ख्रीष्टमसको नाउँमा हाम्रो समुदायमा हुँदै आएको खराब अभ्यासलाई हामीले सुधार गर्नुपर्छ


प्रत्येक वर्षको ख्रीष्टमसमा नयाँ लुगा लगाउनु, मीठो–मीठो खानु, रमाईलो गर्नु बाहेक अरु परिवर्तन हामीमा छैन । ख्रीष्टमसको नाउँमा हाम्रो समुदायमा हुँदै आएको खराब अभ्यासलाई हामीले सुधार गर्नुपर्छ भन्ने कुरामा पनि हाम्रो ध्यान गएको अवस्था देखिएको छैन । 

पुसमा ख्रीष्टमस हो, मङ्सिर लाग्नासाथ नेपालको अधिकांश मण्डलीहरूमा क्यारोल खेल्न सुरु गरिन्छ | घर-घरमा गई भजन गाउनु, नाच्नु, ख्रीष्ट येशू संसारमा जन्म लिएर आउनुभएको, खुशीको दिनलाई चर्चा गर्नु, उहाँको गवाही बाढ्नु र यहि माध्यमलाई प्रयोग गरेर सुसमाचारलाई जनमानसको बिचमा पुर्याउनु हाम्रो प्रमुख उद्देश्य पनि हो | तर, ख्रीष्टमसमा हुँदै आएका अभ्यासलाई हामीले कतिचोटी नजिकबाट ननियाल्दा ख्रीष्टमसको नाउँमा भइरहेको गलत प्रभाब, र यसको अभ्यासले हामीसँग भएको सुसमाचारलाई फितलो बनाइरहेको जस्तो मलाई लागेको छ |

क्यारोल बाइबल अनुसार जस्ताको तस्तै नभएता पनि हामीले यसलाई परमपराको रुपमा ख्रीष्टको गवाही, साक्षी हुनको निम्ति स्वीकार गरेका छौं | ख्रीष्टमसमा क्यारोल खेल्ने बिकासको गतिले नेपाली इसाईहरूलाई निकै द्रुत गतिमा पक्रेको छ | हुनत हाम्रो इसाई समाजमा ख्रीष्टमसलाई मान्ने र नमान्ने छुट्टाछुट्टै साम्प्रदायिक समुदायहरु छन् जसले आआफ्नै सम्प्रदाय अनुसार इसाई आस्थालाई आफ्नो व्यवहारमा उतारेका छन् ।

ख्रीष्टमसको खुबै आलोचना गर्ने र यससम्बन्धमा आआफ्नै तर्क राख्नेहरू पनि हाम्रो बिचमा प्रशस्त छन् । ख्रीष्टमस मनाउनुहुन्छ या हुँदैन भन्ने बिषयमा म चाँही बिश्वासीहरूले नै निर्क्योल गर्नुपर्छ भन्ने मान्यता राख्छु ।

मैले आज ख्रीष्टमसलाई जोडेर उठाउन चाहेको कुराहरू चाँही ख्रीष्टमसको दिनमा मण्डलीमा उठाइने भेटि, क्यारोल खेल्न जाँदा तोक्ने पैसा र खानाको लागि उठाउने पैसासँग सम्बन्धित छ । क्यारोल खेल्न कसैको घरमा आए पछी, भेटिस्वरूप केहि पैसा दिएर खान-पिनमा सहभागी गराउने जस्ता चलन हाम्रो बिचमा भेटिने गरेको छ ।

जब ख्रीष्टमस नजिकिन्छ मण्डलीमा बिश्वसिहरूलाई पुलपिटबाट सोधिने गरिन्छ: के तपाईंको घरमा क्यारोल राख्न चाहनुहुन्छ ? त्यति खेर अलिकति सक्षमहरुले हात उठाउछन् र भन्छन् हामी राख्न चाहन्छौ । तर त्यही मण्डलीमा कोही-कोही यस्ता परिवारहरु पनि हुन्छन् जो चाहेर पनि मेरो घरमा क्यारोल खेल्न आउनुहोस् भन्न सक्दैनन्, किनकि उनीहरु कतिजनाले राम्रो खाजा र भेटि दिन नसक्ने अबस्थामा आफुलाई पाएका हुन्छन् । यसरि ख्रीष्टको नाउँमा गरिने संगतिमा आर्थिक समस्याले गाजेका बिश्वसिहरूको स्तरलाई अलग गराइरहेको हुन्छ । यद्यपि, यो कुरालाई हामीले बेवास्ता गरिरहेका छौं । फलस्वरूप बिश्वसिहरूको एकरुपतालाई चिर्दै खराब फल फलाउने रुखले हाम्रो बिचमा आफ्नो जरा फैलाईरहेका छन् ।

तर हाम्रो मण्डलीहरुले यो खाले अभ्यास मात्र जारि राखेर इसाई परिवारहरुलाई बुझ्न नसक्नु, अर्थात् उनीहरुमा परेको असरलाई नबुझ्नु एकदम दु:खको कुरा ठान्दछु म ।

बिदेशमा भएको मण्डलीहरुले क्यारोल खेल्दै विश्वासीको घरमा पैसा उठाउदै हिंडेको मैले कहिल्यै देखिन; मैले मात्रै थाहा नपाएको पनि हुनसक्ला । आफैलाई आफ्नै विवेकको खल्तीमा राखेर भन्नुपर्दा ख्रीष्टमस र क्यारोललाई हामीले देउसी बनाइरहेका छौ । हाम्रो समुदायको बुद्धिजीविहरु पनि ख्रीष्टमसको नाउँमा भईरहेको गलत अभ्यासको बारेमा मौन बसेको पाउँदा म छक्क छु ।

क्यारोललाई ख्रीष्टको महिमाको निम्ति सान्दर्भिक र मुक्तिदाताको जन्मको सुसमाचारको श्रेयको रुपमा अभ्यास नगरेर फन्ड रेजिंग कार्यक्रम झैं बनाउनु एकदम गलत अभ्यास हो ।

वास्तविक कुरा अझ यो ख्रीष्टमस भनेर मनाइने दिनमा नै येशू जन्मेको भन्ने कुनै आधारभूत प्रमाण पनि छैनन्, र इतिहासलाई हेर्दा अ-इसाईहरुको एउटा चाड थियो भनेर हामीले बुझ्न सक्छौं । ख्रीष्टमस मान्नुहुन्न भन्ने पक्षमा त म छैन, तर यसको अभ्यासले फैलाई रहेको देउसी कार्यक्रम झैं लाग्ने, भेटि बटुल्न मात्र सिमीत कार्यक्रम गरेर हिड्ने कि, साँच्चै ख्रीष्ट पापिहरुका निम्ति जन्मिनु भएको बिश्वास र खुशीको समय सम्झेर मण्डली सबै उहाँको नाउँमा आनन्द मनाउने हो ? भन्ने बिषयमा मलाई कौतहलता जागेको छ ।

हुन त कसै-कसैले क्यारोल गाउन आउनेहरुलाई नखुवाए पनि हुन्छ भन्छन् तर सबैले खुवाउनाले आफूले पनि खुवाउनै पर्ने बाध्यता हुन्छ | यसरी त यो समय झन् आर्थिक बोझको कारक बनेन र? अझ बिडम्बना भनूँ; ज-जसले घरमा क्यारोल खेलाउन सक्दैन वा खुवाउन सक्दैन त्यसको घरमा क्यारोल हुँदैन तर त्यसको घरको भेटि चाहिं स्वीकार गरिन्छ ।

आफ्ना विश्वासीजनहरूलाई वर्षमा एकपटक खुवाउन पनि के दुःख मान्नुजस्तो त हुन्छ तर यस किसिमको चलन खर्चालु हो। म चाहन्छु, सबैको घर-घरमा क्यारोल होस्, प्रभुको भजनमा नाचगान होस् तर खुवाउने-पियाउने र भेटी डालोमा भर्नपर्छ भन्ने खालका मनसायमा होइन । के केहि दिन नसक्ने विश्वसिको दैलोमा गएर हामीले प्रार्थना गरिदिन सक्दैनौ र ?

अहिले यहाँ ख्रीष्टमस र क्यारोलको बिषयमा साँच्चै छलफल गरौ भने पनि; यो आफैमा बिबाद ल्याउने खालको मितिमा अल्झेको छ । तापनि जुनै मिति र दिनमा भएपनि ख्रीष्ट हामी पापीहरूका लागि यस संसारमा जन्म लिएर आएका हुन् भन्ने सत्य गवाही र विश्वासले हामीलाई यो ख्रीष्टमसको समयलाई बिशेष बनाउन प्रेरणा मिल्दछ भने अझैं कति मण्डलीहरुले ख्रीष्टमसलाई मान्नु नपर्ने चाडको रुपमा लिन्छन् र मान्दैनन पनि ।

ख्रीष्टमसको नाउँमा क्यारोल खेल्न घर-घरमा गएर भेटि उठाउने जस्ता चलनको सुरुवात नेपाली मण्डलीमा कसले कहिले गरेको होला ? म पनि यो कुरा जान्न इच्छुक छु । यस्तो चलन रोक्न के गर्नुपर्ला ? रोक्नु जायज कि नाजायज ? यस्तै चलन रहे ‘गरिबलाई दसैं दशा’ भनिए झैं ‘गरिबलाई ख्रीष्टमस दशा’ भन्ने दिन पनि नआउला र?

गएको बर्ष मेरो घरमा पैसा थिएन्, अनि मेरो घरमा क्यारोल टोलि पनि आएन भनेर गुनासो गर्नेहरु धेरै छन् । के तपाईं भेटि उठाउनुकै निम्ति यो उत्सव मनाउदै हुनुहुन्छ ? ख्रीष्टको संगति, दिन सक्ने र दिन नसक्नेमा विभाजित भएको छ र ? किन मण्डलीमा भएका कमजोर विश्वासीहरूलाई लज्जित तुल्याउने अभ्यास गर्दैहुनुहुन्छ ? गर्दै छौं हामी? सायद सबै मण्डलीमा मैले लेखे जस्तो नहोला, तरै पनि ख्रीष्टमस नामलाई लिएर हामीले धेरैवटा गलत अभ्यासलाई भित्र्याएको कुरा चाहिं लुकाउन सकिदैन ।

के सबै विश्वासीहरू एकै ठाउँ (मण्डली) मा भेला भएर ख्रीष्टमस मान्न सकिन्न र? ख्रीष्टमस दिनमा खानपिन, र सुसमचारिय कार्यक्रम राख्नको लागि विश्वासीहरूबाट पैसा उठाउने चलन पनि छ, यसरि सबैले मिलेर पैसा उठाएर गरेको काम आफैमा साह्रै राम्रो कुरा हो । तर मण्डलीले तोके जति रकम सबै विश्वासीले दिन सक्दैनन् । उदारहणको लागि: प्रतिपरिवार रु. २,०००/- उठाउने कुरा भयो तर मण्डलीभित्रका सबैसँग ख्रीष्टमसको निम्ति भनेर त्यति रकम छुट्याउने क्षमता हुँदैन, जसले गर्दा दिन नसक्नेहरू यी कुराहरुबाट भित्रि रुपमा दुखित हुन्छन् । किनकि सबैले दिए मैले दिन सकिन भनेर उनीहरूले आफैलाई कमजोर महशुस गर्नथाल्छन् | यस्तै सानासाना कुराले हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई दुखि बनाउँछ भने हामी मात्र चाहिं कसरि उत्सवमा खुशी हुने र? यस्ता समस्याहरूलाई तपाईंले आफ्नो मण्डलीमा कसरि सम्बोधन गर्दै हुनुहुन्छ? ऋण लिएर दशैँ माने जस्तोगरि क्रिसमस मान्न विश्वासीहरुलाई उक्साउनु/बाध्य पार्नु भएको छ भने त्यो सरासर गलत अभ्यास हो ।

हामी इसाईहरूका निम्ति त ख्रीष्टमसको दिन मात्र नभइ हरेक दिन नै बिशेष दिन हो । विश्वासीहरूलाई देउसी र दशैमा झैं रिति-तिथि पुरा गर्न नसिकाउनुहोस् । आत्मामा जिउन सिकाउनुहोस्, कमजोर र दुर्बलले पनि प्रशंसा गर्न सक्ने हाम्रो महान परमेश्वरको प्रेमले घेर्नुहोस्, धनी र गरिबलाई छुट्याएर हेर्ने दृष्टिकोणलाई बदल्नुहोस्, ख्रीष्ट येशुमा सबै समान हुन् भनेर बुझ्नुहोस्- बुझाउनुहोस् । प्रभूले विधुवाको भेटि स्वीकार गरेझैँ मण्डलीमा भएका दुर्वल परिवारलाई स्वीकार गर्नुहोस्, दिन सक्नेहरूलाई मात्र खुशी नपार्नुस्, दिन नसक्ने परिवारसँग पनि खुशी बाढ्नुहोस। उनीहरूलाई मण्डलीका गतिविधिहरूमा अगाडी ल्याउनुहोस् ।



नोट: यो मेरो व्यक्तिगत विचार हो ।

#shrawanbomjan
श्रवन बोम्जन