सधै किन अरुहरूको बारेमा मात्र लेख्ने? कहिले कहिँ त आफ्नै बारेमा पनि लेख्नुपर्छ । हुनलाई प्राय: इसाई समुदायमा अझै पनि यी कुराहरु पच्दैनन l मैले आफ्नो बारेमा भन्नाले मेरो बारेमा होइन हाम्रो आफ्नो मानिसहरुको बारेमा भन्न खोजेको हुँ l
गएको केहि समय अगाडी सुन्दरीजलको घटनालाई हेर्दा प्राय: एकतामा नदेखिने हाम्रो मण्डलीहरुमा पातलो एकता देखिन थालेको छ l बिशेषगरि यो एकता प्रत्यक्ष उपस्थित व्यक्तिहरुमा भन्दा पनि सामाजिक संजालद्वारा जोडिएकाहरुमा बढी देखिएको छ,l बास्तबमा इसाईहरुमा एकता छैन भनेर बुझाई राख्ने मानिसहरु गलत पनि हुन् । यसलाई प्रमाणित गर्ने खालको एउटा धमाका नै मच्चियो फेसबुकको भित्ताहरुमा । साथै इसाईहरुमा एकता छैन भन्ने कुरालाई यसले झुटा तुल्याईदियो l हरेक जसोले सुन्दरीजलको घटनालाई धेरै नजिकबाट नियालेर प्रार्थना गरे र सबै प्रार्थनाको प्रतिफल स्वरुप परमेश्वरले उहाँको जनहरुलाई लाजमा पर्न दिनुभएन l
सबै कुरा असल नै रह्यो तर मलाई चाहिं कति कुराहरु चित्त बुझेन । फेरी सबैलाई चित्त बुझेको कुराहरु मलाई पनि चित्त बुझ्न नै पर्छ भन्ने कानुन नेपालमा नभएकाले मलाई केहि कुरा राख्न नै पर्छ भन्ने लाग्यो l मैले केहि समय अगाडी एउटा छोटो लेख लेखेको थिए “बिश्वसिहरूमा एकता छैन कि ? अगुवाहरूमा? - भनेर । ठिक त्यहि समस्या मैले फेरी पछिल्लो घटनाहरुको बिचमा पनि देखेको छु l ठिकै छ एकताको कुरा पछि गरौंला । पहिला, यस घटनाको बिचमा हाम्रो शक्ति कति प्रयोग भएको छ भन्ने कुरालाई विचार गरौँ न l
झन्डै चालिस जना मानिसहरुलाई बिना पुर्जी पक्राउ गरेर चौकीमा तीन दिनसम्म कैदीसरह राख्दा, हामीले हाम्रो शक्ति कति प्रयोग गर्यौं होला ? उदारहणको निम्ति पछिल्लो एउटा घटनाका बारेमा अलिकति जानकारी दिन चाहन्छु । सुन्दरीजलको घटनामा तिन दिन सम्म कस्टडीमा रहेका हाम्रो विश्वासीहरुलाई रिहाइ गरि सकेपछी, मेडिकल कलेज नजिकै रहेको पाष्टर अंक ध्वोज मोतेको चर्चमा फेरी एकजना अपरिचित व्यक्तिले चर्चको ढोका खोलेर जबर्जस्ति गर्दै मण्डलीको चारै तिर फोटो खिच्न सुरु गरे, र मण्डलीको मान्छेले त्यसो नगर्न त्यस मानिसलाई अनुरोध गर्दा पनि म पत्रकार हो हामीलाई मन्दिर, चर्च जहाँ पनि फोटो खिच्ने अनुमति छ भने जबर्जस्ति प्रकट गरे । पछी त्यस मण्डलीका पाष्टरले पुलिसलाई फोन गरे पछी पुलिसले त्यस फोटो खिच्ने व्यक्तिलाई सोधपुछको लागि नियन्त्रमा लियो । चौकीमा लगेर उसको क्यामरामा हेर्दा अघिल्लो हप्ता सुन्दरीजलमा घटेको मण्डलीको फोटो पनि त्यस व्यक्तिसँग भेटियो l दु:खको कुरा चाँही के भने त्यस फोटो खिच्न आउने व्यक्तिलाई चौकीमा राखेको केहि समयमा नै एउटा पार्टीको प्रतिनिधिले त्यस व्यक्तिलाई चौकीबाट निकालेर लगे ।
खास मैले भन्न खोजेको कुरा अब सुरु गर्छु । के एक जना व्यक्ति जसलाई मण्डलीको तस्बिर सहित पक्रेको छ त्यसलाई एकैछिनमा एउटा पार्टीको कार्यकर्ताले आएर छुटाएर लान सक्छ भने, बिनाप्रमाण थुनिएका त्यत्तिका मानिसहरुलाई इसाई सभासदले चौकीमा भेटेर, फोटो खिचेर मात्र फर्कनु कत्तिको जायज हो ? हुन त हाम्रो इसाई सभासदले जनजागरण पार्टी इसाई पार्टी होइन भन्छन त्यो ठिक छ, तर उहाँलाई सभासद बनाउन भोट हाल्ने त इसाईहरु नै हुन् नि हैन र? उनले चौकीमा इसाईहरुलाई भेट्न जादा किन भन्ने सकेनन कि यो मानिसहरुलाई किन थुनियो ? नेपालको कुन चाँही कानुनमा लेखेको छ बिना पक्राउ पुर्जी तिन दिन सम्म थुनेर राख्न पाइन्छ भनेर ? हाम्रो सभासदले किन यो कुरा गर्न सकेनन् ?
राजनीतिक भाषामा भए पनि उहाँले त्यहाँ रहंदा कि यो मान्छेहरुलाई छोड कि मलाई थुन भनेर भन्न सक्नुपर्ने थिएन र ? सभासद्लाई त पक्कै थुन्ने थिएन होला l यदि ति थुनामा परेका इसाईहरुले गलत काम गरेका भए पनि हामीले आफ्नो शिर झुकाउन मिल्थ्यो तर यहाँ त कानुन बिपरित थुनिएको अवस्था हो l
मैले सुनेको ताल पर्यो भने ६०१ सभासद्को हुलमा एक जना सभासदले आफ्नो शक्ति देखाउन सक्छ रे तर यहाँको अवस्था किन अर्कै रह्यो?
संबिधानसभा भित्र अरुले हिन्दूराष्ट्र हुनुपर्छ भनेर नारा लाउदा उहाँ बोल्न सक्नुभएन; हामीले केहि भनेनौं तर दिनदहाडै बिना पक्राउ पुर्जी हाम्रो मानिसलाई थुनिंदा गएर फोटो खिचेर मात्र आउने हो र भन्या ? एकजना व्यक्तिलाई एउटा कार्यकर्ताले एकैछिनमा निकालेर लग्यो जो बास्तबमा दोषी थियो l तर एउटा ठुलो शक्तिको अगुवाले यति काम गर्न नसक्नुमा हाम्रो शक्ति कति खर्चियो भन्ने कुरा प्रष्ट भएन र ?
हामीले शरीरमा रिस देखाउन झगडा गर्नपो मिल्दैन तर बहसमा झगडा गर्न त पाइन्छ नि, खै कहाँ खर्चियो हाम्रो शक्ति ? अर्को कुरा भोलिपल्ट नेइम ललितपुरमा यहि घटनालाई लिएर इसाई संघसंस्थाका मानिसहरु देखि लिएर विभिन्न मण्डलीका पाष्टरहरुको भेला भएको थियो रे l सायद पछिल्लो समयमा यहि घटनालाई लिएर केहि इसाई सस्थाका अगुवाहरुको एकसाथ भेला भयो l के तपाईंलाई थाहा छ? त्यहाँ भेला भएका प्राय: चलेका संस्थाका अगुवाहरुको एकआपसमा बोलचाल नै छैन, तपाईंलाई यस्तो कुरा सुन्दा अचम्म लाग्न सक्छ: अरे... बोलचाल नै छैन ? हो रहेछ भन्या बोलचाल नै छैन । यस्तालाई हामीले अगुवाको दर्जा दिएका छौं, एकआपसमा क्षमा दिएर सम्बन्ध बनाउन नसक्नेले सिङ्गो इसाई समुदायको सम्बन्ध बलियो बनाउन कसरि मदत गर्छ ? किन हामीलाई झुटो एकता देखाएर झुक्याई रहेको छ ? यस्ता अदेखा सत्यतालाई अहिलेको इसाई पत्रिकाहरु र मिडियाले खोल्न रुचाउदैन किन ?
धेरै जनाले यो सतावटको कारण अगुवाहरुको एकता देखियो भनेर भन्दै गरेको मैले सुने, म आफै पनि बिहान देखि बेलुका सम्म चौकीको ढोकामा गएर बसेको थिए l साथीहरु, सबै अगुवामा यो लागु हुदैन तर जो जत्ति ठुलो-ठुला इसाई संस्था-संगठनमा आबद्द छन् नि उनिहरु आफै-आफैमा नै मिलाप छैन l तपाईंलाई मैले लेखेको कुरा धेरै कडा लाग्न सक्छ l साच्चिकै अब इसाई भित्र पनि सत्य कुराहरु तितो हुन थाली सक्यो यो रोग हो हाम्रो l
हामीलाई झुटो एकता र आफुलाई शक्तिशाली बनाउन मत माग्ने लिडरहरु चाहिएको होइन l राजनीति गर्नेले राजनीतिको भाषामा आफुलाई उभ्याउन सक्दैन भने किन राजनीति गर्ने ? संस्थाहरुमा अगुवा भएर अगुवाको रुलमा प्रस्तुत हुन सक्दैन भने पावलले भनेको जस्तै झ्याई झ्याई गर्ने झ्याली मात्र बनिएन र भनेको ? पास्टर भएर एकअर्कालाई क्षमा दिएर सम्बन्ध सुधार्न सक्दैन भने हामीलाइ गहिराइमा हराएको बेलामा कसले, कसरि खोज्ने ? कि सबैजना आफ्नो-आफ्नै सम्मान र पदको निम्ति मात्र प्रस्तुत हुने र जिम्मेवारी आउदा चाँही अनेक नाटक गर्ने हो ?
अहिलेको परिस्थितिले हामीमा नाटकीय एकताको माग गरेको होइन, साँचो एकताको निम्ति हाम्रो इर्स्याबाट भाग्न हामीलाई झस्काई रहेको छ l अबको दिनहरुमा यस्ता घटना तपाईंको मण्डलीमा आउदैनन भन्न सकिंदैन, मेरोमा नआउला भन्न सकिंदैन l कहिलेसम्म झुटो एकतामा रमाउने ? कहिलेसम्म नाटकीय प्रेमको उपस्थिति मात्र गराउने ? कहिलेसम्म पदको निम्ति मात्र समर्पित हुने ? साँचो भाइचारा प्रेम हाम्रो कहाँ हराईरहेको छ ? कहाँ लुक्दै छ हामी भित्रको साँचो मानिस ?
श्रवन बोम्जन
