ख्रीष्टियान मिडियाहरुप्रति इसाईहरुको चासो बढ्नुपर्यो।


गएको केहि हप्ता यता ख्रीष्टिय महासंघ नेपालले प्रधानमन्त्रिलाई अल्टिमेटम बुझाउन जानुहुँदा र मानव अधिकार हलसम्म पुगेर धर्म निरपेक्ष अपरिवर्तनीय हुनुपर्ने कुरामा बहस गर्नुहुँदा नेपाली इसाई पत्रकारहरुलाई समेटेको पाउँदा अब चाँही केहि परिवर्तन र साँच्चै सबै एक भएर बढ्न आँटेको अनुभब भएको छ। 

यसरिनै यहि महिनामा दुइवटा सुसमचारिया इसाई चलचित्र अगापे प्रेम र गल्छेडोले पनि समिक्षाको रुपमा इसाई पत्रकार सम्मेलन गरि इसाई जगतमै पहिलो चोटी यो खालको परम्परालाई सुरुवात गरेका छन् । 

तर, अझैपनि इसाई मण्डली, संघसंस्था, हाम्रो पाष्टर अगुवाहरू मिडियामा आउनुपर्छ भन्ने कुराबाट टाढा रहन चाहन्छन् । मलाई थाहा छैन किन हो २५ लाखको हाराहारीमा रहेका इसाईहरुले आजको यो आधुनिकतामा पसिसकेर पनि किन लुकेर जिउन चाहन्छन् ? लुकिरहेकाछन् ? मिडिया, संचारलाई स्वीकार गर्न सिकेका छैनन् । कहिल्येसम्म लुक्ने ?

यदि तपाइँ र म देखिन चाहदैनौं भने पक्कै हामीमा केहि न केहि कारण लुकेको हुनुपर्छ । नत्रता हामी देखिनु सिक्नु नै हाम्रो आस्थाको लक्ष्यप्रति इमान्दार हुनु हो । यदि हामीले आफैलाई हामी अल्पसख्यमा छौ भनेर मिडियालाई बेवास्ता गरेका छौ भने यो प्रविधिले हाम्रो शक्तिको क्षमता झन् घटाउने काम गर्नेछ । अब मिलेर अगाडी बढ्ने हो कि ? 

हाम्रो इसाई समाजभित्र एकले अर्कोलाई उठाउने काम एकदम फितलो हुँदैगएको छ । चर्च भवन मात्र उठाउने कि, प्रभुलाई पनि उठाउने हो ? आफु मात्र उठ्ने कि, अरुलाई पनि उठाउने हो ? एकतामा उठ्यौं भने निश्चय नै हाम्रो जग बलियो हुनेछ । एक्लै उठ्न चाहनुहुन्छ भने तपाइँ लर्खरिंदा कहाँ अडेस लाग्नुहुन्छ ? 

केहि मित्रहरुले भन्नुभएको इसाई गतिविधिलाई र हाम्रो समुदायमा घटेको घटनालाई खुलासा गर्नुहुदैन प्रार्थना गर्नुपर्छ रे ! सहि कुरा, हो हामीले प्रार्थना गर्नुपर्छ । तर हाम्रो नयाँ सन्ततिले पाउनुपर्ने अधिकारको सुनिश्चितता र आस्थाको स्वतन्त्रताको निम्ति हामीले केहि नगर्ने र ? म जहिले पनि भन्ने गर्छु हामी शरीरको लडाई लड्दैनौ तर सत्यलाई चुम्ने बिचारको लडाई लड्नुपर्छ । 

कति चोटी NCF , FNCN मा नयाँ सचिव र अध्यक्ष चयन हुदा पनि हामी इसाईहरुलाई जानकारी हुँदैन । अनि उहाँहरुले हामी ८५०० नेपाली चर्चको प्रमुख प्रतिनिधि भएको कुरा भनिहिंड्दा, हामी नै हाम्रो प्रमुखहरुलाई चिन्दैनौं । यहाँ सम्मकी सिंगो इसाईहरुको प्रतिनिधि भएर राज्यसम्म पुगिरहेको हाम्रा इसाई महासंघ, NCF, विभिन्न अन्य संघसंस्थाहरुको बारेमा पनि हाम्रो मण्डली, विश्वासीहरू बेखबर रहेका छन् । के यो सब इसाई मिडियालाई गरिएको बेवास्ता नै होइन र ?

अहिले वर्तमान समयमा मिडियाको महत्वलाई अलि अलि बुझ्न थालेका हामी इसाईहरुले यसलाई अझ बुझ्न र गहिरेर यससँगको सम्बन्धमा रहन एकदम आवस्यक देख्दछु म l 

इसाई मिडियासँग गासिन सिकेकाहरूलाई धन्यवाद! 

हाम्रो एकता, शक्ति र मण्डली जोड्नको निम्ति मिडियालाई पनि एउटा भूमिका निर्वाह गर्नदिऔं l

श्रवन बोम्जन