साँच्चै मलाई एउटा नयाँ देश चहिएको छ ।

आजकल यस्तो लाग्दैछ कि सदियौंदेखी धर्मको विभेद र जातपातकै नाममा जकडिएको यो समाजबाट भागेर एउटा नयाँ देशमा नयाँ जीवनको परिकल्पना गर्नु नै अहिलेको परिस्थितिमाथि बिजयी हुनु हो । अधिकारको शक्तिलाई, अधिकारप्राप्तिको गल्लीहरूमा घुम्न लगाएर प्रेम र भाइचाराको सम्बन्धमा तीर हान्ने मेरो समाज, धर्म र जातदेखि यो विवेकलाई शुद्ध राख्नु मलाई नयाँ देश चाहिएको छ । म एउटा नयाँ देशको खोजीमा छु । मलाई पनि एउटा नयाँ देश चाहियो जहाँ कोहि पहाडी नहोस् । जहाँ कोहि मधेसी नहोस् । क्षेत्री/बाहुन नहोस्, आदिवासी जनजाति नहोस् । त्यहाँ हिन्दू नहोस्; किरात, मुस्लिम, क्रिस्चियन नहोस् । त्यहाँ केवल नेपाली होस् । त्यहाँ मान्छेले मान्छेलाई मान्छेको दृष्टिकोणले हेर्ने आँखा होस् । समानता र एकरूपताको भाषा होस् । मलाई मेरो परमेश्वरले जातिय विभेद र दमन गर्नु पाप हो भनेर देखाईसक्नुभएको छ । आफ्नो छिमेकीलाई आफुलाई झैं प्रेम गर्न मलाई यो जीवन उपहार दिएर खटाइएको छ । तर म बाँचेको आजको समाजले प्रेम र मिलापमा विभाजन ल्याएको छ । ढुङ्गाबाट मासुमा रूपान्तरित हुँदै आएको मेरो हृदय कुनै पनि अफसोसविना यो कलह मच्चाउने गोलमेचमा सहभागी भएर रुष्ट, क्रुद्ध, निन्दनीय र अपमानित हुनुभन्दा अगाडी नै म भाग्न चहान्छु । यसकारण मलाई एउटा नयाँ देश चाहिएको छ ।
मैले त्यो देशको परिकल्पना गरिसकेको छु । यदि मेरो आशा र विश्वासले मलाई धोका दिएन भने मेरो कल्पना यथार्थमा परिणत हुनेछ । धर्म र जातकै आधारमा मलाई खिसी गर्नेहरू, एउटा नयाँ देशमा मेरो उचाई देखेर झुक्नेछन् । त्यस्तो देशमा मेरो उचाई बढ्नेछ, पहिचान प्राप्त हुनेछ, त्यहाँ कुनै जातभात वा धर्मबिशेषलाई स्थान हुनेछैन । त्यो एउटा प्रेमको देश कहालाइनेछ ।
यसकारण म एउटा नयाँ देशको खोजीमा छु ।
हो, साँच्चै मलाई एउटा नयाँ देश चहिएको छ ।
मेरो आस्तिक भावनाप्रति सहमत हुनेले सेयर गर्नुहोला ।

‪#‎shrawanbomjan‬
श्रवण बोम्जन