गरिब र विकट समाजमा आशिष पर्दा पनि लुट्न निस्के यिनीहरु ।

भाग्दै गर्दाको रमाइलो र भागेर थाकी सकेपछिको पछुतोले जीवनलाई अक्सिजन कम भएको गहिराइ र उचाइमा पुर्याएको जस्तो अनुभव मैले गरेको छु । 

म सानो छंदा, ईन्डिया-दिल्ली जाने भनेर भाग्दै जाँदा भुटान र ईन्डियाको सिमाना जयगाउँ भन्ने ठाउँमा पुगेको थिएँ । त्यहाँ पुगेर आफ्नो योजना असफल भएर फर्केपछी, झापामा केहि समय बस्दा पहिलो पटक भुटानी नेपाली शरणार्थीहरूको बारेमा मैले थाहा पाएको थिएँ । कतिजनालाई त क्यारिम बोर्ड खेल्ने क्रममा साथी पनि बनाएको थिएँ । सायद उनीहरू इलामको चुलाचुली भन्ने ठाउँतिर बस्थे क्यार । 


एकचोटी साइकल कुदाउँदै टाढाटाढा घुम्न जानेक्रममा एउटा क्याम्पमा पुगेको सम्झना आउँछ । त्यहाँको अवस्था हेर्दा उनीहरु भन्दा बढी म नै मायालाग्दो र विचरापनमा थिएँ । तर पनि मसँग यो देशमा रहने अधिकार थियो जुन उनीहरूसंग थिएन ।

ठिक उल्टो गुण प्रकट गर्ने परिक्षामा हामी पर्ने परिस्थितिहरु हुँदो हामीलाई जान दिएर परमेश्वरले हाम्रो जीवनमा उदेकको काम गर्नुहुँदोरहेछ । भुटानबाट आएका आप्रवासी नेपाली शरणार्थीहरूको बीचमा यस्तै भएको छ । 

तपाईं र मेरो अन्तस्करणभित्र घटेको घटना जति महत्वपूर्ण कुरा हाम्रो बाहिर जीवनमा घटेको कुरा हुँदैन । 

अब हाम्रो जीवनको निम्ति चुनौती भनेको हामिले बिताएका घोर अन्धकारको दिनहरु सम्झेर, आराधनाका अति गम्भीर निकटतम अनुभव प्राप्त गर्न सक्ने गहिराइमा पुग्नु हो । यदि स्वार्थको भडखालोलाई पुर्न र परमेश्वरको निगाहको आत्मामा बग्न, विश्वासको लहर फिजाई राख्ने हो भने भुटानी इसाईहरूको बीचमा परमेश्वरको प्रेमको पाल तन्की रहनेछ ।

उत्साहको कुरा गर्दा गर्दै खिन्नताको भागलाई नछुइरहन नमिल्ने एउटा कालो दाग हाम्रा कतिपय अग्रजले हाम्रो इसाई विश्वासको आत्मामा दलेर बसेकाछन् । यो कुरालाई हामीले अहम र रिसको निम्ति होइन, तर हाम्रो अहिलेको पुस्ताको दृष्टिभ्रमलाई पखालनको निम्ति कहिलेकाहिं उठाउनु परिरहेको छ ।

जब भुटानी नेपालीहरु अमेरिकामा पुनर्स्थापित भैसकेका थिएनन्, तबसम्म अहिले नेपालबाट अमेरिकामा गएका कतिपय पाष्टरहरूसँग भुटानी नेपालीहरुको बीचमा काम गर्ने दर्शन नै थिएन । जो अहिले अमेरिकामा सेवकाईमा छन । कतिपय अमेरिकामै भएकाहरुपनि सेलाएर बसेको अवस्था थियो ।

भुटानीहरू अमेरिका र अन्य शक्तिशाली राष्ट्रहरूमा प्रवेश गर्न थालेपछि नेपालमा भएका कतिपय अगुवाहरूमा पैसा र सुविधाजनक जीवनको मोह बढेको कुरा आज हामी प्रष्ट देख्न सक्छौ । अहिले ती राष्ट्रहरुमा सेवाकाई गरिरहेका कतिपय पाष्टरहरूसँग त्यहाँ सेवाकाइ गर्ने दर्शन थिएन खाली अमेरिकन एम्बेस्सीले भिसा दिएमा घुमेर आउने योजना थियो । र भिसा पाउलान् कि नपाउलान् भनेर प्रार्थनामा सिमित थियो । अन्त्यमा भिसा नपाउनेहरूले प्रभुको इच्छा भनेर यतै चित्त बुझाए । र भिसा पाएकाहरुले घुम्न गएको भिसा पक्रेर अब उतै सेवाकाइ गर्ने मेरो दर्शन हो, यसैको निम्ति परमेश्वरले मलाई पठाउनु भएको हो भनेर त्यतै बसे । जवकि भिसा नलागन्जुले उनीहरुसँग दर्शन थिएन । 

नपाउनजेल प्रभुलाई अगाडि राखे, पाएपछी प्रभुलाई पछाडी राखे । पैसाले दर्शन देख्यो । पैसाले प्रभुको इच्छा भन्ने शब्दलाई किन्यो । पैसाले गर्दा थर फेरेर बसे । कोहि शरणार्थी नै बनेर बसे । कसैले नेपाली पहिचान नै बेचेर बसे । 

कसरी ईश्वरिय राजगद्दीको सदस्यता लिए यिनीहरुले ? ईश्वरको म्यानेजर भएर कसकसको आत्मालाई छलेनन् होला ? यिनीहरुलाई हेरेर, देखेर कसले इसाईहरुलाई डलरमा बिकेको भन्दैनन् होला ? 

अमेरिका बस्नेलाई मात्र के भन्ने काठमाण्डौं बस्ने दर्जनभन्दा बढी पास्टरहरू करोडौंपति र अरबौंपति छन् । यिनीहरुको मासिक तलव कति होला ? १ लाख ? पचास हजार ? कुनै मण्डलीको पाष्टरलाई चर्चले ५० हजार मासीक भत्ता दिएको देख्नुभएको छ ? 

उदाहरणका लागि महिनाको १ लाख भत्ता भए तापनि ४० वर्षमा १ अर्व पुग्दैन । फेरि ४० वर्ष लामो समय सेवाकाइ गरेका केही असल पाष्टरहरु बाहेक अरु यहाँ को नै छ र ? यिनिहरुसँग अरबौं पैसा कहाँबाट आयो ?

नेपालमा नेता, केही सरकारी कर्मचारी, केही हिन्दू मन्दिरको पण्डित, र केही ख्रीष्टियन चर्चका पाष्टरहरू, र केही NGO कर्मिजति भ्रष्टाचारि कोहि नहोलान् सायद ! कतिचोटी हिन्दुहरुले ख्रीष्टियनहरुलाई डलरमा बिकेका भन्छन्, म एक इसाई भएर पनि यो कुरोलाई स्वीकार गर्छु तर दोषारोपण गर्नेहरुको भाषामा होईन । किनकी सबै त्यस्ता छैनन् । तर यहाँ छन् त्यस्ता भनाउँदा केही पाष्टरहरू पनि जसले इसाईहरूको बदनाम गरिरहेका छन् ।

नाजायज रुपमा पाष्टरहरूले कमाएका बिनाश्रोतको सम्पत्तिलाई नेपाल सरकारले छानबिन र जफत गर्ने हो भने भोलीदेखि यिनीहरुले जयमसिह पनि भन्न नछोड्लान् भन्न सकिन्न । अवश्य ती दिनहरू पनि आउनेछ । आउनुपर्छ । UMN जस्ता गरिबको सेवामा खडा संस्थाको सम्पत्तीमाथि त नजर लगाउने सरकारले यस कुराहरूको छानबिन नगर्ला भन्न पनि सकिन्न ।

कान्छी श्रीमती ल्याउने नेताले देशमा शान्ति ल्याउछु भन्नू र पैसामा बिकेकाहरुले मुक्ति पाउँछु भन्नू आफैलाई धोका दिनु हो ।

अझै समय छ । त्यो चोरेर राखेको पैसा निकालेर गरिबको सेवामा लगानी गरिहाल्नु । चर्चलाई आएको पैसाले किनेको आफ्नो नाउँका जमिनहरू चर्चको नाउँमा गर्नु । भित्रपट्टि ब्वाँसोको रुप बोकेर ङिच्च पर्दै नक्कली दात देखाएर कति हिड्छौ शेरे ?

यिनीहरुको एकताको कुरा गरौं । 

अस्तिभर्खर एकता दिवस त्यस्तै के मनाएका थिए क्यारे । ठुलो व्यानर टाँसेर शुभकामना आदानप्रदान पनि गरेका थिए । तथाकथित अनेक छातासंगठनका अगुवाहरु एकअर्कालाई हेरेर मुर्छा पर्छन् । धेरैजसो एकअर्कासँग बोल्दैनन् । त्यहि पनि निस्केका छन् नेपाली इसाईहरुको प्रतिनिधित्व गर्न । आफ्नो आङमा भएको भैंसी छोडेर अरुको जूम्रा टिप्नु लागिपरेकाछन् ।

कतिवटा छातासंगठनका पधाधिकारिहरूले त छातासंगठनलाई डोनर खोज्ने भाँडो बनाउंदै आफ्नो बाटो लाग्दै गरेका थुप्रै प्रमाणहरू हामीसंग छन् । नुवाकोट घ्यांगफेदिका कतिपय मुर्खहरुले पैसाको लागि आफ्नो चेलिबेटी बेचे झैं यो नामधारिहरुले प्रभुलाई बेच्दैछन् । चर्च बेच्दैछन् । 

परमेश्वरको हत्केलामा भुटानीहरू पर्दा समेत लुट्न अमेरिका छिरे यिनीहरु,
गरिब र विकट समाजमा आशिष पर्दा पनि लुट्न निस्के यिनीहरु । 

श्रवन बोम्जन