजना एकसाथ मिलेर परमेश्वरलाई सबै कुराको लागि धन्यवाद दियौं । यहिँ मौकालाई सदुपयोग गर्नको लागि “तुरही पत्रिका”को सम्वादाताको नाताले मैले स्थानीय पाष्टर बुवाको अन्तर्वार्ता लिएँ, र झन्डै २ घण्टा लगाएर उहाँको जीवनीमा प्रवेश गर्यौँ ।
२०३१ सालमा SLC पास गरेर २०३२ सालमा नेपाल आर्मीमा भर्ति भएका पाष्टरको जीवन निकै संघर्षमय थियो । १२ ग्रेटको हवलदार । दशक अगाडी नै शान्तिसेना गएका फौजी । पिन्सिन पाकेको । पिन्सिन पछी प्रभुलाई पाएको जीवन । कुवेतमा सबैभन्दा पहिला नेपाली संगति सुरु गर्दाको अनुभव जस्ता धेरै कुराहरु सुनेर हामी धेरै अशिषित भयौँ । “तुरही” को कुनै सृंखलामा उहाको बारेमा र उहाको गवाही तपाईले पढ्न सक्नुहुनेछ । यसको तयारीमा हामी छौं । यसरि पाष्टरको गवाही सुनेपछि त्यहाँ खाना खाएर हामी “भाल्चे” भन्ने ठाउँ तिर लाग्यौं । झन्डै २ घण्टा जस्तो हिडेपछि हामी “भाल्चे चर्च”मा पुग्यौं । त्यहाँ पनि स्थानीय पाष्टर सँग भेट्ने मौका पायौं । त्यहापनि छोटो प्रार्थना संगति र परिचय गर्ने काम भयो । भुटेको मकै, कालो चिया सँग प्रेमको भावहरु जन्माउनुको आनन्द धेरैले पाएका छैनन् । जो हामीले त्यहाँ पायौं ।
भाल्चे गाविसमा ९०% इसाई भएका र त्यस ठाउमा दुइ हजार भन्दा बडी विश्वासीहरु रहेको सुन्दा, घन्टौ लगाएर हिडेको थकाइहरुमा तुरुन्त स्वस्थताले छोयो । नुवाकोट र रसुवाको सिमान त्यति माथि गाउँमा यति धेरै विश्वासीहरु भएको देख्दा परमेश्वरको राज्य निकै नजिक देखें मैले । त्यहाँको हरेक घरमा पस्दा जयमसीह भनेको सुन्न पाइन्थ्यो । घरहरुमा, क्रुसको चिन्ह । स्कुलमा क्रुसको चिन्ह । त्यहाँको सिंगो गा.बि.स.ले नै येशुमा बिश्वास गर्नुमा छुट्टै इतिहास रहेछ । परमेश्वरले चाहनुभयो भने कुनैदिन त्यहाँको डकुमेन्ट्री बनाउने प्रार्थनामा छु म । यसरि त्यहाँ गएका गाउँहरुमा कपडा बाढ्दै, प्रभूको जनहरु सँग संगति गर्दै आशिषको पोका बोकेर हामी काठमाडौँ फर्क्यौं ।
धन्यवाद : 
सर्वप्रथम परमेश्वरलाई सबै कुराको लागि धन्यवाद । नर्वेमा रहेका विश्वासीहरुलाई सयोगको निम्ति धेरै धेरै धन्यबाद ! हाम्रो सहयात्री; रामेछाप, र नुवाकोटको विश्वासीहरुलाई धेरै धेरै धन्यवाद । हाम्रो यात्रा र सेवाकाइको निम्ति प्रार्थना गरिदिनुहुने सबैजनालाई धन्यवाद ।

October 24, 2014

श्रवन बोम्जन