मेरो जीवनमा परमेश्वरले दिनुभएको उद्दार – मुक्ति अनि शान्तिसँगैको अनन्त जीवनको बारेमा केहि आशिषसँगै ख्रीष्टमा कसरी बदलिएँ भन्ने मेरो छोटो जीवन गवाही यस इसाई साइट मार्फत तपाइहरुको सामु प्रस्तुत गर्दैछु ….
५ जनाको परिवार भित्रमा म सबै भन्दा सानो कान्छो छोरा हुँ| एउटा बगैंचाजस्तै मेरो सुन्दर परिवार थियो मेरो | २०५३ सालतिरको कुरा हो म एक कम्निष्टको छोरा भएको कारण राज्यको व्यवहार र एक आपसको यूद्धको बीचमा घरबिहिन भएर,सानो छँदै भूमिगत बस्तीभित्र बन्दुक बोक्नेको हुलमा आमा बुवाको हात समात्दै समयले बुनेको दुखदायी जीवनमा मेरो बाल्यकाल फस्न पुग्यो… अहिले मैले बुझेअनुसार नेपालमा सुरु भएको द्वन्दकालमा नै म घरवार बिहिन हुन पुगेको थिएँ | मेरो बुवा गाउँमा एक चलाख व्यक्ति र आर्थिक रुपमा पनि सम्पन्न हुनुहुन्थ्यो जसले गर्दा केही माओबादी आएर बुबालाई पार्टीमा लाग्न भने | र पार्टीमा लागेर राम्रै ओहोदा पनि पाउन सफल हुनुभएकोले मेरो घर त्यो समयमा माओबादीहरुको अखडा नै हुन पुग्यो | मेरो घरको आँगन जहिले पनि बन्दुक बोक्नेहरुको भीडले भरेको हुन्थ्यो | समय बित्दै जाँदा आर्मी र माओबादीबीच ठुलो झडप हुन पुग्यो| त्यो समयमा धेरै रुवावासी चलेको थियों | यति ठुलो झडप थियो कि सेनाको हेलिकप्टरसम्म मेरो गाउँमा आइपुग्यो ..यो म आफैलाई राम्रो सँग याद आउँछ ..असार महिना धान रोपाईंको बेलामा त्यो घटना घटेको थियो जसले गर्दा गाउँलेहरुले सुरक्षाकालागि हामी साना नानीहरुलाई धानखेतमा लुकाएका थिए |अनि हाम्रो घरमा सबै आगो लगाईदिए– र हाम्रो परिवारको सबै जनाको नाम कालोसुचीमा पनि टाँसियो जसकारण हामी सबैको नाम सम्म फेरियो र त्यहि फेरिएको नाम नै मेरो नाम भएको छ, नत्र म ” श्रवन बोम्जन नभएर ” सन्त बहादुर तामाङ् हो|
यसरी हामी भूमिगत भयौँ |घरवारबिहिन भएर जंगलमा बास बस्दै राता रात,भागी-भागी हिडेको समयमा एउटा सोच्दै नसोचेको घटना मेरो परिवारमा घट्यो – मेरो बुवाले मेरो आमा मुनि,सौता अर्थात् ‘कान्छी आमा’ ल्याउनु भयो | त्यही दिनदेखि हाम्रो फुलबारी जस्तो परिवारमा नराम्रो हुरी आएर ::::::::::बिस्मात फाटो ल्याई दियो |
कान्छी ल्याएपछि मेरो बुबालाई पार्टी भित्रबाट कारबाहीको दबाब आएको कारण हामीलाई छोडेर कान्छी आमाको साथमा फरार हुनुभयो | र हाम्रो बिचल्ली भो…मेरो एक दाइ र एक दिदी हुनुहुन्छ उनीहरु गाउँमै फर्केर पढ्न थाले | म सानै थिएँ, त्यसैले आमाको साथमा रहें |
केही दिनपछि बुवा काठमान्डौ हुनुहुन्छ र हामीलाई पनि बोलाउनु भएको छ भन्ने कुरा थाहा हुन आयो र बुवाको झुटो आश्वासन पनि पाइयो | बुवाले ‘मैले कान्छी छोडी सकें’ भनेर आमालाई फकाएर काठमान्डौ बोलाउनु भयो | आमा र म आयौं तर ……..बिचल्ली भयो हाम्रो काठमान्डौमा केहि घटनाहरु यहाँबाट उल्लेख गरेको छैन अब सिधै मेरो जीवनको बारेमा मात्र तलतिर …..}
मेरो लागि एकदमै नयाँ शहर ” काठामान्डौमा” प्रवेश गरें जुन बेला म ८ वर्षकोमात्र थिएँ | हातमा कपि र कलम हुनुपर्ने मेरो बाल्यबस्थामा राजधानीको चौबाटो हुँदै पत्रिका बेच्ने गर्थें, असल भविष्य र सुखको दिन देख्न पाउला भन्ने आशा पनि टुटेको थियो, सरकारी स्कुलमा कक्षा ३ पढेको ८ बर्षको म सानो बालक फुटपाथको गल्लीमा डुल्दै मौन सुस्केरामा शान्तले निदाउन पाउने बस्तीको खोजीमा संघर्षमय पाइलाहरुलाई – साँघुरो बाटोतिर बढाउँदै थिएँ |
यहाँनिर सबै उल्लेख गर्दै जाने हो भने मेरो विस्तृत वास्तविकतालाई पुरै रुपमा म प्रस्तुत गर्न सक्दिनँ तर छोटो भाकामा भन्दै छु ..यसरी ८ बर्ष देखि झन्डै १६ बर्षको उमेर सम्ममा मैले धेरै कर्मसंघर्षमा सहभागी हुने अवसर पाएँ , फुटपाथको सहारामा आफ्नो जिविका चलाउनेले त्यहाँ कस्ता किसिमका बोझ उठाउनुपर्ने हुन्छ भन्ने कुरा प्रायः हामी सबैलाई थाहा नै भएको कुरा हो | हो,मैले पनि त्येस्तै – ‘बसपार्कमा पानी बेच्ने, ‘ बदम बेच्ने’, ‘गाडीमा खलासी बस्ने”, ‘ज्यामी काम ” होटेलमा भाँडा माझ्ने”,’ऊन कारखानामा धागो बेर्ने आदि कामहरु गरें |यी भन्दा अरु धेरै कामहरु मैल मेरो बाल्यकालमा गरें | ती सब कुरालाई यहाँ समेट्न म असमर्थ छु |
मेरी आमाले मलाई साह्रै माया गर्नुहुन्थ्यो,उहाँको साथबिना म जिउन सक्दिन थिएँ, त्यसैले दु:खको असहनीय ताडनामा पनि म आमालाई छाड्दिन थिएँ | समयले जीवनमा धेरै दु:खका पलहरु जन्म दियो | काठमाण्डौजस्तो ठाउँ मेरी आमा र मेरो लागि बिल्कुलै अनौठो थियो, हामीसँग केही थिएन, यहाँ सम्म कि बस्ने र खाने कुराको समेत केही ठेगान थिएन |
मलाई अहिलेसम्म याद छ मेरी आमाले गाउँबाट एउटा कराही र केही पकाउने भाँडा ल्याउनु भएको थियो तर त्यसमा पकाउनको निम्ति हामीसँग केही थिएन |अन्जान ठाउँमा आफ्नो भन्ने कोही थिएन,साथ दिने र माया भएका सहयोगी कोही भेटाएनौं | मलाई झल्झली याद छ,आमा र म काठमाण्डौको गल्ली हुँदै आधा पेट खाएर वा कहिले भोकै रहेका थियौं |
काठमाण्डौ आएको केही दिन बितेपछि एऊटा माटोको घरमा कोठा भाडामा मिलेको थियो र हामी त्यहीँ बस्न लाग्यौं, साह्रै दु:खसित हाम्रो गुजारा चल्यो | दुःखका ती समयमा कति ईश्वरको दया खोजिन्थ्यो,कति भगवानको साथ खोजिन्थ्यो तर ती सब जंगलको रुवाई थियो आखिर पत्थर ले कहाँ सुन्ने रहेछ ?
त्यसैले म रित्तो थिएँ | न त पढ्न पाएँ,न त आर्थिक रुपमा नै सबल थिएँ | भन्थें इश्वरले मलाई लुटेको रहेछ,त्यसैले दु:ख र आँसु मेरो पोल्टोमा पर्यो… सबैको घर परिवार अनि सुन्दर भविष्य देखिन्थ्यो तर म चाहिं …फुटपाथमा मेरो आशा खोज्दै हिड्थेँ |
श्रवन बोम्जनको वास्तविकता यही हो जुन कुरालाई खोलेर संसारको सामू बताउन म कमजोर र लज्जित बन्दिनँ | हो,मलाई थाहा छ कतिजनाको निम्ति मेरो यो गवाही अविश्वसनीय होला तर यो एकदम सत्य हो र यथार्थमा भन्ने हो भने मैले यहाँ व्यक्त गरेको भन्दा दुई गुणा बढी दु;ख गरेरै आजको यो संसारमा आफुलाई उभीएको महसुस गर्न सकेको छु |एकदिनको कुरा हो म ज्यामी काम गर्ने क्रममा जहिले पनि त्यहाँका साहु-साहुनी र अन्य परिवार भेला भएर त्यस निर्माणाधीन कोठाभित्र भजन गाउँदै प्रार्थना गरेको सुनिन्थ्यो | मलाई जहिलै त्यो कोठामा भजन गाएको सुन्दा छेउमै गएर हेरौकि जस्तो मनमा हुन्थ्यो |एकदिनचाहिं काम छोडेर म भजनले गुन्जिरहेको कोठातिर गएँ,निर्माणाधीन घर भएको कारण त्यस कोठामा ढोका थिएन मैले चियाएर एक झलक हेरेँ, मलाई देख्ने बितिकै ‘भित्र आऊ’ भनेर एक जनाले बोलाउनु भयो, मैले ‘मेरो काम छ’ भनेर बहाना बनाएँ तर फेरी घरको साहुले नै ‘भित्र आऊ न बाबु’ भनेर बोलाउनुभयो | आप्ठ्यारो मान्दै म त्यहाँ बसें, “लौ सुन साथी, सत्यको वाणी, यो तिम्रै लागि हो…गरिब-धनी, सबैको लागि, जीवनको पानी हो…” यो भजन साह्रै मीठो सुरमा सबै जनाले गाउँदै थिए,मलाई पनि निकै रमाइलो लाग्यो किनकि त्यो भजनको शब्दले मेरो हृदयलाई छोयो | अनि उहाँहरुका अन्य क्रियाकला मलाई एकदम अनौठो लाग्थ्यो | यसरी नै एक दिन, दुई दिन, गर्दै उहाँहरुसित मेरो सम्बन्ध बढ्दै गयो |
एकजना दाजु{कमल गुरुङ}ले मलाई प्रभु-येशुमा भएको सत्यता जान्न र उहाँमा भएको प्रेमलाई देख्न सिकाउनु भयो | यसरी नै फुर्सदको दिनहरुमा म सधैजसो चर्च जान थालें | यसरी झन्डै ५ महिना जति म लगातार चर्च गएपछि “प्रभु साँच्चै मेरो उद्दारक हुनुहुँदोरहेछ भन्ने सत्यतालाई जान्न सकें र ई.स.२००४/ feb / १४ शनिबारको दिन मैले प्रभुलाई मेरो जीवनको मुक्तिदाताको रुपमा ग्रहण गरें | अनि मैले प्रभुलाई पाएपछि मेरो जीवनमा रहेको अँध्यारो हट्दै गयो जुन अँध्यारो प्रभुलाई नपाउँदा मेरो जीवनमा थियो|
बाल्यकालमा ‘दु;खहरु लगी सुख ल्याई देऊ’ भनेर पत्थरलाई आफ्ना ब्याथाहरु कति सुनाएँ तर पनि कुनै किसिमको सन्तोष मैले पाइनँ जसले गर्दा नसा(लागु पदार्थ)को स्वाद मीठो ठान्दथें | मेरो जीवनमा यदि केही थियो भने,नसाको गन्ध,असभ्य व्यवहार अश्लिल शब्दहरु खराब आचरणले भरिएको मेरो थिलथिलो शरीरमात्र थियो किनकि म हुर्केको फुटपाथमा प्रशस्त पाइने र सिक्न मिल्ने कुरा यही मात्र भेटिन्थ्यो | यही अँध्यारो जीवन हटाउँदै ख्रिष्ट-येशुमा अनन्त जीवनको उज्यालो धारण गर्न थालें |
यसरी नै परमेश्वरको अनुग्रहमा बढ्दै आउँदा आज मेरो जीवन अचम्म तरिकाले परिवर्तन भएको छ | अथाह पापको सागरमा डुबेको म पापीलाई प्रभुले आफ्नो करुणाले बचाउनुभयो | प्रभुले मलाई गर्नु भएको यो प्रेमको खातिर धन्यवाद सिवाय मकेही दिन सक्दिनँ किनकि अबको मेरो यो जीवन म-मा भएर मेरो होइन, तर प्रभुमा भएर प्रभुको नै हो |मेरो घरमा प्रभुलाई पाउने ममात्र थिएँ | मैले प्रभुलाई पाएको झन्डै २बर्षपछि,समय बित्दै जाँदा, मेरो आमा, दिदी, भाउज्यु र दूई साना भतिज पनि आज प्रभुको चरणमा आइसक्नु भएको छ | मेरो बुवा, दाज्यु,सानी ममी र एक जना भाइले पनि प्रभुलाई पाउन सकुन् भनेर प्रभुसँग सधै प्रार्थना गर्दैछु | खुशीको कुरा,अहिले मेरो घरमा प्रभुले एकदम शान्ति आनन्द दिनु भएको छ जुन पहिले थिएन | अचेल हामी बेला बेलामा सानी ममीको तिर जान्छौ | सबैभन्दा खुशीको कुरा,हामीमा अहिले कुनै फुट छैन,सबै एकअर्काको वास्ता गर्छन् | सानी आमा र मेरी आमाको राम्रो सम्बन्ध छ | कहिले उहाँहरु हामीकहाँ र कहिले हामी उता जाने गर्छौ सबै कुरा प्रेमले जितेको छ – यो प्रेम प्रभुबाट नै हामीले पाएका हौं | मैले मेरो बुवाप्रति निकै रिस र कपट बोकेको थिएँ | एक समय म मेरो बुवालाई धेरै घृणा गर्थे तर आज आएर म उहाँलाई धेरै आदर गर्छु | आखिर ऊहाँको कारण मैले दु;ख पाए पनि उहाँकै कारण प्रभुलाई भेटाउने मौका पाएँ,त्यसैले म आफुलाई जे भो राम्रै भो भन्छु | कसले पो जानी-बुझेर आफ्नो परिवारमा दु;ख संकट भित्राउँछ र ? मेरो बुवामा भएको पापको शक्तिले नै उहाँलाई चलाएको थियो, अहिले बुझ्दा पो थाहा पाएँ मान्छे त कोहि दोषी छैन तर उभित्र भएको पापलाई उसले जान्न नसक्दा त्यहि पापले मान्छेलाई दोषी र अन्धो बनाउँछ | आज मेरो ओइलाएको परिवार फेरी सुवास छर्दै बगैचाको रुपमा पुन; जोडिएको छ, प्रभुलाई धन्यवाद होस् | प्रभु धन्यवाद !
मैले आफुले ठान्ने खराब समयमा असल कुरालाई पाएँ किनकि प्रभु, जसले मलाई यहाँ सम्म ल्याउनुभयो उहाँले खराब कुराहरुबाट असल कुराको निर्माण गर्नुहुन्छ | प्रभुलाई पाएदेखि यता मेरो जीवनमा धेरै अशिषहरु आए जुन लेखेर सबै व्यक्त गर्न सकिदैन, अब म शान्तिमा छु र खुशी छु |
अब मैले प्रभुलाई पाएर धनी भएर,पैसा कमाएर,सन्तुष्टि मिलेकोले होइन, म त भौतिक रुपमा हिजो जस्तो थिएँ,आज पनि त्यस्तै छु | प्रशस्त रुपमा मसँग केहि छैन | आज पनि म अभाबमा जिउँछु तर पनि म आनन्दित छु,शान्तिमा छु | यो कस्तो प्रेम प्रभुले मलाई दिनुभयो ? यो कस्तो बदलाउ मेरो जीवनमा ? रितोमा पनि भरिएको अनुभब मलाइ दिनुहुन्छ |
मैले आफैले सम्झँदा मेरो जीवनको अँध्यारोलाई हटाउन सक्ने कुनै प्रकाश थिएन तर प्रभुले त्यही प्रकाश दिनुभयो… सबै अँध्यारो हटेर गयो |
मित्रहरु, आज यिनै येशुख्रीष्टले तपाइको जीवनमा पनि भएको अँध्यारो हटाउन चाहनुहुन्छ जसरी उहाँले मेरो जीवनबाट हटाउनुभयो | हेर्नुहोस् मित्र, आज प्रभुले तपाईलाई पनि हेरिरहनु भएको छ , पर्खीरहनु भएको छ , के तपाई उहाँकहाँ आउन चाहनुहुन्छ ? निर्णय तपाइको हो, समय आउँछ, पर्खदैन | ख्रिष्ट येशुलाई आफ्नो जीवनमा अपनाउनु कुनै धर्म परिवर्तन होइन मित्र, “धर्म भनेको त दया हो – जसलाई तपाइँ दया देखाउनु हुन्छ त्यहाँ धर्म हुन्छ तर ख्रीष्टलाई स्विकार्नु धर्म होइन, ख्रिष्ट त तपाइले गर्नुभएको विश्वासमा मुक्तिको बाटोमा डोर्याउने आधार हो | त्यो आधार जहाँ तपाइले जीवन पाउनुहुनेछ, त्यो आधार जसमा भएर हामी सत्य परमेश्वरको सन्तान कहलाइनेछौं |
प्रिय साथीहरु, जुन सुसमाचार मसँग थियो,त्यो मैले तपाईलाई सुनाइहालें | तपाइँ पनि आफैले आफैलाई यो सु-समाचारलाइ जान्ने मौका दिनुहोस् भन्ने मेरो अनुरोध छ | तर निर्णय त तपाइको नै हो | शायद तपाई कुनैपनि इश्वरलाई नपुज्ने अर्थात् आफुले गर्ने कर्ममा मात्र बिश्वास गर्ने एक नास्तिक हुनुहुन्छ होला ? जसरी एक समय म पनि थिएँ – यो त सत्यताभन्दा परको अन्धविश्वास हो | एउटा नास्तिकले मैले पाप गर्दैछु कि भनेर थाहा गर्न सक्छ भपापी छु ? भनी जान्न नसक्नु नै उसको लागि अन्धोपन हो |किनकि नास्तिकहरु आफ्नो गल्ती र पापको क्षमा आफै दिन्छन् तर त्यसमा पटक्क आत्मसन्तुष्टि हुँदैन | मित्रहरु, हामी परमेश्वर हुनुहुन्न भनेरचाहिं कसरी सोच्न सक्छौ ? जब कि तपाइँ आफ्नै चरित्रबाट परमेश्वर हुनुहुन्छ भन्ने कुरा अनुभब गर्न सक्नुहुन्छ | यसकारण तपाइँ जति नै नास्तिक किन नहुनुहोस् असहनीय कष्ट र मृत्युको दोसाँधमा तपाइको भित्री विवेकले परमेश्वरलाई नै खोजेको हुन्छ, पुकारेको हुन्छ, किन ? किनकि परमेश्वर वास्तविक हुनुहुन्छ र हामी पापी जगतमा छौं | तसर्थ हामी आफै एक पापी हौं जसलाई बचाउन येशु ख्रिष्ट यस संसारमा आउनुभयो | हाम्रो कर्मले, हामीले कमाएको पैसाले, थुपारेको प्रशस्त सम्पतिले,हाम्रो शरीरको मृत्युपछि कहिलै नष्ट नहुने आत्माको निम्ति कुनै सुरक्षित स्थान तयार पार्न सक्दैन | त्यसैले सोच्नुहोस्,तपाई मृत्युपछि कहाँ हुनुहुनेछ ? तपाई संसारमा हुनुको रहस्य के हो ?मार्क्सले पनि आफ्नो पुस्तक “दास क्यापिटल”मा भनेका छन् “ बिषेशगरि इसाईत्वो पापद्वारा नष्ट भएको चरित्रहरुलाई सुधार्नको निम्ति उत्कुष्ट धर्म हो” | प्रिय मित्रहरु, तपाइँ पनि पापद्वारा नाश भएको चरित्रलाई सुधार्नको निम्ति ख्रीष्टमा आउनुहोस् | तपाइले आफ्नो पाप पर्मेश्वरको अघि स्विकार गर्नुभयो भने मुक्तिको निश्चयता पनि पाउनुहुनेछ , जुन कुरा अन्त कहिँ पनि पाउन सक्नुहुन्न | आमेन !
श्रवन बोम्जन
